काठमाडौं । नेपालीमा एउटा प्रचलित आहान छ–दूधको साक्षी बिरालो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले यही आहान चरितार्थ हुने गरी ४ डिनको नियुक्ति गरेको खबर छ । एक वर्षदेखि रिक्त डिन हचुवाको भरमा नियुक्त गरिएपछि चौतर्फी विरोध सुरु भएको छ ।
परिषद्ले व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, शिक्षा संकाय र इन्जिनियरिङ संकायमा डिन नियुक्ति गरेको हो । व्यवस्थापनमा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक पद्यकान्त जोशी, विज्ञान संकायमा सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगरका प्राध्यापक डा. पूर्णबहादुर चन्द, शिक्षा संकायमा गोविन्द विष्ट र इन्जिनियरिङ संकायमा किशनदेव भट्टलाई नियुक्त गरेको हो । विश्वविद्यालयमा १ वर्षदेखि ४ डिन रिक्त थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले नियुक्त गरेको ४ डिनमध्ये २ डिनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विरोधी अभिव्यक्ति दिंदै आइरहेका थिए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विरोधी चन्दलाई विज्ञान तथा प्रविधि र जोशीलाई व्यवस्थापन डिन बनाइको छ । विश्वविद्यालय विरोधीलाई नै डिन बनाइएपछि असन्तोष बढेको छ ।
डिनमा भागबन्डा
गत साउन महिनादेखि रिक्त रहेका डिनमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अवधारणाकै विरोध गर्दै आइरहेका व्यक्तिलाई नियुक्त गरेर जग ह“साइ गरेको परिषद्ले यसमा राजनीति हाबी गराएर शिक्षा क्षेत्रलाई थप धुमिल पारेको छ । नियुक्त भएका ४ डिनमध्ये २ नेपाली कांग्रेस र २ नेकपा एमाले समर्थित हुन् । विष्ट र भट्ट कांग्रेसका बफादार सिपाही हुन् भने चन्द र जोशी एमालेका मान्छे हुन् ।
प्राध्यापक–विद्यार्थी रुष्ट
परिषद्ले दूधको साक्षी बिरालो भन्ने आहान चरितार्थ गर्दै ४ डिन नियुक्त गरेपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा विद्यार्थी संगठनहरूले असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अहित चाहनेहरूलाई नै डिन नियुक्त गरिएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी समेत दिएपछि डिन नियुक्ति विवादस्पद बनेको छ ।



