काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको बारेमा पार्टीलाई जानकारी गराएको खुलेको छ ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र लेखेको जानकारी अनौपचारिक रूपमा अध्यक्ष प्रचण्डले पार्टी बैठकमा गराएका जनाएका छन् । ‘एमसीसीलाई लिएर अमेरिकालाई पत्र लेखेको जानकारी अध्यक्ष प्रचण्डले पार्टीमा गराउनु भएको थियो,’ गजुरेलले न्युज कारखानासँग भने, ‘तर, पार्टी बैठकमा औपचारिक छलफलको विषय नबने पनि अनौपचारिक जानकारी चाहिँ पत्र पठाएपछि गराउनु भएको थियो ।’
उनका अनुसार अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा पत्र लेखेको विषय माओवादीका सबै शीर्ष नेताहरू भने जानकार थिए ।




