• बुधबार-बैशाख-१२-२०८१

हामी भट्टराईलाई प्रधानमन्त्री बनाउन छलफल गर्न चाहन्छौं

 

० तपाईंको दल नेपाली कांग्रेस र एमालेकै माधव नेपाल पक्षका सांसदका कारण कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीे सरकारमाथिको संकट ट¥यो । नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षबीच अब प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्ने सहमति बनेको हो ? 


–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव माओवादी केन्द्र, हाम्रो दल नेपाली कांग्रेस र एमालेकै माधवकुमार नेपाल पक्षका कारण असफल भएको छ । तर गठबन्धन बनाएर अघि बढ्नेबारे नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षबीच औपचारिक सहमति र सम्झौता भइसकेको छैन । 


० कर्णालीमा तपाईंहरूबीच भएको मिलापलाई कसरी बुझ्ने ?


–नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव पक्षबीच केपी ओलीबारे साझा बुझाइ छ । त्यसैले कतिपयले कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध दर्ता अविश्वास प्रस्ताव असफल पार्न तीन शक्तिबीच भएको मिलापलाई बृहत् गठबन्धनका रूपमा बुझेका छन् । तर अहिलेसम्म देशव्यापी गठबन्धन बनाउनेबारे कुनै सहमति, सम्झौता भइसकेको छैन । कर्णालीका साथीहरूले त्यहाँको आवश्यकताअनुसार शाही सरकारको पक्षमा आफूलाई उभ्याउनु भएको हो । 


० कतिपय प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आइसकेको छ भने केहीमा आउने अवस्था छ । अन्य प्रदेश सरकारको हकमा कांग्रेसको भूमिका के हुन्छ ?   


–सबै प्रदेशमा एउटै नीतिले काम गर्दैन । केपी ओलीको लिगेसीबाहेक अरूसँग एलाइन्स गर्ने हाम्रो मनसाय हो । 


० कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल पक्षबीच गठबन्धन निर्माण गर्ने आधार त कर्णालीको घटनाले निर्माण गरिदियो भनिन्छ नि ?


–तीन वटा शक्ति मिलेर केपी ओलीको विकल्प खोज्न जरुरी छ । त्यसका लागि एउटा आधारचाहिँ कर्णाली प्रदेश सरकारविरुद्ध आएको अविश्वासको प्रस्ताव र त्यसपछिको घटनाक्रमले सिर्जना गरिदिएको छ । 


० ओली विस्थापनका लागि अब दलहरूबीच हुने सहमतिको आधार के हुनसक्ला ? 


–अन्य दलसँग मिलेर केपी ओली सरकारलाई हटाउने र कांग्रेसकै नेतृत्वमा सरकार निर्माणका लागि पहलकदमी उठाउने निर्णय गरिसकेको छ । 


० संसद्भित्रको गणित हेर्दा सरकार विस्थापित गरेर नयाँ बनाउन कांग्रेस र माओवादीले जसपालाई विश्वासमा लिनैपर्ने देखिन्छ । तर जसपाको झुकाव केपी ओलीतिर बढी देखिन्छ । यस्तो अवस्थामा कसरी कांग्रेसको नेतृत्वमा सरकार निर्माण सम्भव होला ? 


–हो, कांग्रेस, माओवादी केन्द्र र जसपा एकातिर हुँदामात्र ओली सरकार विस्थापित गरेर नयाँ निर्माण गर्न सकिन्छ । यदि जसपाले केपी ओलीलाई नै स्वीकार्ने हो भने सरकार परिवर्तन सम्भव हुँदैन । जसपाले जसले आफ्ना एजेन्डा पूरा गर्छ उसैसँग मिल्ने भन्नु भएको छ । केपी ओलीले आश्वासन दिएकाले उहाँहरूको बढी झुकाव त्यतैतिर देखिन्छ ।

 

संसद्मा दुई तिहाइ हुँदा संविधान संशोधनमा कहिल्यै चासो नदेखाउने ओलीप्रति उहाँहरू एकाएक कसरी उदार हुनु भयो ? मैले बुझ्न सकेको छैन । जसपाले यो तथ्य बुझ्नुपर्छ । यदि जसपाले कांग्रेस र माओवादी केन्द्रलाई समर्थन गरेन भने वर्तमान सरकारको विकल्प खोज्ने प्रक्रिया सार्थक हुँदैन । 


० जसपाले सरकारको नेतृत्व माग्यो भने दिन तयार हुनुहुन्छ ? 


