काठमाडौं । २०७४ भदौ ४ र ५ गते काठमाडौंमा हुने नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा कुन संगठनले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन । निर्वाचन आउन अब मात्र २७ दिन बा“की छ । तर, एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र निकट पत्रकार र अन्य कसैले पनि कुनै पनि पदमा दावी गरेको कुरा सार्वजनिक भएको छैन ।
राजनीतिक दल निकट पत्रकारका ब्यवसायिक संगठनहरू उम्मेदवार घोषणा गर्ने विषयमा आन्तरिक झगडामा फसेको पत्रकारहरूबीच चर्चा छ । उम्मेदवार चयनका विषयमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टर एकआपसमै विवाद र द्वन्द्वमा फसेका छन् । उम्मेदवार खास गरी अध्यक्ष पदका दावेदारहरू बढी भएकाले गर्दा तीनवटै संगठन आन्तरिक द्वन्द्वमा फसेको चर्चा पत्रकारहरूबीचमा हुने गरेको छ । तर, यी तीनवटै संगठन जसरी हुन्छ महासंघमा आफ्नो उपस्थिति मजबुत बनाउने भित्री दाऊमा क्रियाशील रहेको बताइनछ ।
प्रेस युनियन र प्रेस सेन्टरले अध्यक्षलगायतका पदमा उम्मेदवार तोक्न नसकेतापनि नेपाल पत्रकार महासंघका जिल्ला र प्रतिष्ठान शाखाहरूको निर्वाचनमा जताततै प्रेस चौतारी नेपालसंग पराजित भएका प्रेस युनियन र प्रेस सेन्टर फेरि नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशनमा पनि चौतारी विरुद्ध एक भएर जाने टुंगोमा पुगेको खबर छ । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र निकट पत्रकारहरूको ब्यवसायिक संगठनहरू नजिकिएसंगै पत्रकारका संगठनहरूबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको खबर छ । सत्तारुढ गठबन्धन निकट नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच सम्भावित चुनावी तालमेलका विषयमा दुबै संगठनको नेतृत्वबीच २०७४ साउन ३ गते मंगलबार गंभीर छलफल भएको थियो । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले प्रेस सेन्टरसंग महाधिवेशनमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भएको जानकारी कुरा सार्वजनिक गरेका छन् । ‘चुनावमा सहकार्य गर्ने विषयमा सिद्धान्ततः सहमत छौं ’, सिवाकोटीले भने, ‘त्यसको मोडालिटी के हुने भन्नेमा पुनः छलफलको आवश्यकता छ ।’
नेकपा एमाले निकट पत्रकारहरूको ब्यवसायिक संगठन प्रेस चौतारी नेपाल पत्रकार महासंघको राजनीतिमा शक्तिशाली र सभासदको संख्याका आधारमा भन्ने हो भने पहिलो संगठनको रहेको दावी गर्दै आएको छ । २०७४ भदौ ४ र ५ गते काठमाडौंमा हुने पत्रकार महासंघको २५ औं महाधिवेशनमा चुनावी तालमेल भएमा यिनै तीनवटा संगठनबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित छ । २०७४ साउन ३ गते मंगलबार काठमाडौंको नया“ बानेश्वरमा युनियन र सेन्टरको नेतृत्वबीच भएको छलफलमा युनियनका तर्फबाट अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव अजयबाबु सिवाकोटी सहभागी रहेको थाहा भएको छ भने प्रेस सेन्टरका तर्फबाट अध्यक्ष महेश्वर दाहाल र महासचिव विष्णु सापकोटा सहभागी भएको बताइएको छ । युनियनका महासचिव सिवाकोटीले भेटघाटको फोटो फेसबुकमा राख्दै लेखेका छन् ‘शुभारम्भ नया“ अध्यायको ।’
२०७१ साल बैशाखमा भएको महासंघको २४ औं महाधिवेशनमा नेपाली कांग्रेस निकट पत्रकारको प्यानल एकातिर र एमाले, माओवादीसहितका बामपन्थी दल निकट पत्रकारको प्यानल अर्कोतिर भएर चुनाव लडेका थिए । प्रेस चौतारी र माओवादीले संयुक्त रुपमा उम्मेदवार बनाएका महेन्द्र विष्ट नेतृत्वको बामपन्थी प्यानलले अत्याधिक मतका साथ निर्वाचन जितेको थियो ।
