काठमाडौं । पचास वर्ष रगत पसिना खर्चेर निर्माण गरेकाे नेकपा एमालेबाट उपप्रधानमन्त्री र प्रधामन्त्री समेत बनेर अवसर छाेपेका माधव नेपाल र झलनाथ खनालकाे नव गठित दल नेकपा एकीकृत समाजवादीले दैनिक कार्य सञ्चालनका लागि एकजना महासचिव समेत पाएकाे छैन ।
एमालेबाट चाेइटिएर नेकपा एकीकृत समाजवादीमा तीनवटै तह संघीय संसद, प्रदेश सभा र स्थानीयबाट अपेक्षाकृत रूपमा जनप्रतिनिधिहरू गएकाे पनि देखिएन । अहिलेकाे दृश्य हेर्दा नेकपा एकीकृत समाजवादीकाे भविष्य त चाेक्टा खाना गएकी बुढी आमै झाेलमा डुबेर मरिन् भन्ने उखान चरितार्थ हुने भएकाे छ ।
माधव नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीको महासचिव कसलाई बनाउने भन्ने निर्क्योल हुन सकेको छैन । महासचिवका लागि ड्यासिङ भएको नेता नभएकै कारण अहिले महासचिव बनाउन नसकेको चर्चा सुनिन्छ । कतिपयले राजेन्द्र पाण्डेको नाम लिएका थिए ।
एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका कारण पाण्डे नै उपयुक्त हुने चर्चा थियो । तर, पाण्डेले महासचिव भन्दा पनि मुख्यमन्त्री पद महत्वको ठानेका छन् । एकै व्यक्तिलाई दुई पद नदिने र मुख्यमन्त्री भएको व्यक्तिले महासचिवको काम गर्न नभ्याउने भएका कारण पाण्डेलाई महासचिव नबनाउने पक्काजस्तै रहेको बताइन्छ छ ।
मुख्यमन्त्री अर्कै सांसद भएको अवस्थामा भने पाण्डे बलियो उम्मेदवार हुन् । त्यसैले पार्टीको महासचिव पद मुख्यमन्त्रीसँग साटेको चर्चा पनि चलेको छ । गठबन्धनस“ग बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने अनौपचारिक सहमति छ ।
अहिले अनौपचारिक रुपमा वेदुराम भुसालले महासचिवको जिम्मा पाएका छन् । केन्द्रीय सचिवालय भुसालको नेतृत्वमा सञ्चालन हुनेछ । त्यसको सदस्यका रुपमा भने पाण्डे पनि छन् ।
पाण्डेको विकल्पमा अहिले गंगालाल तुलाधरको नाम महासचिवका लागि चर्चामा छ । भुसाल स्कूल विभागका लागि उपयुक्त भएको र स्थायी समितिमा महासचिवका लागि उपयुक्त नेता नभएको भन्दै तुलाधरको नाम चर्चामा आएको छ । पाण्डे वा तुलाधर जो भएपनि धादिङबाटै महासचिव हुने चर्चा पनि एकीकृत समाजवादीमा चल्न थालेको छ ।