–जसपाको नेतृत्वमा सरकार गठनबारे छलफल गर्न सकिन्छ ।


० तपाईंहरू ओलीको विकल्प खोज्ने पनि भन्नुहुन्छ । अनि अविश्वासको प्रस्ताव दर्ता गर्न पनि आनाकानी गर्नुहुन्छ । खुट्टा कमाएर खोलो तरिन्छ ? 


–नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराउँदा सँगै वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार खडा गर्नुपर्ने हुन्छ । त्यस्तो परिस्थिति निर्माण हुँदा संसद्भित्र कांग्रेस एक्लैले सरकार बनाउन सक्दैन । माओवादी केन्द्र र जसपालाई साथ लिनुपर्छ । साथ नलिई, सल्लाहबिना प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा एक्लौटी अघि बढेको भनेर झनै माहोल बिग्रने खतरा हुन्छ । त्यसैले अविश्वासको प्रस्ताव पेश गर्न नेपाली कांग्रेस अग्रसर नभएको हो । 


० प्रधानमन्त्रीले संसद् विघटन गर्नसक्ने खतराका कारण पनि तपाईंहरू बढी नै भयग्रस्त बनेको विश्लेषण गरिन्छ नि ? 


–माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ केपी ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत लिन नसकेमा फेरि संसद् भंग गरेर चुनावी सरकारका प्रधानमन्त्री बन्नेछन् । जसपाको एउटा समूह अनिर्णित रहेकाले यो खतरा छ ।

 

त्यसैले माओवादीले केपी ओलीलाई हटाउन चाहँदा चाहँदै पनि समर्थन फिर्ता लिन सकेको छैन । हामीले चाहेर पनि केपी ओलीलाई अविश्वासको प्रस्ताव पेश गर्न सकेका छैनौं । किनभने, अविश्वासको प्रस्ताव फेल भएमा पुनः लैजान पाइँदैन । जसले गर्दा केपी ओली चुनावी सरकारका प्रधानमन्त्री हुन्छन् । 


० नयाँ सरकार गठन निम्ति जसपा मात्र नभएर तपाईंहरूको पनि दोष छ भनिन्छ नि ? 


–कांग्रेस पार्टीले यो सरकारको विकल्पका लागि जस्तोसुकै कदम चाल्न तयार छ भनेर संस्थागत निर्णय गरिसकेको छ । माओवादीले संस्थागत ढंगबाट कांग्रेसले अविश्वासको प्रस्ताव ल्याए समर्थन गर्छाैं भनेको छैन । जसपा त झन् प्रधानमन्त्री नै हाम्रा माग पूरा गर्न सकारात्मक छन् भनिरहेको छ ।

 

माग पूरा गरेको खण्डमा प्रधानमन्त्रीलाई समर्थन गर्ने उसको प्रष्ट भनाइ छ । सरकारको विकल्पबारे छलफल गर्न डाकिएको बैठकमा जसपाका नेताहरू उत्साहहीन देखिनुहुन्छ । अझ भनौं सरकार हटाउनेतिर उहाँहरूको फिटिक्कै रुचि छैन । जसपाको अरुचिबीच सरकारविरुद्ध अविश्वासको प्रस्ताव लिएर जाँदा फेल हुन्छ भनेर नै हामी हच्किएका हौं । यसमा हाम्रो कुनै दोष छैन । 


० जसपाबाट बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनाउने प्रस्ताव आएको हो ?


