काठमाडौं । नेपाली क्रिकेटको क्षेत्र धेरै ठूलो छैन । राष्ट्रियस्तरका दुई चार जना खेलाडीहरूकै भरमा चलेको छ । यस्तो लाग्छ नेपाल क्रिकेट संघ (क्यान) भन्दा बलिया खेलाडी पो रहेका छन् । अझ कप्तानसँगै एक दुई खेलाडी मिल्ने हो भने त सबै मुठ्ठीभित्रै भएजस्तो लाग्ने । नलागोहोस् पनि कसरी । क्यान निलम्बनमा परेका बेलामा खेलाडी छनोट गर्ने जिम्मा त कप्तानले पाउने थिए नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले पठाउने पैसासमेत खेलाडीकै खातामा आइपुग्थ्यो ।
सम्भवतः यही कारण हुन सक्छ खेलाडीहरू बलिया भएका । त्यसैले होला आइसीसीले क्यानको निलम्बन फुकुवा गर्नासाथ तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएको । मतलब के भने उनले नै क्यानलाई निलम्बनमा पार्नका लागि कदम चालेजस्तो बुझ्न सकिन्छ । उनले आफूलाई क्यानभन्दा माथि राखेर पो हो कि ?
उनकै कप्तानीमा लामो समय उपकप्तान रहेका ज्ञानेन्द्र मल्लले अहिले कप्तानी सम्मालिरहेका छन् । तर उनलाई हरेक काममा सघाउने पारस नै हुन्छन् । खेलाडीहरू भन्छन्–पारसले कप्तानी छाडेर सामान्य खेलाडीसरह भए पनि पुरानो बानी भने छाडेका छैनन् । झन् शक्तिशाली पो हुँदै आएका छन् ।
यही स्थिति रहेकाले गर्दा अहिले फ्रेन्चाइज क्रिकेटमा समेत समस्या भइरहेकोे गुनासो सुनिन्छ । खेलाडीहरूले डिमान्ड बढी गरिदिने र खेल्न जान्न भनेर घुर्की गर्न थालेसँगै फ्रेन्चाइज क्रिकेट अब ‘फ्रेन्चफ्राइ’ जस्तै बन्न थालेको क्रिकेट संघका एक पदाधिकारीले गुनासो सुनाए । उनले भने, ‘हामीले कोभिडपछि क्रिकेटलाई जगाउनका लागि प्रयास ग¥यौं । आफै ढलेको निजी क्षेत्रबाट मद्दत माग्यौं । टुर्नामेन्ट त भए तर खेलाडीहरू यस्तो बेलामा पनि भाउ खोज्छन् ।’
विभिन्न धनाढ्यहरूले लगानी गरेर बढाबढमा खेलाडी किन्ने भएकाले पनि यसले खेलाडीलाई व्यवसायिक बनाउँछ । दर्शकलाई पनि आकर्षित गर्छ । अनि लगानीकर्ता पनि हौसिन्छन् । तर यहाँ त खेलाडीलाई लखपति बनाउन खोज्यो कि आफूले भन्दा बढी त उसैले कमाइखान्छ भनेर त्यस्तो हुन नदिने परिपाटी बढेको छ ।
एक सिनियर पूर्व क्रिकेट खेलाडीले भने, ‘हाम्रा पालामा फ्रेन्चफ्राइ पनि थेन, फ्रेन्चाइज पनि थेन । मुस्किलले वर्षमा एक दुई वटा प्रतियोगिता हुन्थे । तिनै पनि ठूलो लाग्थ्यो । अहिले त पैसा छ स्तर छैन ।’ उनले केही दिनको रमाइलोका लागि लगानी गर्नेहरूले दीर्घकालीन लगानी गर्ने हो भने मात्र क्रिकेटको विकास हुने बताउँछन् ।
विगत सम्झदै उनले भने, ‘हामी टुँडिखेलमा क्रिकेट खेल्थ्यौंं, पछि त्यहीँ खेलायौं । अहिले खेलाडीले राम्रो राम्रो मैदानमा खेल्न पाउँछन् । केही न केही लगानी छ । तर खेल्न जान प¥यो कि ठूलै भाउ खोज्न थाल्ने परिपाटी गलत भयो ।’
नेपालमा शुरुमा भएको फ्रेन्चाइज प्रतियोगिता क्रिकेटकै हो । तर खेलाडीहरूका कारण यो प्रतियोगिता धरापमा छ । खेलाडीमा अनुशासन भएन भने क्यानले कार्वाही गर्न सक्छ । तर क्यान आफै यस्तो नालायक भयो कि उसलाई कार्वाही गर्ने निकाय फेरि आइसीसी हुन सक्छ ।
राष्ट्रिय खेलकुद परिषदका एक वरिष्ठ अधिकृतले भने, ‘नाम मात्र क्यान हो, धेरै जसो ‘क्यान नट’ हो । आफूहरूले बोलाउँदा पनि क्यानका पदाधिकारी आउनका लागि आइतबार कुर्छन् । अनि कसरी चल्छ क्रिकेट ?’क्यानले केही नगरिदिँदा पनि समस्या बढेको छ । उसले पूरा गर्नुपर्ने आफ्नो कर्तव्य पूरा नगरेकाले फेरि पो आइसीसीको निलम्बनमा पर्न सक्ने आशंका उनको छ ।
पहिलो पटक ‘फ्रेन्चाइज फुटबल’ काठमाडौंमा हुँदैछ । यसले राम्रो सन्देश दिन सक्यो भने क्रिकेटलाई पनि असर पर्नेछ । तर क्यानका पदाधिकारीलाई यसको एक रत्ति पनि मतलव र चिन्ता नभएको पूर्व राष्ट्रिय टिमका एक कप्तानले भने । उनले भने, ‘तपाई नामै कोट गरे पनि फरक त पर्दैन तर किन दुस्मनी मोलौं भनेर मात्रै हो अहिलेको क्यानको टिम सबैभन्दा कमजोर । केही पनि नबुझ्ने । यसरी कसरी चल्छ हँ ?†



