• बिहीबार-चैत-१५-२०८०

लाइभकेयरको नक्कली धन्दा कसले हेर्ने 

 

काठमाडौं । पशु पन्छी क्षेत्रको विकास निम्ति खडा गरिएका राज्यका निकाय कति धेरै निकम्मा छन् भने बेथितिका पहाड नाकैअगाडि आएर ठोक्किँदा पनि कुम्भकर्ण निद्रामैहुन्छन् । यससम्बन्धी कतिपय अड्डाका हाकिमको कामचाहिँ तलब जनताको तिरोबाट खाने अनि सेवाचाहिँ व्यापारी तथा माफियाको गर्ने रहेको पाइन्छ । केही महिनाअघि मात्रै भारतीय कम्पनीले उत्पादन गरेको पानी मिसिएको कुखुराको भिटामिन बिक्री वितरण गर्न पशु सेवा विभागका तत्कालीन महानिर्देशक वंशी शर्माले अनुमति दिए । जनताको तिरोबाट तलब खाने शर्माले यति ठूलो अक्षम्य अपराध गर्दा पनि तालुकदार मन्त्रालयदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म रमिते बनेर बसेका छन् । सरकारी निकायको यस्तै निकम्मापनका कारण एक औषधि उद्योगले दर्ता नै नगरी अवैध रूपमा औषधि उत्पादन गरेर बिक्री–वितरण गरिरहेको फेला परेको छ । र, यो काम पशु पन्छी क्षेत्रकै दिग्गजको संलग्नतामा भएको पाइएको छ ।


चितवनको भरतपुरमा रहेको लाइभकेयर फर्मास्युटिकल्स प्रालिले औषधि व्यवस्था विभागमा दर्ताबेगर औषधि उत्पादन गरेर बिक्री वितरण गरेको हो । नेपालको प्रचलित कानुनअनुसार औषधि उत्पादन गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्छ । तर लाइभकेयरको ‘टाइमोलिभ ८०’ नामक औषधि विभागमा दर्ता छैन ।  ‘टाइमोलिभ ८०’ कुखुराको श्वास–प्रश्वास रोगविरुद्ध प्रयोग हुने औषधि हो । उक्त कम्पनीले उत्पादन गरेको व्याच नम्बर ‘टीएएम ०१३’ मा उत्पादन मिति जनवरी २०२१ रहेको टाइमोलेन (टाइमोलिभ) को मात्रा ८० प्रतिशत रहेको औषधि प्राप्त भएको छ । ५ सय ग्राम र हजार ग्राम तौलमा प्याकिङ गरी बिक्री–वितरण गरिरहेको उक्त औषधिकोे मूल्य १४ हजार रूपैयाँ प्रतिकेजीमा बिक्री–वितरण भइरहेको छ ।


 लाइभकेयर फर्मास्युटिकल्स नेपालमा पशुपन्छीको औषधि उत्पादन तथा वितरणमा अग्रणी स्थान ओगटेको कम्पनी हो । तर यही कम्पनीले देशको प्रचलित कानुनकै बर्खिलाप हुनेगरी वर्षौंदेखि खुलेआम उक्त अवैध एन्टिबायोटिक्स उत्पादन र वितरण गरेको छ ।


स्रोतले बताएअनुसार, लाइभकेयरले विभागबाट हाल करिब २० वटा औषधि उत्पादन गर्न अनुमति लिएको छ । र उसले लिएको अनुमति र उत्पादनमा तालमेल मिल्दैन । २० वटा औषधि उत्पादन गर्न अनुमति लिए पनि उसले ६० प्रकारका औषधि उत्पादन गर्दै आइरहेको छ । लाइभकेयर फर्मास्युटिकलले टाइमोलिनलगायत औषधि व्यवस्था विभागमा दर्ता नरहेको २५ प्रकारका औषधि उत्पादन गर्न आवश्यक कच्चा पदार्थ भारतबाट आयात गरिरहेको छ ।


 औषधिको कच्चा पदार्थ आयात गर्न पनि औषधि उत्पादन कम्पनीले सिफारिस लिनुपर्छ । उसले आवश्यक सबै प्रकारका कच्चा पदार्थ भारतलगायत मुलुकबाट आयात गर्ने गरेको छ । सबै प्रकारका कच्चा पदार्थ ल्याउन अनुमति नभएकाले उसले यो काम पनि चोर बाटो अपनाएर गर्ने गरेको पाइएको छ । स्रोतका अनुसार, औषधि व्यवस्था विभागले सीमित औषधिका लागि उपलब्ध गराएको सिफारिसपत्रमा स्क्यान गरी लाइभकेयरले नक्कली सिफारिसपत्र बनाएर कच्चा पदार्थ आयात गर्दै आइरहेको छ । नेपाल राष्ट्र बैंकको आयात–निर्यातसम्बन्धी निर्देशिकामा बाह्य मुलुकबाट मालवस्तु आयात गर्दा औषधिको हकमा औषधि व्यवस्था विभागको सिफारिसपत्र अनिवार्य आवश्यक पर्ने उल्लेख छ ।


अवैध धन्दामा को–को संलग्न ?
विश्वस्त समाचार श्रोतबाट प्राप्त जानकारीअनुसार लाइभकेयरको अवैध धन्दामा राजु पौडेल संलग्न छन् । कुनै बेला औषधि उत्पादन कम्पनीका बजार प्रतिनिधि रहेका उनलाई अन्यले यो काममा पुठ दिने गरेका छन् । उनको अवैध काममा हिम्मत जुटाउन नेपाल ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष टीका पोखरेलले ढाडस दिँदै आएका छन् । जानकारहरूका अनुसार, ह्याचरीमा प्रयोग हुने यो औषधि उत्पादन गर्न पोखरेलले कम्पनीमा मोटो रकम लगानी गरेर सेयर होल्डर बनेका छन् । अग्रपंक्तिमा नदेखिने तर लाइभकेयरमा लगानी गर्नेमा कपिलबाबु खनाल पनि रहेको श्रोत बताउछ ।

 

उनको माओवादी केन्द्रसँग बढी हिमचिम रेहको पनि बताइन्छ । यही आबद्धता उनले कम्पनीका गलत काम ढाकछोप गर्न प्रयोग गरिरहेको निकटस्थहरू बताउँछन् । देखिने गरी अध्यक्षको भूमिकामा भने मित्रराज दुवाडी छन् । बाहिर आदर्शवान् कुरा गर्ने दबाडी लाइभकेयरले गर्दै आएको गैरकानुनी धन्दाका मुख्य डिजाइनर रहेको जानकारी हुन आएको छ । 
 

प्रतिकृया दिनुहोस