काठमाडौं । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले कम्प्युटर खरिदमा ठूलो अनियमितता गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले देशभरका जिल्ला र उच्च अदालतका सरकारी वकिल कार्यालयका लागि ४ करोड रुपैया“ बराबरका कम्प्युटर खरिदका लागि २०७४ असारमा टेण्डर गरेको थियो । कम्प्युटर खरिदका लागि गरिएको टेण्डर खोल्दा महान्यायाधिवक्ता श्रेष्ठले चाहेको कम्पनीलाई नपरेपछि एकाएक रद्द गरिएको छ । महान्यायाधिवक्ता श्रेष्ठले सेटिङ गरेको कम्पनीभन्दा अर्कै कम्पनीले कम मूल्यमा टेण्डर प्रस्ताव गरेकाले टेण्डर नै रद्द गरिएको छ । आर्थिक बर्षको अन्तिममा कम्प्युटर खरिदबाट १ करोड रुपैया“ कमिसन खाने दाउमा रहेका महान्यायाधिवक्ता श्रेष्ठले आफूले चाहेको रेन्वो टेक्नोलोजी कम्पनीलाई टेण्डर नपरेपछि रद्द गरेर सबै सरकारी वकिल कार्यालयमा दामासाहीले बजेट निकासा गरेका छन् । सोझै सरकारी वकिल कार्यालयबाट विनाटेण्डर कम्प्युटर खरिदका लागि महान्यायाधिवक्ताले बजेट निकासा गरेको खुलासा भएको छ ।
महान्यायाधिवक्ता श्रेष्ठले बजेट निकासासंगै उनले भनेकै कम्पनी रेन्वो टेक्नोलोजी कम्पनीबाट खरिद गर्न निर्देशन दिए । महान्यायाधिवक्ता श्रेष्ठको सचिवालयबाट सबै सरकारी वकिल कार्यालयलाई अख्तियारीसंगै रेन्वोबाटै कम्प्युटर खरिद गर्न आदेश दिइएको थियो । त्यो निर्देशन बमोजिम प्रायः सबै सरकारी वकिल कार्यालयले रेन्वोबाटै कम्प्युटर खरिद गरेका छन् । टेण्डर रद्द गरी जिल्ला जिल्लामा कम्प्युटर सप्लाई गर्ने ठेक्का पाएको रेन्वोबाट महान्यायाधिवक्ताले २५ प्रतिशतका दरले कमिसन लिएको आरोप छ ।
माओवादी केन्द्रका पुष्पकमल दाहाल सरकारले नियुक्ति गरेका महान्यायाधिवक्ता श्रेष्ठलाई कांग्रेसबाट प्रधानमन्त्री भएका शेरबहादुर देउवाले समेत हटाएका छैनन् । दाहाल र देउवा दुवैलाई बसमा पार्नसक्ने खुबी भएका रमणकुमारको आदेश शिरोपर गर्दै रेन्बोबाटै कम्प्युटर खरिद गर्नुपरेको बाध्यता एक सरकारी वकिलले सुनाए । माओवादीले राखे पनि देउवाका समेत प्रिय भएका श्रेष्ठले भनेअनुसार नगरे दुःख दिनसक्ने भएकाले पनि सरकारी वकिल कार्यालयले उनको सेटिङ भएकै कम्पनीबाट कम्प्युटर खरिद गरेको बताउने गरेका छन् ।
त्यसो त यसअघि महान्यायाधिवक्ता कार्यालयले गाडी खरिदमा पनि कमिसन खाएको आरोप छ । सरकारी वकिल कार्यालयका लागि आवश्यक गाडी खरिदमा उनले २ वटा गाडी उपहार लिएको चर्चा महान्यायाधिवक्ता कार्यालयमा हुने गरेको छ । गाडी खरिदको ठेक्का रमणकुमारले आफ्नै सालो पर्नेको कम्पनीलाई दिएको आरोप छ ।



