काठमाडौँ, २९ चैत : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले २०७४ चैत २९ गतेबाटै आफ्नो कार्यभार सम्हालेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि पदबाट अवकाश पाउनुभएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल २०४६ सालका ब्याची भएकाले खनाल २०७६ माघसम्म बहाल रहने छन्। सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले २०७८ चैतसम्म चार वर्ष पूरा कार्यकाल आइजीपी बन्ने अवसर पाएका छन्।



