• बिहीबार-चैत-१५-२०८०

पूर्व अध्यक्ष जोशीको निधनमा समवेदना

काठमाडौं, १ असार : नेपाल बुद्धिचाल संघले पूर्व अध्यक्ष राजेशहरि जोशीको निधनमा गहिरो समवेदना ब्यक्त गरेको छ । प्रेस विज्ञप्ति निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं विश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो । ६५ वर्षे जोशीको आइतबार हृदयाघातका कारण ललितपुरमा निधन भएको हो । 

ललितपुरस्थित बि एण्ड बि अस्पताल पुर्याउँदा चिकित्सकले बेलुकी ७ बजे मृत्यु भएको घोषणा गरेको महासचिव हेराकाजी महर्जनले जनाएका छन् । नेपालमा बुद्धिचाल खेलको विकास र विस्तारमा जोशीको ठूलो योगदान रहेको संघले जनाएको छ । उनको ८ बर्षे कार्यकाल नेपालको बुद्धिचाल खेल विकास र विस्तारको लागि कोशेढुङ्गाको रुपमा रहेको खेलाडीहरुले लिने गरेको विज्ञप्तिमा जनाइएको छ । 

उनकै नेतृत्व रहेको अवस्थामा नेपालले पहिलो फिडे मास्टर मनिष हमाल र अन्तराष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजु उत्पादन गरेको थियो । उनको कार्यकाल अगाडि नेपालमा रेटेड खेलाडीहरु ९, १० जना मात्र रहेकोमा नेपालमा नै रेटिङ्ग प्रतियोगिताहरु संचालन भए पश्चात ६०० को हाराहारीमा पुगेका थिए । जोशीले बुद्धिचाल खेललाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न ठूलो योगदान गरे ।

जसका कारण नेपालको बिश्व जगतमा पनि प्रतिष्ठामा बृद्धि हुन पुग्यो । सन् २०१४ मा नर्वेमा सम्पन्न फिडे कंग्रेसबाट विश्व बुद्धिचाल महासंघको कार्य समिति सदस्य र अनुशासन आयोगको सदस्यमा निर्वाचित भए । यस्तै सन् २०१८ मा जर्जियाको बतुमीमा भएको काँग्रेसबाट दोश्रो कार्यकालको लागि पुनः अनुशासन आयोगमा निर्वाचित भए । यस्तै जोशीले सन् २०१४ देखि २०१७ सम्म नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्का सम्मिलित एशियन जोनल ३.२ को अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका थिए । जोशी नेपालको खेल इतिहासमा अन्तर्राष्ट्रिय सर्वोच्च पदमा पुग्ने पहिलो ब्यक्ति रहेको संघको दाबी छ ।

जोशीको कार्यकालमा सन् २०१० मा रशिया, फ्रान्स, स्लोभानिया, भारत, युक्रेनका ग्रान्ड मास्टर्स सहभागिता रहेको अन्तराष्ट्रिय ग्राण्ड मास्टर प्रतियोगिता, एशियन जोनल ३।२ प्रतियोगिता दुई पटक र साउथ एशियन प्रतियोगिता महत्वपूर्ण प्रतियोगिता भएको थियो । जोशीको नेतृत्व अगाडि नेपाली चेल खेलको प्राविधिक पक्ष शून्य प्रायः रहेको अवस्थामा उनको अन्तराष्ट्रिय सम्वन्ध र सक्रियताका कारण अहिले नेपालमा १० जना अन्तराष्ट्रिय आर्विटर, २० जना फिडे आर्विटर, ५० भन्दा बढि राष्ट्रिय आर्विटर र ५० जना प्रशिक्षकहरु रहेको महासचिव हेराकाजी महर्जनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२०१३ साल बैशाखमा जन्मिएका स्व जोशीका आमा, बाबु, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । सहकारी अभियन्ताको रुपमासमेत परिचित जोशीको निधनले नेपाली खेल जगतका साथै बुद्धिचाल खेलले अपुरणीय क्षति ब्यहोरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस