• बिहीबार-बैशाख-१३-२०८१

‘चोरतन्त्र’को रामवाण ओखति के होला ? 

 

२०७८ पुस २६ गते  राति ९ बजे जवाहर सिंह, कपिलवस्तुका जिल्ला न्यायाधीशले ८ जनाको ज्यान मारेको सबै मुद्दाहरु हेरी बादशाह नामले कुख्यात नजिम खाँलगायत सबै प्रतिवादीहरुलाई सफाई दिएछन् । किन भने २०७८ माघ २ गतेदेखि गोलाप्रथा जिल्ला अदालतमा पनि लागू हुनेवाला थियो । त्यसपछि कुन न्यायाधीशको वेञ्चमा पर्छ यकिन हुँदैन थियो । 


स्पष्ट छ,  फैसला किनबेचको एडभान्स पेस्की जवाहर सिंहसँग बोलकबोल भइसकेको थियो । त्यसको पर्सिपल्टै उनी सुटकेसमा रु. ५० लाख डिक्कीमा राखेर सरकारी मोटरबाट काठमाडौं घर पुगेको चर्चा, समाचार कपिलवस्तु र  काठमाडौंमा प्रकाशित छन् । 


तर, जवाहर सिंह अहिले पनि न्यायाधीश पदमै सानले शोभायमान छन् । यो देशको (अ)न्यायतन्त्र यस्तै छ । यो देशमा इमान्दार प्रधान न्यायाधीशलाई भ्रष्ट राजनीतिक नेताहरुद्वारा महाभियोग लगाएको दृष्टान्त पाइन्छ । तर कुनै भ्रष्ट प्रधान न्यायाधीश वा न्यायाधीशमाथि लागेको आरोपमा छानविन गरेर महाभियोग लगाउने विषय आजसम्म भए÷गरिएको पाइँदैन । जवाहर सिंहजस्ता खुँखार र ना¨ोनाच गरी न्यायालयलाई हरामको धन कमाउने दुकान बनाउने कयौं अरु कुख्यातहरु पनि छन् । कपिलवस्तु जिल्लाका जवाहर सिंहदेखि सर्वाेच्चका चोलेन्द्र शमशेर राणासम्मको नाम चाहिं अखबारहरु नामै किटेर आइसकेको छ ।


डा.गोविन्द केसीले प्रमाणसाथ मुद्दा दर्ता पनि गराइसक्नु भएको छ । चोरतन्त्र (क्लेप्टोक्रेसी) केवल कार्यपालिका सरकार कर्मचारीतन्त्रमा मात्र होइन । यसले न्यायपालिकामा पनि भ्रष्टाचारलाई संरक्षण र प्रोत्साहन गरिरहेको छ भन्ने कुरा नेपालमा आज हामीहरु बडो स्पष्टतासाथ देखेर तितो अनुभव गर्दैछौं । 


मलेसियामा नजिब रजाक निर्वाचित प्रधानमत्री भयो । ऊ भन्दा अगाडि महाथिर मुहम्मदको २२ वर्ष लामो सुशासनले मलेसियाको आर्थिक समृद्धि हुँदै गयो र मलेसियाको गन्ती पनि आर्थिक बाघहरु (इकोनोमिक टाइगर्स) मा गनिन थालेको थियो । तर, कयौं वर्ष लगातार शासन गरेपछि बुढो भएर महाथिर मुहम्मदले अवकाश ग्रहण गरे । उनले २२ वर्ष लगातार निर्वाचन जित्दै गरेको सन् १९८१ देखि २००३ सुशासनपछि प्रधानमन्त्री भएको नजिब रजाकले भने चोरतन्त्र अर्थात् सत्तालाई भ्रष्टाचारमा सहभागी गराएर कालोधन कमाउने नीति लिने शासनमा परिणत गरे । प्रधानमन्त्री नजिब रजाकको सन् २००९ देखि २०१८ को ९ वर्षे कुशासन चलेपछि जनताले भ्रष्टाचार र अत्याचारका विरुद्ध आन्दोलन र जनप्रदर्शन गर्न थाले । जनताले २२ वर्षको आफ्नो शासनकालमा देशको ठूलो समृद्धि गराउने  शासन गरिरहेको महाथिरकै पार्टी युनाइटेड मलाया नेशनल अर्गनाइजेशन छाडेर महाथिरले अर्कै पार्टी गठन गरेर नजिब रजाकको चोरतन्त्रको अन्त गर्न अगाडि बढ्न भने । 


