• शुक्रबार-बैशाख-७-२०८१

बहुमतीय सरकार गठनमा सहभागी नहुने महन्थ ठाकुरको घोषणा

भने- वैकल्पिक सरकार निर्माणमा जुट्नु विचलन हो

  
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारभन्दा एजेन्डा आफ्नो दलको प्राथमिकतामा रहेको प्रष्ट पारेका छन् । साथै उनले यही अवस्थामा वैकल्पिक सरकार निर्माणमा सहभागी हुनु मधेस आन्दोलनविपरीत हुने बताएका छन् । 

 

प्रधानमन्त्रीको विश्वासको प्रस्ताव अस्वीकृत लगत्तै उनकै दलका अर्का अध्यक्ष उपेन्द्र यादव बहुमतीय सरकार निर्माणको कसरतमा लागेका छन् । उनले शेरबहादुर देउवा र प्रचण्डसँगै बहुमतीय प्रक्रियाबाट सरकार निर्माणको आह्वान गर्दै विज्ञप्ति जारी गराएका छन् ।  तर ठाकुरले ठ्याक्कै उपेन्द्रको विपरीत उभ्भिएर बहुमतीय सरकार निर्माणको प्रक्रियामा सामेल हुनुलाई विचलन भनेका छन् । 

 

‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य, मधेस आन्दोलनको मर्म र भावनाविपरीत हो भन्ने हाम्रो ठहर छ,’ ०७८ वैशाख २७ गते राति महन्थद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । 


यो अवस्थामा भइराखेको सरकार विस्थापित गरेर अर्को सरकार निर्माण गर्दा देश अस्थिरतामा फस्ने र एजेन्डा सम्बोधन अनिश्चियतर्फ धकेलिने ठाकुरको ठहर छ । 


जसपा एक जिम्मेवार राजनीतिक पार्टी भएकाले मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला, मुस्लिमलगायतका सीमान्तकृत, शोषित, पीडित उपेक्षित समुदायको एजेनडा सम्बोधन निम्ति अग्रसर हुने उनले प्रतिबद्धता पनि जनाएका छन् । 


राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनको प्रक्रिया थालेसँगै जसपाको एउटा समूहको नेतृत्व गर्दै आएका ठाकुरको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । बहुमतीय सरकार गठन गर्न सग्लो जसपा तयार भए मात्र सम्भव हुने संसदको गणित छ । यसले बहुमतीय सरकार निर्माण पेचिलो हुने संकेत गरेको छ । 
 

प्रतिकृया दिनुहोस