बैठकमा सहभागी प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले महाधिवेशनका सन्दर्भमा सबै संगठनसंग छलफल चलिरहेको बताए । एउटा पक्षलाई बाहिर राखेर चुनावी तालमेल गर्दा महासंघ कमजोर बनेकाले सबै मिलेर महाधिवेशन जाने विषयमा छलफल भएको उनले बताए । ‘छलफल सबैसंग चलिरहेको छ । एउटा पक्षलाई बाहिर राखेर जा“दा पत्रकार महासंघ कमजोर भयो । साझा संस्था बनाउन मिलेर जान सकिन्छ भने त्यही ढंगले छलफल थालौं’, दाहालले भने, ‘पक्ष र प्रतिपक्ष भनेको राजनीतिमा हुन्छ तर यो साझा संस्था हो । यसबीचमा तानातान भयो, यसले राम्रो सन्देश गएन ।’
अध्यक्षका दावेदारहरू
प्रेस चौतारी नेपालको तर्फबाट अध्यक्षका लागि तीर्थ कोइराला, गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्माको नाम चर्चामा रहेको छ । उल्लेखित उम्मेदवार मध्येबाट प्रेस चौतारीले सर्वसम्मत अध्यक्षको उम्मेदवार तय गर्न नसकेमा वर्तमान अध्यक्ष महेन्द्र विष्टले दोहो¥याउने इच्छा ब्यक्त गरेको चर्चा चौतारी निकट पत्रकारहरूबीच हुने गरेको छ । त्यसैगरी प्रेस युनियनमा पोषण केसी, विपुल पोख्रेल, समीरजंग शाह र रामजी दाहालको चर्चा छ । प्रेस युनियन भित्र कसले अध्यक्षको टिकट पाउने भन्ने विवाद चर्किदै गएपनि केसी, पोख्रेल, शाह र दाहाल मध्ये सांगठानिक र जनाधारको हिसावले केसी अगाडि रहेको दावी युनियनका पत्रकारहरूको रहेको छ । युनियनभित्रै यही विवाद चर्किदै गएमा विद्रोही उम्मेदवार निस्कने निश्चित छ । युनियनबाट टिकट पाए नि नपाए नि पोषण केसी आपूmले मैदान नछाड्ने कुरा आपूm निकटका पत्रकारहरूलाई बताउने गरेका छन् ।
प्रेस सेन्टरभित्र त झन गुटगत झगडाले उग्ररुप लिएको खबर छ । अध्यक्षको दावेदारमा गोविन्द आचार्य, ओम शर्मा र उजीर मगर रहेका छन् ।
को कति पानीमा ?
मतदाताको हिसावले सबैभन्दा धनी प्रेस चौतारी रहेको छ । प्रेस चौतारी एक्लैसंग ४८६ मत रहेको थाहा भएको छ ।
त्यसैगरी दोस्रो स्थानमा प्रेस युनियन रहेको छ । जसले ४६३ मत आफ्नो बनाउन सफल भएको छ । त्यसैगरी
सबैभन्दा कमजोर संगठन प्रेस सेन्टर देखिएको छ । यी तीनवटा संगठन बाहेक १८६ मत अन्य संगठन र स्वतन्त्र ब्यक्तिहरूको रहेको छ ।
प्रेस चौतारी–पर्ख र हेर †
प्रेस चौतारी नेपाल पनि सबै संगठनहरू सहमतिका साथ अघि बढ्नुपर्ने पक्षमा रहेको अध्यक्ष गणेश बस्नेत बताउ“छन् । ‘नेपाल पत्रकार महासंघको व्यवसायिक छविलाई कायम राखेर सबैको साझा संस्था बनाउ“ भनेर प्रेस युनियन र प्रेस सेन्टरका साथीहरूलाई प्रस्ताव राखेका छौं’, बस्नेतले भने, ‘निर्वाचन प्रजातान्त्रिक अभ्यास हो तर सहमति त्यसभित्रको उत्कृष्ट पक्ष हो ।’ सबैले जित्ने परिस्थिति बनाउने कि नबनाउने भन्ने कुरा युनियन र प्रेस सेन्टरको हातमा रहेको बस्नेतले प्रतिक्रिया दिए । ‘प्रेस युनियन वा प्रेस सेन्टरमध्ये एउटासंग तालमेल गरेर अर्कोलाई बाहिर राखेर चुनावमा जाने पक्षमा हामी छैनौं तर उहा“हरूले मान्नुभएन भने जित्ने अवस्थामा हामी पनि त्यो ठाउ“मा पुग्नैपर्छ ।
४७ सदस्यीय केन्द्रीय समिति
केन्द्रीय सभासदहरूले गोप्य मतदानबाट ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने नेपाल पत्रकार महासंघको विधानमा व्यवस्था छ । महासंघमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, ६ जना सचिव र एक कोषाध्यक्ष गरी ११ जना पदाधिकारी चयन हुने ब्यवस्था छ । महासंघमा ३६ जना सदस्य हुन्छन् । चुनावी तालमेल वा सबै संगठन मिलेर जाने भन्ने छलफलका बीच संगठनहरूले उम्मेदवार छनोटको छलफल पनि थालेको खबर छ । युनियन र सेन्टरले उम्मेदवार चयन प्रक्रिया थालिसकेका छन् भने चौतारीले उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न २०७४ साउन ५ गते बिहीबार सचिवालय बैठक राखेको थियो । बैठकले नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको सिलसिलामा प्रदेश भेलाहरू गर्ने निर्णय गरेको थाहा भएको छ ।



