नेपाल एकीकरणकी नायिका राजेन्द्रलक्ष्मीको ऐतिहासिक देन त्यस बखत रहेको गोर्खा राज्यको अस्थिरता, चौबिसे राज्यहरूको शक्ति, राजदरबार तथा राजसत्तामा आइपरेको अन्यौललाई रानी राजेन्द्रलक्ष्मीले सम्हालेर राजा पृथ्वीनारायण शाहले समेत एकै पटकमा एकीकरण गर्न आँट गर्न नसकेको तनहुँँ, कास्की, लम्जुङजस्ता शक्तिशाली राज्यलाई नेपालभित्र गाभ्नु साँच्चै नै बहादुरीको उदाहरण देखिन्छ । कुनै बेला गोर्खाभन्दा ती राज्यहरू निकै नै शक्तिशाली भएर रहेका थिए । रानी राजेन्द्रलक्ष्मीले सेना तथा सेनापतिहरूको मनोबल बढाइ चौबीसे राज्यहरूको योजनालाई विफल पारिन् । उनको पहलता, सहास तथा नेतृत्वलाई इतिहासले सम्मान गर्नेछ ।
रानी राजेन्द्रलक्ष्मी, त्यस वखतको अति शक्तिशाली राज्य पाल्पाको राजा मुकुन्द सेन (द्वितीय) कि छोरी थिइन् । बाल्यावस्थामा नै उनको विवाह श्री ५ पृथ्वीनारायण शाहको ज्येष्ठ पुत्र युवराज प्रतापसिंह शाहसँग भएको थियो । उनी गोर्खा दरबारमा भित्रिएदेखि नै सधैँँ एकीकरण, हातहतियार, सिपाही, तालिम, दुश्मनसित लडाइको छलफल, योजना तथा कमी–कमजोरीहरूको विषयमा प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट सुनिरहन्थिन् ।
दरबारीया कुराकानी पनि एकीकरणकै विषयमा भइरहन्थ्यो । यसर्थ सानै उमेरदेखि नै रानी राजेन्द्रलक्ष्मीले लडाइँ र सिपाहीहरूको विषयमा रूचि लिएर ध्यानपूर्वक सुन्थिन् । जसबाट उनमा आत्मविश्वास, साहस तथा पुरूषार्थको भावना बढ्दै गयो । उनी आफै घोडा चढ्ने र तरवार युद्ध खेल्ने रानी थिईन र आफ्ना अंग रक्षकहरु पनि घोडा चढ्न र तरवार चलाउन जान्ने महिलाहरु थिए ।
दुर्भाग्यवश लगभग ३ वर्ष पनि राज्य गर्न नपाइ विफरको व्यथाबाट प्रतापसिंह शाहको स्वर्गारोहण भयो । करिब अढाइ वर्षको छोरा युवराज रणबहादुर शाह नेपालको राजा भए र नायबीका रूपमा राजमाता राजेन्द्रलक्ष्मी रहिन् । सर्वजित रानामगरलाई प्रधानसेनापतिको नियुक्तिमा काजी बनाइन् । नायबीको सुरूमा राजेन्द्रलक्ष्मीले वेतियामा निर्वासित देवर राजकुमार बहादुर शाहलाई नेपाल झिकाइ भाउजु र देवर भएर संयुक्त रूपमा नावालक राजा रणबहादुरको नायबी भै राजकाज सम्हाले ।
कामको बाँडफाँडमा राजदरबार तथा निजामती सेवासम्बन्धी काम राजेन्द्रलक्ष्मीले र युद्ध तथा परराष्ट्रसम्बन्धी काम बहादुर शाहले पाए । करिब ५ महिनापछि यो संयुक्त नायबी टुट्यो र देवर भाउजुको बिच सम्बन्ध विग्रियो । राजेन्द्रलक्ष्मीलाई प्रधानसेनापति (काजी) सर्वजित रानामगरसँग यौन सर्म्पक गरेको अभियोगमा बहादुर शाहले चाँदीको नेल ठोकेर भाउजुलाई नजरबन्द गराए । तर पछि यो अभियोग प्रमाणित भएन ।
