कञ्चनपुर, फागुन १९ \\ कञ्चनपुरको बेदकोट नगरपालिका – ९ मा रहेको सुन्दरपुर गाउँलाइ त्यहाँका नवयुवाहरुले मानवबस्तिलायक बनाएका छन्।
गाउँको चौतारा, पुल, विद्यालयको परिसरमै दुर्ब्यसनमा संलग्न युवाको जमात राति अबेरसम्म बस्दा बाटो हिंड्नेले सास्ती खेप्नुपर्ने अवस्था थियो। समितिका संयोजक जनकबहादुर विष्टले भने, “असुरक्षाका कारण धैरेले गाउँको बाटो रातिका बेला हिंड्नै छाडेका थिए ।”
बाटो हिंड्ने युवतीलाई अभिभावककै अघि जिस्क्याउने, निहुँ खोजेर झगडा गर्नु त दुर्ब्यसनमा फसेका युवाको दैनिकीनै बनेको थियो ।
केही महिना अघिदेखि नवयुवाकै पहलमा लागुऔषध दुर्ब्यसन नियन्त्रण तथा अनुगमन समिति गठन गरेर अभियान सञ्चालन गरेपछि गाउँ नशामुक्त भएको हो ।
बारम्बार झै झगडा गर्नु र पसलमा चोरी हुनुले स्थानीय बासिन्दाले निकै सास्ती खेप्नुपरेको थियो स्थानीयवासी भोजराज पन्तले भने, “दुर्ब्यसनमा फसेका युवालाई सत्मार्गमा डोर्याउनका लागि निकै चुनौती थिए । जनप्रतिनिधिकै उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरी सुधार गर्ने निधो गरियो । सुधारका लागि निर्णय गरिए । निर्णय पालनाका लागि सबैका लागि कार्यसूची तयार गरी जिम्मेवारी दिएर कार्यान्वयनमा ल्याइएपछि गाउँलाई नशामुक्त बनाउन सकियो” उनले भने ।
लागुऔषधको कुलतमा फसेका युवालाई सचेत गराउन विद्यालयमै प्रार्थनाअघि पाँच मिनेट लागुऔषधले पुर्याउने हानीबारे जानकारी गराउने, गाउँका पसलमा गाँजा, चरेसलगायतका लागुऔषध बिक्री भए नभएकोबारे चियो चर्चो गर्न प्रहरीले निगरानी राख्ने र लागुऔषध पसलमा बिक्री भए नभएको बारे गोप्य सूचना दिनेलाई पुरस्कृत गर्ने कार्य गरिएपछि गाउँका बिग्रेका युवालाई सुधार गर्न सहज भयो ।
जुनसुकै बेला पनि गाउँमा मदिरा बिक्री गरिँदासमेत समस्या थियो जनचेतना महिला समाज सुधार संस्थाका अध्यक्ष देवकी जोशीले भनिन्, “मदिरा बिक्रीको इजाजत लिएका पसल सञ्चालकलाई मदिरा बिक्री गर्न बेलुकी ५ बजेदेखि साँझ ८ बजेसम्म समय निर्धारण गरिएपछि गाउँमा विगतको जस्तो झै–झगडा र अशान्ति छैन ।”
अहिले बाटोमा हिँडने युवतीलाई युवाहरुले जिस्क्याउँदैनन् । चोरीका घटनामा समेत निकै कमी आएको छ, झै–झगडा हुँदैन । मनमुटाव भए गाउँकै अगुवाहरुले बसेर छलफल गरी निष्कर्षमा पुर्याइ मेलमिलाप गराउने हुँदा गाउँलेले नयाँ परिवर्तन अनुभव गरेको लोकराज बोहराले बताए ।




