काठमाडौँ, फागुन ३० \\ नेपालमा सञ्चालनमा रहेका ५५ ग्याँस उद्योगमध्ये ४८ ग्याँस उद्योगले अहिलेसम्म ग्यास बोटलिङको न्युनतम मापदण्ड समेत् पूरा गरेका छैनन्।
नेपाल गुणस्तर तथा नापतौल विभागले ग्याँस उद्योगहरुलाई अनिवार्य रुपमा न्युनतम मापदण्ड पुरा गर्न बारम्बार आग्रह गरेपनि ग्याँस उद्योग कम्पनीहरुले अटेर गरेका छन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा न्युनतम मापदण्ड पूरा नगर्ने ग्याँस उद्योगमाथि कारबाही चलाउन खोजेको थियो, तर, राजनीतिक हस्तक्षेपको कारणले कार्यवाहीप्रकृया अघि बढाउन नदिएको बुझिएको छ।
नेपालमा रहेका ५५ ग्याँस उद्योगमध्ये हालसम्म मनोज ग्यास उद्योग, वीरगञ्ज, श्रीकृष्ण ग्याँस उद्योग, धादिङ, साइबाबा ग्याँस उद्योग, धादिङ, नेपाल ग्याँस उद्योग, बालाजु, जानकी ग्याँस उद्योग, नवलपरासी, मेट्रो ग्याँस उद्योग, धादिङ र एनएल ग्याँस उद्योग, वीरगञ्जले मात्र न्युनतम मापदण्ड पूरा गरेका छन्।
न्युनतम मापदण्ड पूरा नगरी सञ्चालन भएका ग्याँस उद्योगका कारणले नेपाली उपभोक्ताहरु उच्च जोखिममा छन्।