  सन् २०१६ मा मुहम्मद महाथिरले मलेसिया युनाइटेड इन्डिजेनस पार्टी खडा गरेर यसको अध्यक्ष भए । सन् २०१८ मा ९३ वर्षको उमेरमा मलेसियाका जनताले फेरि महाथिर मुहम्मदको नयाँ पार्टीलाई बहुमत प्रदान गरी प्रधानमन्त्री बनाए । उनले सैकडौं उच्च पदस्थ मन्त्रीहरु कर्मचारीहरुका साथै ५० जना न्यायाधीशहरुलाई समेत भ्रष्टाचार गरेको मुद्दा खडा गरी थुनें । २ वर्ष फेरि मलेसियाको प्रधानमन्त्री रहेर मार्च २०२० मा ९४ वर्षको उमेरमा मलेसियामा टाउको ठाडो पार्न खोजेको चोरतन्त्रको अन्त गरी फेरि सुशासनतर्फ देशलाई अगाडि बढाएर प्रधानमन्त्री पदबाट हटे । तर, उनी अहिले पनि सरकारको कटु आलोचकको भूमिका निर्वाह गर्दैछन् । 


 चोरतान्त्रिक प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार गरेको आरोप प्रमाणित भई अदालतबाट १२ वर्ष जेलमा कैदी जीवन बिताउँदैछन् । हामीहरु देख्दछौं एसियामै जहाँ सुशासनका पक्षधर नेताहरु सत्तारुढ भए त्यो देशमा अभूतपूर्व आर्थिक विकास र जनताको ठूलो समुन्नति भएको छ । सानो देश सिंगापुरका ली क्यान यू र उनी पछि सुशासक नेताहरुको कारण सिंगापुरको प्रति व्यक्ति आय अमेरिकाको भन्दा पनि बढी प्रति व्यक्ति सरदर ८६ हजार ४ सय ८० अमेरिकन डलर छ । दक्षिण कोरियाको ४३ हजार ४ सय ८० डलर छ । मलेसियाको २७ हजार ३ सय ७० डलर छ । 


  छिमेकी विशाल ठूलो देश चीनको पनि प्रतिव्यक्ति २७ हजार ५ सय ५० छ भने चोरतन्त्र चलेको हाम्रो देश नेपालको सन् २०२० मा ४ हजार ६० डलर छ । हामीहरु देख्दैछौं कि हाम्रो देशमा कार्यपालिका सरकार कर्मचारीतन्त्रका साथै न्यायपालिकामा जिल्ला अदालतका जवाहर सिंहजस्ता खुँखारदेखि सर्वाेच्च अदालतको नेतृत्वसमेत कुख्यात छ । 


  अरु छिमेकी देशहरुमा पनि ठूलो, सानो भ्रष्टाचारका घटना  त हुने गरेको छ । तर, ती देशहरुमा दण्डहीनता भने छैन । हाम्रो देश नेपालमा चाहिं आज भ्रष्टाचार बाहेक अरु कुनै कुराको पनि ग्राफ बढेको छैन । मेरो देश नेपालमा इमान अपमानित छ, बेइमानी सम्मानित छ । न्याय तिरस्कृत छ, अपराध पुरस्कृत छ । सजिलै मूर्ति तस्कर मन्त्री पद किन्न सफल छन् । ठगहरु, बिचौलियाहरु र अपराधीहरु  सजिलै सांसद पद किन्छन् । त्यति मात्र होइन विदेशी गुप्तचर एजेन्सीहरुले आफ्नो देशको हितका लागि नेपालका शीर्ष नेताहरु किन्छन् । नेपालका राजनीतिक दलका सभापति र अध्यक्षसमेत बोलकबोलमा बसेको देखिन्छन् । 
 

प्रतिकृया दिनुहोस