बहादुर शाह युद्ध भूमिमै रहेको बेला राजेन्द्र लक्ष्मीलाई राजपरिवारका अन्य सदस्यहरूले निर्दाेष सावित गरी कैद मुक्त गराए । त्यो खबर सुनेर बहादुर शाह तनहुँँको युद्ध मैदानबाट पुनः वेतिया भागे । त्यसपश्चात् बहादुर शाह तथा उनका समर्थक सबै भाइभारदारलाई पदच्यूत गरी राजेन्द्रलक्ष्मीले एकल नायबी चलाउन थालिन् ।
राजा प्रतापसिंहको विलासीपनले गर्दा त्यस वखत रानी राजेन्द्रलक्ष्मीलाई ठूलो समस्याहरूले घेरेको थियो । आन्तरिक वैमनस्यता, दरबारीया तथा भारदारहरू बिच भएको गुटबन्दी साथै बाह्य शक्तिको बाधाहरू सामना गर्नु नै उनको अग्निपरीक्षा थियो । किनकि बहादुर शाह र राजेन्द्रलक्ष्मीको संयुक्त नायबी रहुन्जेल चौबीसे राजाहरूले टाउको उठाएका थिएनन् । तर पछि राजेन्द्रलक्ष्मीको मात्र नायबी रहेकोले ती चौबिसे राजाहरू मिली नेपाललाई नष्ट गर्ने योजनामा लागे ।
त्यसैगरी पाल्पाली राजा मुकुन्द सेन द्वितीय, लम्जुङका राजा वीरमर्दन शाह, पर्वतका राजा कीर्तिबम मल्ल, कास्कीका राजा तथा तनहुँँका राजा हरकुमारदत्त सेन एक भइ नेपाल विरूद्ध संयुक्त सैनिक कारवाहीमा अघि बढ्ने मिलेमतोमा थिए ।
यस संयुक्त सैनिक शक्तिको सेनापति गरूडध्वज पन्तलाई बनाएका थिए । नेपाल विरूद्ध चौबीसे राजाहरूले बाइसे राजाहरूको पनि सहयोग लिइ अझै शक्तिशाली बन्दै थिए भने पूर्वतर्फबाट नेपाललाई आक्रमण गर्न सिक्किमे राजासँग पनि सैन्य सहयोग माग गरिएको थियो । सिक्किमे फौज नेपाल विरूद्ध खनिने सम्भावना थियो ।
किरात प्रदेशको भूतपूर्व राजा कर्ण सेनकी विधवा रानीले पनि यही वखतमा आफ्नो गुमेको राज्य फिर्ता गर्न पाल्पाका राजा तथा कलकत्तास्थित अङ्ग्रेज कम्पनीको कार्यालयमा सैन्य सहयोग मागिन् ।
त्यसैगरी भुटानका राजासँग पनि सैन्य बल पाउने योजना बनाउँदै थिइन् । उता दरबारभित्र राजा प्रतापसिंह शाहको भित्रिनी रानी नेवार कन्या मैंजु रानी (विदुर शाही र शेरबहादुर शाहीकी आमा) को गुटले राजमाता राजेन्द्रलक्ष्मीलाई अति प्रतिकूल स्थिति पैदा गरिनै रहेको थियो ।
ससुरा पृथ्वीनारायण शाहले एकीकरण गरी लगाएको नयाँ नेपालको जग सुक्न नपाउँदै पुनः नेपाल विलिन हुने प्रवल सम्भावना आयो । वास्तवमा त्यस बेलाको आन्तरिक स्थिति कुनै पनि पुरूष राजाको लागि पनि त्यत्तिकै कठिन थियो, जुन प्रतिकुलतासँग लड्न राजेन्द्रलक्ष्मी अलिकति पनि हड्बडाइनन् । सबैभन्दा पहिला सेना नायकहरूलाई बोलाई सेनाप्रति पूर्ण विश्वास र भरोसा राखी ससुरा पृथ्वीनारायणले झैँ योग्य सेनापतिहरूको छनौट गरिन् ।
राजा प्रतापसिंह शाह नेवार रानीको तन्त्रमन्त्रमा लागि विलासी भएकाले उनले सेनाको महत्व बिर्सिएका थिए । तर राजेन्द्रलक्ष्मीले सेनाको महिमा बुझेकीले पुनः सैन्यकरण गरिन् । उनीले अरू भाइभारदारको सल्लाह पनि लिइन् । त्यस वखतसम्ममा चौबिसे राज्यहरूले नेपाललाई ठाउँ–ठाउँबाट हमला गर्न घेरा हालिसकेका थिए । बहादुर शाह भाउजुको डरले विदेशिएको र राजेन्द्र लक्ष्मीलाई हेपेर बैरीहरूले नेपाल अधिराज्य माथि हमला गर्ने योजना गरेका थिए ।
