• शुक्रबार-बैशाख-७-२०८१

माधव नेपालका कारण मन्त्रिपरिषद् विस्तार अनिश्चित


काठमाडौं । माधवकुमार नेपाल समूहको अकर्मण्यताका कारण मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको छ ।  

 

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले सबै दल र समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । जनता समाजवादी पार्टीको विवाद सुल्झिएकाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने मनस्थिति देउवाले बनाएका थिए । तर सरकारमा सहभागिताबारे माधवकुमार नेपाल समूह अनिर्णित रहेपछि उनी रोकिएका छन् । 


देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको माधवकुमार नेपाल समूह यही अवस्थामा सरकारमा सहभागी हुन प्राविधिक जटिलता छ । अर्थात् एमालेकै हैसियतमा नेपाल समूह सरकारमा सहभागी हुन मिल्दैन । एमाले एकीकृत हुने सम्भावना बढेपछि सरकारमा सहभागी नहुने र टाढिएलगत्तै सरकारमा जाने दोधारे रवैया माधव पक्षले देखाइरहेको छ । स्रोतका अनुसार, सरकारमा सहभागिताबारे निरन्तर कुरा बदलिरहेको नेपाल समूहले मंगलबार फेरि सहभागी हुने जनाएको छ । जानकारी बालुवाटारलाई गराएको छ । तर एमाले एकताको प्रयास पुनः घनिभूत बनेकाले अहिले पनि सहभागी हुने सम्भावना निकै कम छ ।

 

माधवको कोटाबाट खिमलाल मन्त्री 

 

२५ सदस्यीय मन्त्रिपरिषद्मा दलहरूबीच कांग्रेसले ९, माओवादी केन्द्रले ६, माधव नेपाल समूह र जनता समाजवादी पार्टीले ५/५ मन्त्रालय लिने भद्र सहमति बनेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका तर्फबाट २/२ मन्त्री नियुक्त गरिएकाले कांग्रेसले ७ र माओवादीले ४ मन्त्री पठाउन बाँकी छ । तर यी दलमा मन्त्रीका आकांक्षी धेरै भएकाले टुंगो लगाउन सकस परेको छ ।

 

 

जसपामा पनि आन्तरिक शक्ति सन्तुलन मिलाएर मन्त्रीबारे निर्णय गर्न हम्मेहम्मे पर्ने देखिन्छ ।  माधवकुमार नेपाल समूहले सरकारमा सहभागी हुने जवाफ दिए पनि अझै निश्चित भने भइसकेको छैन । तथापि, यो समूहले खिमलाल देवकोटालाई मन्त्री बनाउने भएको छ ।

 

विपक्षी गठबन्धनको तर्फबाट हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनेका नेपालनिकट देवकोटाले तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई पराजित गरेका थिए । 

प्रतिकृया दिनुहोस