–कहाँबाट आयो यो कुरा हामीलाई जानकारी छैन । तर हामी भट्टराईको नेतृत्वको विषयमा पनि छलफल गर्न चाहन्छौं । जसपा पार्टीले हाम्रा नेता डा. बावुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन चाहन्छौं, तपाईंहरूको समर्थन चाहियो भनेर संस्थागत निर्णय गर्छ भने हामी त्यो विषयमा छलफल गर्न तयार छौं । हामी ओलीको विकल्पका लागि जुनसुकै विकल्पमा पनि छलफल गर्न चाहन्छौं ।


० केपी विस्थापनका लागि जस्तो सुकै विकल्प रोज्न पनि तपाईंहरू आतुर हुनुहुन्छ उसो भए ? 


–राजनीति नैतिकताको विषयभन्दा अलग हुन सक्दैन । राजनीति कानुनी विषयभन्दा अलग हुन सक्दैन । अब अहिलेको प्रधानमन्त्रीको जस्तो सोच, व्यवहार र दम्भले यो देश समृद्ध बन्दैन । एउटा प्रहरीको गोलीले एक जना नागरिक मर्छ तर त्यहाँ गृहमन्त्री त उपस्थित हुदैन नि । तर एउटा नागरिकको हत्या कारणले त्यहाँ गृहमन्त्रीले राजीनामा दिन्छ । रगंशालामा खेल हेर्न नागरिकहरू ठेलमठेल गरेर भित्र पस्छन्, गेट सानो भएर मानिसको भीडले कसैको मृत्यु हुन्छ ।

 

त्यसमा खेलकुद मन्त्रीको के दोष ? तैपनि नैतिकताको आधारमा राजीनामा दिन्छन् । नेपालमा अहिलेजस्तो नैतिकता कहिल्यै पनि संकटमा परेको थिएन । त्यसैले आजका दिनमा राजनीतिमा नैतिकता र संविधानमा स्थिरता छ भनेर देखाउनका लागि संसद् विघटनको विषय गैरकानुनी थियो भनेर अदालतले विघटन वदर गरिदिएपछि यो संसद् तोकिएको अवधिसम्म चलाउनका लागि यो सरकारको विकल्प खोजिएको हो ।


० प्रसंग बदलौं । तोकिएकै समयमा कांग्रेस महाधिवेशन होला ? 


–आन्तरिक लोकतन्त्र र पार्टीलाई संस्थागत बनाउन कम्युनिस्ट पार्टीभन्दा नेपाली कांग्रेस अगाडि नै छ । नराम्रो भित्रको सबैभन्दा राम्रो हामी नै हौं । तर यसो भन्दैमा हामीभित्र आन्तरिक लोकतन्त्रलाई शत प्रतिशत मानिएको छ त ? छैन । व्यवस्था र विधिमा हिँड्न शत प्रतिशत सकिएको छैन । फरक मतलाई स्वीकारेर  सम्मान गर्ने व्यवहार हामीभित्र पनि छैन । बहु विचारलाई कांग्रेस पार्टीभित्र सम्मान छ कि छैन भनेर प्रश्न गर्दा छ भनेर भन्न सक्ने अवस्था छैन । त्यसैले हामी कांग्रेस पार्टीभित्र खुल्ला ढंगले विचारको छलफल गर्नुपर्छ भनेर लागिरहेका छौं । कांग्रेस विधि र पद्धतिबाट पार्टी चल्नुपर्छ भनिरहेका छौं ।

 

नेतृत्वलाई आदर गर्ने तर नेतृत्वलाई विधि र विधानभन्दा माथि नराख्ने विधि र प्रक्रिया उल्लंघन गर्न नदिने व्यवस्थाका लागि हामीले काम गर्न खोजेका छौं । हामीभित्र थुप्रै कमी–कमजोरीहरू छन् ।  थुप्रै कुराहरू सच्याउनुपर्नेछ । युवा भन्दैमा मैले सबै सेवा सुविधा लिन खोज्नु हुँदैन । पार्टीभित्रका नीति नियम लागू गर्ने सन्र्दभमा युवाको नाताले अहं भूमिका खेल्नुपर्दछ । मेरो कमिटमेन्ट अरूले पत्याउने खालको हुनुपर्दछ । नेपाली कांग्रेस देशको नेतृत्व गर्ने पार्टी हो ।