तत्कालीन दुषित राजनैतिक परिस्थितिबाट कति पनि बिचलित नभै राजमाता राजेन्द्रलक्ष्मीले आफ्नो नायबीकालमा विभिन्न प्रकारका कदमहरू चाली नेपाली सेनालाई परिचालन गरेकी थिइन् । चौबिसे राजाहरूको अभियानलाई विफल पार्न नेपाली सेनाभित्र सुदृढीकरण गरी चौबिसे सेनाको सयुक्त फौजलाई ढाल्ने कार्यका लागि सर्वजित रानामगर काटिएर रिक्त रहेको पदमा बलभद्र शाहलाई प्रधानसेनापति बनाइन् । बलभद्र शाह पृथ्वीनारायण शाहको भाइ महोद्दमकीर्ति शाहको छोरा थिए ।
यसै गरी काजी अभिमानसिंह बस्न्यात र काजी दामोदर पाण्डे उप–सेनापति भए भने रामकृष्ण कुँवर, अमरसिंह थापा लगायतका अन्य पुराना सैनिक नेताहरूको सक्रिय कारवाहीका लागि पुनः बहाली गरियो । चौबिसे राज्यहरूको संयुक्त सेनादल निकै शक्तिशाली थियो । यसको निमित्त कूटनैतिक चाल पनि चल्नु पर्ने मनस्थितिबाट सैनिक नेताहरूकै परामर्शमा कास्कीलाई चौबिसे राज्यहरूको गुटबाट अलग्याइ नेपाली पक्षमा ल्याउन उनी सफल भइन् ।
राजेन्द्रलक्ष्मी कैदमा रहेको बखतबहादुर शाह मात्र नायब छँदा एक शक्तिशाली फौजलाई चौबिसे राज्यको दमन गर्न पठाइयो । सो फौज तनहुँँ भइ अघि बढ्यो । सन् १७७८ को जनवरी महिनामा तनहुँँको राजा हरकुमारदत्त सेन भागेकाले केही समय तनहुँँ गोर्खालीको कब्जामा आयो । तर पछि चौबिसे राज्यहरूको मद्दतबाट पहिले गुमेको राज्य पुनः फिर्ता लिए । नेपाली फौजले थप मद्दत पठाइ पुनः तनहुँँमाथि हमला गर्दा हरकुमारदत्त सेन भागेर हिन्दूस्तान गएका थिए । बहादुर शाह सोही युद्धको लागि तनहुँँ गएको बेला राजेन्द्रलक्ष्मी कैद मुक्त भएको थाहा पाइ युद्ध मैदानबाट उनी पुनः वेतिया भागे ।
यहीँ मौकाको फाइदा उठाइ पाल्पा र पर्वतको सहायता लिइ हरकुमारदत्त सेनले पुनः तनहुँँ फिर्ता लिए । महिलाको नायबीलाई फितलो ठानी पर्वत, लम्जुङ, तनहुँँ आदि चौबिसे राज्यको संयुक्त फौजले सन् १७८१ को जनवरीमा गोर्खामाथि आक्रमण गरे । यो बडो सङ्कटपूर्ण घडी थियो । तर राजेन्द्रलक्ष्मीले कत्ति पनि नआत्तिइ नेपालबाट बडाकाजी अमरसिंह थापाको नेतृत्वमा शक्तिशाली फौज पठाइन् ।
सो फौजले गोर्खाको ‘चिप्लेटी’ भन्ने ठाउँमा चौबिसे राज्यहरूको संयुक्त फौजमाथि अप्रत्यासित हमला ग¥यो । चौबिसे राज्यहरूका फौज भागाभाग भए । त्यसपश्चात् नेपाली फौज चिप्लेटीबाट केही पछाडि हटी बलियो ठाउँ छानेर ‘सिह्रानचोक’ भन्ने ठाउँमा प्रतिरक्षात्मक स्थानको अख्तियार गरेर बस्यो ।
सैनिक कारवाहीको अभियानलाई कायम राख्न रानी राजेन्द्रलक्ष्मीले सेनापतिहरूलाई जोडदारसँग निर्देशन तथा सहयोग दिँदै थिइन् । उता बडाकाजी अमरसिंह थापाले युद्ध लड्दै ज्याम्रूकसम्म कब्जा जमाइसकेका थिए । पर्वत र लम्जुङको फौजले अमरसिंह थापा लगायत नेपाली फौजलाई त्यहीँ घेराबन्दी गरी बरबाद गर्ने योजना बनाए । तार्कुघाटमा विशाल युद्ध भयो । यहाँ पनि चौबिसे फौज हारे । लम्जुङको सैनिक अफिसर कमाण्डर भक्ति थापा र पर्वते सेना नायक सरदार बलिभन्जन जङ्गी कैद भए ।
