• शुक्रबार-बैशाख-१४-२०८१

घातीहरूद्वारा देउवालाई तेल !

 

नेपाली राजनीतिमा सबैभन्दा बढी कलंकित र घृणित देउवा एकमात्र पात्र र प्रवृत्ति हुन् । तिनै देउवा होइनन् जसले सुरा–सुन्दरी काण्ड घटाए ? तिनै होइनन् जसले इतिहासमा जम्बो मन्त्रिमण्डल बनाए ? तिनै होइनन् जसले वाइडबडी लगायतका ठूला भ्रष्टाचारमा आफू मुछिए ? तिनै होइनन् जसले दलीय प्रजातन्त्रलाई राजाको पाउमा चढाए ? तिनै देउवा होइनन् जसले नेपाली राजनीति र संस्कृतिलाई कलंकित, भ्रष्ट र पतित बनाए ? तिनै होइनन् जसले मूल्य र नैतिकताको राजनीतिलाई च्यूत पारे ?


अब फेरि तिनै कलंकित र घृणित पात्रलाई आन्दोलन, दल, संस्था र जनताको अभिमत विरूद्ध गएर माधव नेपालको समूहले समर्थन गर्न पुग्यो । नेपाली राजनीति र वामप्रगतिशील राजनीतिमा यो भन्दा भद्दा, गद्दारी र अनैतिक कार्य अर्काे हुनै सक्दैन । लोकतान्त्रिक संसदीय प्रजातन्त्रमा जनता र दल मूल पक्ष हो ।


 दलको अन्तर्गत नै दलका सदस्य हुन् र हुनैपर्दछ । यो सर्वमान्य मूल्य हो । यो कानुन हो र नैतिकता पनि हो । यस्तो मूल्यमाथि सर्वाेच्चले पूर्वाग्रहवस र अन्य कारणबाट दलीयतन्त्र वा दलीय प्रजातन्त्रमा नसुहाने फैसला गरिदियो । कुनैपनि जनप्रतिनिधिलाई दलकै चुनाव चिन्ह्मा जनताले मत दिएर पठाएका हुन्छन्् । दलको अनुशासनमा दलका मानिस बाँधिएनन् भने त्यहाँ भाँडतन्त्र हुन्छ, अराजकता हुन्छ । यस्तो राजनीतिक मूल्यमाथि ठाडो प्रहार गर्ने कार्यले नेपाली राजनीतिमा कहिल्यै नमेटिने कालो दागको टीका माधव कमरेडको हुर्दुङ्गे समूह तथा अन्य घातीले लगायो ।


आन्दोलन–पार्टी र संस्था मूल
दलीय प्रजातन्त्रमा जनताको प्रतिनिधित्व भएको आन्दोलन र दल प्रमुख कुरा हो । माधव कमरेडले जुन कार्य गर्नु भयो त्यो मुलुकको दलीय प्रणालीमा कतै नसुहाउने कुरा भयो । यसमा दलीयतन्त्र ध्वस्त गर्ने सोच र नियत लुकेको देखिन्छ । विपक्षीलाई प्र्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा नै आन्दोलन विरोधी थियो र त्यसमा पनि पछि फेरि दलको निर्णय विपरित मतदात गर्नु त राजनीतिक अपराधै हो । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा के फैसला गरियो भन्दा पनि सर्वाेच्चको फैसला फेरि अर्काे कुनैपनि अवस्थामा धारा ७६ (५) को अवस्थामा कसरी व्याख्या होला ? के त्यसरी दलीय मूल्य र दलको अनुशासन नलाग्ने भन्दै जाने हो भने भोलीको लोकतन्त्र कस्तो होला ? आज केपीलाई खाने ‘स्वतन्त्र सांसद्को हुईया’ले भोलि अरूलाई पनि नखाला भन्न सकिन्न । 


