• शुक्रबार-चैत-१६-२०८०

राखेपलाई गुटगत राजनीतिको पिरलो !

 

काठमाडौं । अहिले खेलकुद क्षेत्र गुटगत राजनीतिक चपेटामा परेको खेलाडीहरूको गुनासो सुनिन्छ । राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्डदेखि शुरु भएको गुटगत राजनीति प्रदेशमा पनि उत्तिकै देखियो । राखेपले गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पनि प्रदेशको आन्तरिक किचलो ठाउँठाउँमा देखिन्थ्यो । गुटगत राजनीति यसअघि पनि नभएको त होइन । तर यसपालि बढी नै उत्ताउलो बनेर देखिएको सात वटै प्रदेशमा लगभग देखिएका राखेपका एक प्रतिनिधिले बताए । 


उनले भने, ‘हामी त सिकाउन गएको हो तर आरोप–प्रत्यारोप रमाइलो हुँदो रहेछ ।’ उनले धेरै कुरा खोल्न चाहेनन् । भने, ‘आफू त प्राविधिक परियो । राजनीतिक धेरै थाहा भएन । तर एकले अर्कोलाई घोचपेच गर्दा रहेछन् ।’ हरेक प्रदेशमा आफ्ना आफ्ना समस्या छन् । तर यति धेरै आक्रामक भने पहिले कमै हुने गरेको थियो । अहिले नेकपाको फुट तात्तातो छ । यसले पनि बढी नै आरोप प्रत्यारोप चलेको हुन सक्ने राखेपका एक वरिष्ठ कर्मचारीले बताए । उनले भने, ‘यस्तो भने चलिरहन्छ । राजनीतिक नियुक्तिबाटै आएपछि हुने यही हो । तर अहिले अलि बेसी बनाइएको छ ।’


खेलकुद परिषद्को केन्द्रीय बोर्डमा समेत पनि त्यो असर देखिएको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल जाने कार्यक्रममा उपाध्यक्ष शिव कोइराला जान नमान्ने र कोइराला जाने निश्चित भइसकेको कार्यक्रममा सिलवालले त्यो दिनलाई अलि फुर्सद भएन अर्को कार्यक्रम फिक्स भइसक्यो भनिदिने गरेका छन् । 


एक सक्रिय संघका पदाधिकारीले साँघुसँग भने, ‘हामी त पदका हिसाबले सम्मान गर्न बोलाउने हो । आउने नआउने उहाँहरूको कुरा । तर एक जाँदा अर्को नजाने हुँदोरहेछ ।’ त्यसको असर कर्मचारीहरूमा पनि पर्न थालेको छ । कर्मचारीहरू पनि कुन पार्टी र समूहको भन्ने चिन्निइसकेकाले पनि अप्ठेरो हुने राखेपका एक कर्मचारीले बताए । 


उनले भने, ‘खासै त्यस्तो असजिलो हुने गरी त बाहिर आइसकेका छैनन् तर गुटगत छलफलमा बस्ने चाहिँ गरेको पाएको छु ।’ उनका अनुसार कांग्रेस र नेकपा भन्ने पहिले नै छुट्टिएका कर्मचारी छन् । तर नेकपाभित्र ओली समूह र प्रचण्ड–माधव समूह भनेर छुट्टिएका छैनन् । ओली समूहका कर्मचारीहरू केही सक्रिय देखिएका छन् भने माधव नेपाल समूहका भनेर खुलेका छैनन् । केही प्रचण्ड निकटका कर्मचारीहरू पहिलेदेखि नै चिनिएका छन् । 


हुनत खेलाडीहरू पनि कुन समूहका भनेर तान्ने प्रयास भएको छ । तर खेलाडी भन्दा पनि प्रशिक्षक र व्यवस्थापक भने आफ्नो राय दिने खालका भएकाले त्यो र यो भनेर हिँड्ने गरेका छन् । एक प्रशिक्षकले सुनाए, ‘जायज कुरा सदस्यसचिव ज्यूसँग राख्यो भने यो त अर्को गुटको रहेछ भनेर व्याख्या गर्ने चलन पाएँ । खेलकुदमा अनुशासन हुन्छ । मनमा लागेका कुरा गर्न त पाउनु पर्यो नि । हामीलाई यो गुट र त्यो गुट भनेर हिँड्नु छैन । हिँडाउने प्रयास गरिएको छ ।’


कोरोना भाइरसको महामारीपछि खेलकुद क्षेत्र शिथिल भएको छ । त्यसमाथि पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रमले खेलकुद क्षेत्रलाई अझ प्रभावित पारिरहेको त हैन ? खेलाडीहरू यस्तै प्रश्न गरिरहेछन् । 

प्रतिकृया दिनुहोस