बलिभन्जन कैदमा नै मरे भने भक्ति थापाले नेपाली फौजको नियम कानून मानी नेपाली फौजको सैनिक अधिकृतमा जागिरे भए । जुन व्यक्ति पछि गएर नेपालको इतिहासमा ‘वीर भक्ति थापा’ बन्न पुगे । साथै सैनिक नेताहरूको कूटनीतिक तथा मनोवैज्ञानिक युद्धबाट नै कास्की नेपालमा गाभियो अर्थात् कुनै लडाइँ गर्नु परेन ।
उता कास्की हात लाग्नासाथ नेपाली फौज अनेक बाटोबाट लम्जुङभित्र पसी घेराबन्दी गर्दै अगाडि बढे । लम्जुङका राजा वीरमर्दन शाह हडबडाइ भागे । भाग्न पनि सिधा बाटो पाएनन् । मुस्ताङ, पर्वत, गुल्मी, पाल्पा आदि ठाँउ हुँदै भारतको चम्पारन पुगे । यसरी सन् १७८२ को कार्तिकमा लम्जुङ र तनहुँँ नेपाल राज्यमा गाभियो ।
राजेन्द्रलक्ष्मीले नेपाली फौजलाई विजय अभियान कायम राख्ने आदेश पठाइन् । सन् १७८५ मा नेपाली फौजले पश्चिम ४ नम्बरको पाल्पा ‘नुवाकोट’ समेत कब्जा ग¥यो । पर्वतको फौजको नेपाली फौजमाथि हमला गर्ने योजना थाहा पाइएकोले पर्वतको हमलालाई प्रतिकार गर्न लम्जुङमा थप मद्दत पठाउनु पर्ने भइ नेपाली फौज लम्जुङ फर्के । फलस्वरूप विजय अभियान रोकिन गयो ।
उता काजी अभिमानसिंह (श्रीपाली) बस्न्यातलाई ठूलो सैन्य दल लिइ पाल्पामा आक्रमण गर्न पठाइन् । यो फौजको पाल्पाको ‘वीरकोट’ भन्ने ठाउँमा ठूलो युद्ध भयो । पाल्पाली फौज हा¥यो । नेपाली फौज तानसेन नपुग्दै लम्जुङको प्रतिरक्षा मजबुद बनाउन थप मद्दतका लागि अभिमानसिंहको फौजलाई फिर्ता बोलाइयो । अर्थात् पर्वतको फौजले ठूलो तयारीका साथ लम्जुङमाथि पुनः हमला गर्न लागेको भन्ने सूचना थाहा पाएर फिर्ता बोलाइएको थियो ।
यसरी यसतर्फको विजय अभियान पनि रोकिन गएको थियो । पश्चिम ४ नं. ‘नुवाकोट’ र पाल्पाबाट फर्किआएका दुवै फौजको मिलाप गरी पर्वते फौजसँग ‘मकैडाँडा’ भन्ने ठाउँमा घमासान युद्ध भयो । यहाँ पुनः चौबीसे फौजको हार भयो र भागाभाग भए । उक्त सैन्य गठबन्धनमा कास्की पनि पर्वतसँग मिलेकोले नेपाली फौजले यस पटक कास्कीमाथि पनि सैनिक कारवाही ग¥यो र सधैँँका लागि कास्की पनि नेपालमा गाभियो ।
यसरी तनहुँँ, लम्जुङ तथा कास्की जस्ता शक्तिशाली राज्यहरू सदाका लागि नेपालमा गाभिए । ससुरा पृथ्वीनारायण शाहको सपनालाई पूरा गर्ने अठोट बोकेकी राजेन्द्रलक्ष्मीले सेनाको महत्व बुझी, सेनापतिहरूको सहयोग र परिश्रमबाट नै नेपाल एकीकरण अभियानलाई सम्पन्न गर्ने योजना बनाएकी थिइन् । एकीकरणको कारवाहीमा लाग्दालाग्दै सन् १७८५ मा नै रानी राजेन्द्रलक्ष्मीको स्वर्गारोहण भयो । राजेन्द्रलक्ष्मी पछिको नेपालको एकीकरण गर्ने श्रेय राजकुमार बहादुर शाहमा जान्छ ।




