काठमाडौं, २०७४ माघ २१ गते । डेरा भाडामा लिएर बसिएको ठाउँ छाड्दा हिसाब किताबलगायतका दायित्व पूरा गरेर बाटो लागिन्छ । कथंकदाचित दायित्व पूरा नगरेको खण्डमा जो कोही सजायको भागिदार हुन्छ । तर व्यवस्था र कुशासनविरुद्ध १० वर्षसम्म ‘क्रान्ति’ गरेका र मन्त्रीसमेत बनेका माओवादी नेताहरु सामान्य प्रक्रियासमेत पूरा नगरी सरकारी सम्पत्ति छाडेर बाटो लागेका छन् ।
प्रसंग माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले मन्त्री क्वार्टर छाड्दाको हो । फेरि मन्त्री हुने लालसाले हो या के हो, शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागी भएर एक महिनाअघि बाहिरिएका माओवादी मन्त्री पुल्चोकस्थित मन्त्री क्वार्टरको साँचो आफैंसंग लिएर बाटो लागेका छन् ।
मन्त्रीहरुले क्वार्टर छाड्दा त्यहा“का सामान बुझबुझारथ गर्नुपर्ने नियम छ । अधिकांश मन्त्रीले भूतपूर्व हुनेवित्तिकै प्रक्रिया पूरा गरेर क्वार्टरबाट बाहिरिने गरेका छन् । तर माओवादीबाट मन्त्री बनेका एकबाहेक सबै मन्त्री साँचो अँठ्याएर हिंडेका छन् ।
ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरको व्यवस्थापन गर्दै आइरहेको भवन सम्भार डिभिजन कार्यालयका अनुसार सुरुमा स्वास्थ्य मन्त्रालय सम्हालेका र पछि विनाविभागीय बनेका गिरिराजमणि पोखरेलबाहेक कुनै पनि माओवादी मन्त्रीले क्वार्टर छाड्दा प्रक्रिया पूरा गरेका छैनन् । उदेक लाग्दो कुरा त के छ भने प्रक्रिया पूरा नगरेर अर्घेल्याइं गरेका मन्त्रीले साँचो समेत आफैंसंग लिएर हिंडेका छन् ।
देउवा नेतृत्वको सरकारमा माओवादीबाट ९ मन्त्री र ७ राज्यमन्त्री सहभागी थिए । यीमध्ये सबै पुल्चोकस्थित सरकारी सुविधाको मन्त्री क्वार्टरमा बसेका थिए । तर, यहाँबाट केही दिनअघि मात्रै बाटो लागेका कुनै पनि मन्त्रीले सामान्य जिम्मेवारीसमेत पूरा गरेका छैनन् ।
भवन सम्भार डिभिजन कार्यालय, पुल्चोक शाखाका इन्जिनियर गोविन्द थापाले माओवादी मन्त्री सबैले क्वार्टर छाडे पनि सामान बुझबुझारथ नगरी हिंडेको र साँचो समेत आफैंसंग लगेको बताए । उनका अनुसार, भवन सम्भार डिभिजन कार्यालयले पनि माओवादी मन्त्रीको राजीनामा स्वीकृत भइनसकेकाले यसमा चासो दिएको छैन । इन्जिनियर थापाले यही कारण प्रक्रिया पूरा नगरी मन्त्रीहरु बाटो लागे पनि कसैलाई ताकेता नगरेको जानकारी दिए ।
‘माओवादीतर्फबाट वर्तमान सरकारमा सहभागी हुनुभएका सबैले मन्त्री क्वार्टर छाड्नु भए पनि गिरिराजमणि पोखरेलबाहेक कसैले पनि सामान बुझबुझारथ र साँचो हस्तान्तरण गर्नुभएको छैन,’ डिभिजन कार्यालयका इन्जिनियर थापाले साँघुसंग भने, ‘माओवादी मन्त्रीका राजीनामा अझै पनि स्वीकृत नभएकाले हामीले ताकेता गरेका छैनौं ।’