दलले आफ्ना साँसद्लाई आफ्नो अनुशासनमा राख्न नसक्ने र नपाउने हो भने त्यो भन्दा ठूलो राजनीतिक अराजकता केही हुन्न । त्यसले संसद्मा एकलौटी बहुमत नभएको अवस्थामा र भएकै स्थितिमा पनि साँसद्को ‘किनबेच’ हुने, अवस्था बन्न सक्दछ । नेपालको राजनीतिक इतिहासमा साँसद्को किनबेच र अनेकौं विकृति ल्याउने काम देउवाले नै गरेको इतिहास छ ।  यस्ता कलंकित पात्रलाई पिठमा बोकेर समर्थन गर्नु प्रजातान्त्रिक मूल्य, कानुन र नैतिकता विरूद्धको काम हो । जुन माधव कमरेड लगायतका घातीहरूले गर्नु भयो ।


इतिहासको गम्भीर गद्दारी 
गद्दार तथा घाती माधव कुमार नेपाल समूहले आफ्नै बनिबनाउ घरमा आगो लगाएर डडेको घरको खरानीमाथि उफ्रेर ‘लाखेनाँच’ देखाउने काम गरेका छन् । एउटा विधि, विधान, मूल्य र प्रक्रियाबाट निर्वाचित भएका एमालेका निर्वाचित अध्यक्ष केपी ओलीलाई सत्ताबाट हटाएर कुलंगार पात्र शेरबहादुर देउवालाई कुर्सीमा ल्याउन यत्रो ‘लाखेनाच र हुर्दुङ्गा’ गर्नु पर्ने थिएन । आफू एउटा आन्दोलन, संघर्ष र दलको मूल्यबाट सूर्यमा मत माग्दै विजयी बन्ने अनि सोही आन्दोलन, दल र पार्टीलाई ठाडै धोका दिने योभन्दा ठूलो गद्दारी कार्य के हुन सक्ला ? बुर्जुवा र प्रतिगामी पार्टी र समूहले पनि यतिसम्मको गद्दारी चाहिं गर्न सक्दैनन् होला । 


यस्तो कुकर्म र गद्दारी माधव कुमार नेपाल तथा केही घातीबाट हुन गयो । कहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो राजनीतिमा निर्दलीय चरित्र देखाएर लाखेनाँच देखाएका कालो टीकाधारी अब पतित भईसकेका छन् । निधारमा कालो टीका लगाएर पार्टीका अध्यक्ष विरूद्ध तथानाम बोलेको पात्रलाई फेरि अध्यक्षले नै भित्राएर कसरी राख्नु ? यो गतिविधि र क्रिया नेपाली राजनीतिक इतिहासमा एउटा कलंक हो । कालो धब्बाको दाग हो । 


कम्युनिष्ट आन्दोलनमा पतित पात्र केशरजंग रायमाझी भनिन्थ्यो । तर माधवकुमार नेपाल त त्यो भन्दा पनि बढ्ता देखिए । उनलाई अब एमालेमा कुनै स्थान छैन् र हुनुहुन्न । यस्ता गद्दारी पात्र, प्रवृत्ति, सोच, व्यवहार र हर्कत भएका कुनैपनि नेता, कार्यकर्ता र समूहलाई कहिल्यै बढावा दिनु हुन्न । जतिसुकै ठूलो नेता भएपनि आन्दोलन, संस्था, जनता र पार्टी भन्दा माथि हुन सक्दैन । यसैले यस्ता गद्दारी गर्ने आन्दोलन विरोधी हुल्याहा प्रवृत्तिका मनुवाहरूलाई अब ढोका बन्द गर्नु पर्दछ । 


