काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारत भ्रमणका क्रममा राजनीतिक भेटघाटसंगै विभिन्न सम्झौताहरु पनि भए । यद्यपि, केही भेटघाट र सम्झौताहरु भने कारणबस अन्तिममा आएर स्थगित भए । अरुण तेस्रोको शिलान्यास दुई प्रधानमन्त्रीबाट हुने चर्चा शुरुदेखि नै गरिए पनि तयारी नपुगेको भन्दै अन्तिममा आएर रोकियो । अरुण तेस्रोको शिलान्यास रोकिंदा भारतीय पक्ष कति खिन्न भयो थाहा छैन, तर कडा क्रान्तिकारी कुरा गर्ने विप्लवदेखि वैद्य नेतृत्वसम्मका पार्टी भने हिस्स परेको खबर छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह महासचिव रहेको मसालसंगै ऋषि कट्टेल नेतृत्वको पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुरुदेखि नै अनावश्यक सन्धि र सम्झौता नगर्न खबरदारी गरेका थिए । यी चारवटै दलले विज्ञप्ति नै जारी गरेर राष्ट्रघाती सम्झौता नगर्न सुझाएका थिए ।
निरन्तर खबरदारीमा रहेका यी पार्टी अरुण तेस्रोमा भने प्रधानमन्त्री फस्ने निष्कर्षमा थियो । यही निष्कर्षका साथ यी चारवटै पार्टीले संयुक्तरुपमा त्यसको विरोध गर्ने तयारी गरेका थिए ।
स्रोतका अनुसार, अरुण तेस्रो राष्ट्रघाती भएको व्यहोराको फ्लेक्स बोर्ड नै तयारी अवस्थामा राखिएको थियो । केपी ओलीले अरुण तेस्रोमा मुन्टो हल्लाएलगत्तै आकर्षक लेखोट रत्नपार्कमा राखेर सरकारको कटाक्ष गर्ने ‘कामरेड’हरुको पूर्वनिर्धारित प्लान थियो । पार्टीका सबै निकायलाई त्यसका लागि तयार भएर बस्न सर्कुलर समेत गरिसकिएको थियो । नेकपा (क्रान्तिकारी माओवादी) का एक नेताले दिएको जानकारी अनुसार सबै नेताहरु विरोधका लागि तम्तयार अवस्थामा थिए ।
तर अन्तिममा नेपालले अरुण तेस्रोको शिलान्यास नगरेपछि चारै पार्टीका नेता तथा कार्यकर्ता हिस्स परेको चर्चा पेरिसडाँडातिर हुने गरेको छ । विरोधका लागि विरोध गर्न तम्सिएका कमरेडहरु हिस्स परेपछि पेरिसडाँडाका एक कामरेड भन्दै थिए–‘कसैलाई के को चिन्ता, ‘घरज्वाईं“लाई खानाकै चिन्ता’ भनेको यही होला ।’