 

आफूले पार्टी चलाउँदा पार्टी भद्रगोल बनाउने, विधि र व्यवस्थालाई नमान्ने प्र्रवृतिले भोलि देश चलाउँदा त्यसको प्रतिछाया समग्र सरकार र राज्यको काम–कारबाहीमा पर्नसक्छ । पार्टीभित्रको स्वेच्छाचारी प्रवृति बोकेर देश चलाउन जाँदा  दुर्घटनामा पर्न सकिन्छ । त्यसैले पहिला कांग्रेसले आफूभित्रको फोहोर सफा गर्नुपर्दछ । आफूलाई सच्याउनुपर्दछ । 


० कांग्रेसभित्रको क्रियाशील सदस्यताको नवीकरण र नयाँ वितरणको मुख्य समस्या के हो ?


–नेपाली कांग्रेसको विधानमा हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर हामीले त्यो विधान र व्यवस्थालाई खारेज गरेर महाधिवेशन हुने वर्ष गर्ने व्यवस्था ल्याएका छौं । जुन सरासर गलत हो । यसले पार्टीभित्रको चुनावलाई भयरहित र निष्पक्ष बनाउन सक्दैन । यहाँ कस्तो देखियो भने नेतृत्वले हतार–हतार आफैं आफ्ना मान्छेलाई सदस्यता वितरण गर्ने अनि चुनाव गराउने । अनि आफैं फेरि नेतृत्वमा पुग्ने  । त्यसलाई हामीले रोक्नु पर्छ । १४ औं महाधिवेशनमा हामी यो गर्न सक्दनौं । किनभने यसपटक हामीसँग समयको अभाव छ ।

 

यो महाधिवेशनमा हामीले यस्ता प्रवृत्ति रोक्न नसके पनि आगामी महाधिवेशनसम्म रोक्छौं । अर्काे भनेको क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि हामीले पार्टी अफिसमा अपडेट गराइरहेका छौं । जिल्लामा फोन गरेर चाँडै ल्याउनु भनेका छौं । हामी यो समस्या हल गर्ने प्रयासमा छौं । आगामी वर्षहरूमा नवीकरण गरेर सदस्यता वितरण गर्नेछौं । तर निर्वाचन हुने वर्ष हामीले सदस्यता वितरण पनि गर्दनांंै र नविकरण पनि गर्दैनांै ।


 ० २०७८ भदौमा १४ औं महाधिवेशन गर्ने अन्तिम समय हो । तर, सदस्यता टुंगिने छाँट छैन । यस्तोमा कस्तो विकल्प अपनाउँछ पार्टीले ?


–भदौमा हामीले महाधिवेशन गरेनौं भने अब कांग्रेसको वैधानिकता भगवान्ले पनि जोगाउन सक्दैनन् । त्यसैले भदौ १९ गतेसम्म हामीले जसरी पनि अधिवेशन गर्नुछ । समथ थोरै तर काम धेरै छ । यसका लागि रातभरि नसुतेर पनि काम गर्नुपर्नेछ । यो समयको परिधिमा अधिवेशन गर्नुभन्दा अरू विकल्प हामीसँग छैन । 


० यसअघि तपाईं संलग्न कृष्णप्रसाद सिटौलाको तेस्रो समूह छिन्नभिन्न बनेको हो ? 


–आवश्यकताको सिद्धान्तअनुसार हिजो हामी अघि बढेका थियौं । तर अब कांग्रेसमा गुटबन्दीको कुनै अर्थ छैन । 


० आगामी महाधिवेशनमा तपाईंलाई पार्टी पदाधिकारीको उम्मेदवारका रूपमा देख्न सकिन्छ कि सकिँदैन ? 


–पदाधिकारीमा नउठ्ने भन्ने कुरै छैन । 

(साँघु साप्ताहिक, २०७८ वैशाख ६ गते )

प्रतिकृया दिनुहोस