आन्दोलनलाई गम्भीर धोका
नेपाली राजनीतिक इतिहासमा माधव नेपाल र उनको मण्डलीले गरेको घाती कार्य अक्ष्यम्य गल्ती राजनीतिक अपराध हो । यो भन्दा आन्दोलन, दल र जनताको लागि ठूलो धोकाको अर्काे विषय नै हुन्न । त्यस्ताको निधारमा लागेका ति काला टीकालाई पखाल्न पनि नसकिने अवस्था छ । त्यसको लागि दर्जनौं डल्ले साबुन खर्च गर्नु पनि बेकार भयो । एकता र सच्चिने नाममा जतिपनि सहमतीका १० बुँदे भए अब त्यो पुरानो नौटङ्कीको कुनै अर्थ हुने छैन् । त्यस्तो अवस्थामा त्यो १० बुँदे कालो अक्षर भएको कागजलाई धरधरी च्यातिदिए केही फरक पर्दैन । आफ्नो घर झगडा भयो भन्ने नाममा अर्काे छिमेकीको घरको बार्दलीमा गएर आफ्नै घरमा ढुङ्गा हान्दै घरलाई ध्वस्त पार्नेहरूलाई अब इतिहासले माफि पनि गर्ने छैन् । वामपन्थी आन्दोलनको नेपाली इतिहासमा यो भन्दा ठूलो धोका, गद्दारी र अनैतिक कार्य कहिल्यै भएको थिएन र अब पनि नहोला ।


संघर्षका विविध रूप
इतिहासका कलंकित पात्र नेपाली जनताको जनमतबाट होइन जस्केला र झ्यालबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा इतिहासकै कलंकपात्र हुन । यस्ता कलंकित, कुलंगार र कुपात्रलाई समर्थन गर्दै आफ्नो इतिहास, आन्दोलन, दल र सारमा जनताको जनमतलाई कुल्चिने काम भएबाट माधव कुमार नेपालले कम्युनिष्टको नाममा ओडेको त्यो बर्काे पूरै नाङ्गो भएको छ । अब आन्दोलन, पार्टी र वामपन्थी जनमतलाई जोगाएर फेरि नयाँ ढंगले पार्टी र संगठन जोगाउनु नै आजको मूल कार्यभार हो । अराजक जत्था, हुल्याहा र जनविरोधीहरूलाई ठाउँठाउँबाट विदा गर्दै नयाँ, जुझारू, आन्दोलन र संघर्षमा विस्वास भएका नौजवान युवाहरूलाई गोलबन्द गर्नु आजको आवश्यकता हो । अध्यक्ष ओलीले भनेको जस्तै संघर्ष र संगठनको बाटोबाटै पार्टी अघि बढाउनु पर्ने खाँचो छ । 


संघर्ष र आजको समय
संघर्षका विभिन्न रूप हुन्छन् । सडकमा जनताका आम सरोकारका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दा उठाएर जनप्रदर्शन आन्दोलनको एउटा प्रमुख विधि र रूप हुन सक्दछ । अर्काे संवैधानिक र कानुनी वा अदालती संघर्ष महत्वपूर्ण पक्ष हो । प्रचार–प्रसारका विभिन्न माध्यमहरूको सही प्रयोग गरी गरिने संघर्ष आधुनिक समयको लागि अर्काे महत्वपूर्ण पाटो हुने भयो । त्यसको पूरा प्रयोग गर्नु पर्दछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय फोरम वा संस्थामार्फत गरिने मुद्दा र सघर्ष अर्काे पाटो हो । 


त्यस्ता संघर्षसँग संगठन गासिएर आउने हुन्छ नै । संघर्षको लागि संगठनको अग्रिणी भूमिका हुने भएकोले भातृसंगठन, पेशागत संगठन, व्यसायिक संगठन र बौद्धिक समुदायलाई बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्दै संगठनको विस्तार गर्दै संगसंगै संघर्ष गर्नु आजको आवश्यकता हो । यसैबाट सबै प्रकारका भ्रम चिर्दै कलंकित पात्र देउवा र उनको नोकरी गर्ने पात्र र प्रवृत्तिका विरूद्ध उभिनै पर्ने खाँचो भयो । एमालेको इतिहासमा भएको सबैभन्दा ठूलो घाती कार्य यसपाली भयो । यसको निर्मम समीक्षा हुनुपर्दछ । घाती त अपराधी नै हुन् तर त्यो अवस्था कसरी आयो त्यो पाटा पनि केलाउनै पर्ने भयो ।
 

प्रतिकृया दिनुहोस