काठमाडौं । दैनिक पत्रिका आउने र बन्द हुने स्थिति आउँदा श्रमजीवी पत्रकारहरुको भविष्यमाथि गम्भीर प्रश्न उठ्छ । बजारमा मिडियाप्रतिको दृष्टिकोण पनि गलत बन्छ । भब्यरुपमा पत्रिका चलाउने भन्दै आकर्षक सुविधाको प्रलोभन दिएर विभिन्न मिडियाबाट छानीछानी पत्रकारहरुलाई ल्याउने अनि एकाध महिनामा पत्रिका बन्द गरेर मालिक वेपत्ता हुँदा पत्रकारको रोजीरोटी कसरी चल्छ होला ?
अहिले यस्तै प्रश्न उठेको छ, दुई महिना प्रकाशित भएर बन्द भएको एक दैनिकका कारण । चावहिलको केएल टावरमा कार्यालाय राखेर हल्लाखल्लासहित बजारमा आएको ‘जनता पोष्ट’ दैनिक दुई महिनाभन्दा बढी टिक्न सकेन । २०७४ माघ १ गतेबाट बजारमा आएको जनता पोष्ट दैनिक चैत २ गतेबाट बजारमा आउन छोडेको दुखेसो तलब नपाएका पीडित पत्रकारहरुको रहेको छ ।
प्रकाशनको सुरुमै आर्थिक संकटमा परेको दैनिकले पत्रकारलाई तलबसमेत दिन सकेको थिएन । पुस महिनाको बाहेक तलब नपाएको भन्दै केही पत्रकार र कर्मचारीले माघको अन्तिम साताबाट नै ‘जनता पोष्ट’लाई बाईबाई गर्दै छाडेर हिंडेका थिए । फागुनको दोस्रो साताबाट धेरै पत्रकारले छोडेका थिए । त्यसरी जागिर छोडेका पत्रकारले पनि तलव भने नपाएको बताइन्छ ।
पत्रिका बन्द गरेपछि पत्रकारलाई तलब दिएको छैन । पत्रिका अनिश्चितकालका लागि बन्द गरेको प्रकाशकले पत्रकारलाई जानकारी गराएका छन् । ‘जनता पोष्ट’को अनलाइन भने बेला मौकामा अपडेट गराइरहेका छन् । त्यही आधारमा पत्रिका फेरि सुरु हुन्छ भन्ने हल्ला गरिएको छ । लगानीकर्ताहरुबीचको विवादका कारण पत्रिका प्रकाशन बन्द भएको बताइन्छ ।



