• शनिबार-बैशाख-८-२०८१

सरकार नै महामारी नियन्त्रणमा गैरजिम्मेवार बन्याे 

 


काठमाडाैं । कोभिड-१९ महामारीको दोस्रो लहर शुरु भएको  छ ।  सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरेको छ ।   कोरोना संक्रमण बढेपछि सरकारले शहरी क्षेत्रका स्कूलहरु बन्द गराएको छ भने सभा–सम्मेलन, जात्रालगायत भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । मन्त्रिपरिषदले सोमबार गरेको निर्णयमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा पनि २०७८  वैशाख मसान्तसम्म नित्य पूजा मात्र गर्ने/गराउने उल्लेख छ । तर प्रधानमन्त्री र मन्त्रीहरु नै मन्त्रिपरिषद्को निर्णय उल्लंघनमा अग्रसर देखिएका छन् ।  


 २०७८ वैशाख ६ गते  सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा माडी अयोध्याधाम, चितवनमा स्थापना गर्न राम–सीताका मूर्ति हस्तान्तरण गर्न धार्मिक अनुष्ठान गरे । राम, सीता, लक्ष्मण र हनुमानसहितका मूर्तिहरु रथमा राखेर लावालस्करसहित मंगलबार राति देवघाट पठाए । चितवनको यात्रा शुरु हुनुअघि बालुवाटारमा जम्मा भएको ‘असंवेदनशील भीड’ले एक दिनअघि मन्त्रिपरिषदले गरेको निर्णयलाई खुल्ला रुपमा अवज्ञा गरिरहेको थियो । किनकि, यात्रामा सहभागी हुन त्यहाँ जम्मा भएका सहभागीले सामाजिक दूरीको नियम पालना गरिरहेका थिएनन् ।


   वृद्धवृद्धा र गुरुकुलमा अध्ययनरत विद्यार्थी भजनकीर्तन गर्दै त्यहाँ सहभागी भएका थिए । २०७८ वैशाख ८ गते  बुधबार चैते दशैंको अवसर पारेर राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना कार्यक्रममा हजारौं मानिस सहभागी थिए । माडीको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, वागमती प्रदेशका मुख्यमन्त्री, वागमती प्रदेशका प्रमुख, प्रदेश नंं. २ का प्रमुख, सांसद, नगर प्रमुखहरुको समेत सहभागिता थियो । कार्यक्रममा सहभागी हुन आसपासका जिल्लाहरुबाट समेत मानिसहरु माडी आएका थिए । 


  बाजागाजा, नाचगानसहित भएको कार्यक्रममा हजारौं सहभागी भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सम्भव थिएन । अझै अनौठो त के भने मूर्ति स्थापना कार्यक्रमको अतिथि थिए, जो कोरोना महामारीको पहिलो लहर रहँदा स्वास्थ्यमन्त्री रहेका संस्कृति मन्त्री ढकाल । कार्यक्रमलाई सम्बोधन गरेका ढकालले धार्मिक कुरा मात्रै गरे ।

 

कोरोना महामारीलाई गिज्याउने हजारौंको भीड अगाडि उभिएर भाषण गरेका मन्त्री ढकालले जनस्वास्थ्यसम्बन्धी चेतना बाँड्ने जाँगर भने चलाएनन् । भाइरसले विश्व नै तहसनहस पारिरहेको बेला सर्वोच्च अदालत जात्रा गर्न आदेश जारी गर्ने, शिक्षा मन्त्रालयले स्कूल बन्द गर्न नदिने, पर्यटन मन्त्री मूर्ति र्यालीको अगुवाई गर्दै हिंड्ने कामले महामारी भुसको आगो झैं सल्किने छ । 


  भीडभाडमा फरक समुदाय र परिवारका मानिस सहभागी हुने भएकाले पनि भाइरसको संक्रमण फरक समुदाय र परिवारसम्म तीव्र रुपमा विस्तार हुने छ । भीडबाट नै संक्रमण नफैलिएको समुदाय र परिवारमा भाइरस विस्तार हुनसक्ने भएकाले छोटो समयमा धेरै ‘कोरोना हटस्पट’ हरु बन्ने  छ । भौतिक दूरी र मास्कको प्रयोग नगर्दा महामारी फैलिने गति अत्यन्तै तीव्र हुन्छ र फरक समुदायमा विस्तार हुन्छ ।


  चैतको पहिलो साता स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार सीसीएमसीमा प्रतिबन्धात्मक व्यवस्थाको विषयमा छलफल चल्दै गर्दा भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्यो । सर्वोच्चको आदेशपछि जात्रा, पर्व मनाउँदा महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी)को बैठकले जात्रा सञ्चालनलाई औपचारिकतामा मात्रै सीमित गर्ने गरेको निर्णय निर्णयमै सीमित भयो ।


  त्यसैगरी मन्त्रिपरिषदले निर्णय गरेको भोलिपल्टै मछिन्द्रनाथको रथ तान्ने जात्रामा पनि मानिसको उल्लेख्य सहभागी थियो । २५ जनाभन्दा बढी भेला नहुनु भनेको भोलिपल्ट बालुवाटारमा कार्यक्रम गर्न हजारौं जम्मा पार्ने गैरजिम्मेवार व्यवहारले जनतालाई अन्योलमा पारेको छ । संक्रमण तीव्र गतिमा फैलिइरहेको र बालबालिकामा संक्रमण व्यापक भेटिएको छ ।
-विष्णु घिमिरे 

प्रतिकृया दिनुहोस