काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ पुस २४ गते बिहान बालकोटस्थित निवासमै पुगेर प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी ओलीसँग भेटवार्ता गरेर एमालेको तर्फबाट संसद बैठकमा सुचारु गर्न र मिलेनियम च्यालेञ्ज कर्पाेरेशन प्रस्तावलाई समर्थन गर्न आग्रह गरेका छन् । सत्तारुढ पाँच दलको गठबन्धनले दिएको सुझावअनुसार संसदमा उत्पन्न भइराखेको गतिरोध समाप्त गर्न संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीसमक्ष पुगेर आग्रह गर्नुलाई सामान्य मानिएपनि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलका नेतासँग एमसीसीलाई अनुमोदन गर्न समर्थन माग्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
२०७६ साल असार २९ गते केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै एमसीसीलाई संसदबाट अनुमोदन गर्न भनेर संसद सचिवालयमा यस सम्बन्धी प्रस्ताव दर्ता गरेको थियो । तर, तत्कालीन सभामुख कृष्णबहादुर महराको असहयोगको कारण एमसीसी सम्बन्धी प्रस्ताव संसदमा अगाडि बढ्न सकेको थिएन । अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेसँगै एमसीसी प्रस्तावलाई संसदबाट अनुमोदन गरेर कार्यान्वयनको चरणमा लैजान प्राथमिकताका साथ गृहकार्य गरिराखेका छन् । तर, सरकारका दुई घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले संसदमा दर्ता भएर अनुमोदनको प्रतिक्षामा रहेको एमसीसी प्रस्तावमा उल्लेख भएका कतिपय बुँदा राष्ट्रघाती भएको भन्दै आएका छन् ।
सहमतिबाट राष्ट्रघाती बुँदा संशोधन गरेर मात्र संसदमा अगाडि बढाउनुपर्ने अडान राखेपछि यो विवादको गाँठो फुकाउन भनेर नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको नेतृत्वमा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेको तीन सदस्यीय कार्यदल गठन भएको छ ।
दुई साता अगाडि गठन भएको यो कार्यदलले सुझाव दिनु अगाडि नै प्रधानमन्त्री शेरबहादुर देउवाले निवासमा नै पुगेर प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीसँग एमसीसीलाई समर्थन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले गरेको यो आग्रहका सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिचमा रहेर जवाफ दिँदै सरकारको तर्फबाट औपचारिक रुपमा प्रस्ताव आएपछि मात्र यस सम्बन्धमा निर्णय गर्ने मत आफ्नो तर्फबाट व्यक्त गरेको स्रोत बताउछ ।
संसदलाई सुचारु गर्ने सम्बन्धमा भने प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीले या त अग्नि सापकोटाले सभामुखबाट राजीनामा गर्नुपर्ने या त नेकपा एमालेले गरेको निर्णयअनुसार माधव नेपाललगायतका १४ जना सांसदलाई निष्काशन गर्नुपर्ने पुरानो अडान दोहो¥याएका छन् । तथापि १ घण्टा लामो यो भेटवार्तालाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले सकारात्मक भन्ने टिप्पणी गरेका छन् ।
अमेरिकी पक्षले राखेको सर्तअनुसार एमसीसी परियोजनालाई संसदको सामान्य बहुमतबाट अनुमोदन गरेर कार्यान्वयनको चरणमा लैजानुपर्ने हुन्छ । यसका लागि सत्तारुढ गठबन्धनका पाँचवटा दलको संसदमा स्पष्ट बहुमत रहेको छ । तथापि सरकारमा रहेका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी प्रस्तावमा रहेका केही बुँदा संशोधन गरेर सहमतिको आधारमा अगाडि बढाउनुपर्छ भन्ने मत राख्दै यसका लागि झलनाथ खनालको नेतृत्वमा गठन भएको तीन सदस्यीय कार्यदलले सुझाव दिनु अगाडि नै प्रधानमन्त्री देउवा एमसीसी प्रस्तावमा प्रमुख प्रतिपक्षको समर्थन खोज्दै २०७८ पुस २४ गते शनिबार बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी ओली निवासमा पुग्नुलाई राजनीतिक क्षेत्रले अर्थपूर्णरुपमा लिएको छ ।
प्रधानमन्त्री देउवाले सरकारमा रहेका दुई कम्युनिष्ट घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन नगरेपनि प्रमुख प्रतिपक्ष नेकपा एमालेको समर्थनबाट यो प्रस्तावलाई संसदबाट अनुमोदन गरेर अगाडि बढाउने सन्देश यो भेटघाटले दिएको स्पष्ट देखिन्छ भन्ने विश्लेषण राजनीतिक क्षेत्रमा भएको छ । एमसीसी प्रस्तावलाई संसदबाट अनुमोदन गर्न सरकारको नेतृत्व गरिराखेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले एक ठाउँमा आउँदा त्यसको राजनीतिक असर दूरगामी हुने विश्लेषणसमेत हुन थालेको छ ।
आफ्नो सर्तमा कायम रहने र आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न यो गठबन्धन आगामी आमनिर्वाचनसम्म नै कायम हुनुपर्छ भन्ने अडान माओवादी केन्द्रका अध्यक्ष्ँ दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राखिरहेको अवस्थामा एमसीसी अनुमोदन गर्ने मामिलामा माओवादी केन्द्र र नेकपा समाजवादीलाई किनारा लगाएर अगाडि बढ्नसक्ने संकेत प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग भेटघाट गरेर दिन थालेपछि त्यसको असर सत्तारुढ गठबन्धन भित्र पनि चर्काे रुपमा पर्न थालेको छ ।
१४औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा दोस्रो चरणमा गएर पराजित भएका शेखर कोइरालालगायत नेपाली कांग्रेसका निर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले अब हुने सबै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै मैदानमा उत्रिन्छ र रुख चिन्हमा मात्र मत हाल्छ भन्ने विचार व्यक्त गरिरहँदा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीका सम्बन्धमा नेकपा एमालेलाई सहकार्य गर्न राखेको प्रस्तावलाई अर्थपूर्ण मानिएको छ ।
अहिले कोरोना संक्रमणका कारण प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत क्वारेन्टाइनमा बसेको अवस्थामा यो प्रकरणमा थप छलफल हुन सकेको छैन भने प्रधानमन्त्री देउवाले पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष ओलीसँग भएको भेटवार्तासम्बन्धी बर्चा पनि गरेका छैनन् ।
तथापि प्रधानमन्त्री देउवाले एमसीसी प्रस्तावलाई अगाडि बढाउन आफू सत्तारुढ गठबन्धनका दलहरुको मात्र भर नपरेर प्रमुख प्रतिपक्षको बारेमा नेकपा एमालेको समेत सहयोग लिनसक्ने संकेत एमाले अध्यक्ष ओलीसँग गरेको भेटवार्तामार्फत दिएका छन् ।




