विश्व समाजमा अनेक प्रचलन र अचम्मकै कुरा देख्न र सुन्न पाइन्छ । यस्तै विचित्रको प्रचलन दक्षिण कोरियामा रहेको छ । वैवाहिक समारोहमा धेरैभन्दा धेरै मानिसहरूलाई बोलाएर समाजमा आफ्नो हैसियत देखाउने गर्दछन् । वैवाहिक समारोहमा भाडामा भएपनि मानिसहरू बोलाएर हैसियत प्रदर्शन गरिन्छ । यसरी मानिसहरू जुटाउनका लागि एजेन्सीको मद्दत लिइन्छ । दक्षिण कोरियामा यस्ता एजेन्सीहरू पनि छन् जसले शुल्क÷नगद लिएर मानिसहरू उपलब्ध गराउने गर्दछन् ।
विवाहका लागि भाडामा जाने पाहुनाहरूलाई विशेष किसिमको तालिम पनि दिइएको हुन्छ । दक्षिण कोरियामा भाडामा पाहुनाहरू उपलब्ध गराउनका लागि हेगेक फ्रेन्ड्स नामको एक चर्चित एजेन्सी पनि रहेको छ । समाचार एजेन्सीहरूका अनुसार, कोरोना संकटका कारण वैवाहिक समारोहमा पाहुनाहरू धेरै उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियामा विवाहमा २० देखि २५ जना नक्कली पाहुनाहरू जम्मा हुने गर्दछन् । समाचार अनुसार, एक पाहुनाका लागि २० डलर भाडा दिने गरिन्छ ।



