• बुधबार-बैशाख-१२-२०८१

नख्खु कारागारभित्रको लुटतन्त्र हेर्ने कोही छ ?

 

  काठमाडौं । “अपराधीलाई सभ्य, सुसंस्कृत, उत्पादनशील र कानुनको पालना एवं सम्मान गर्ने  नागरिकमा रूपान्तरण गरेर समाजमा पुनस्र्थापित र पुनःएकीकरण गर्दै सुरक्षित र समुन्नत समाजको निर्माण गर्ने बृहत्तर राष्ट्रिय उद्देश्यको परिपूर्ति गर्ने काममा आइपर्ने चुनौतीहरूको सामना गर्न सहयोग पु¥याउन सक्षम र मानवोचित वातावरणमा व्यवस्थित कारागार प्रणालीको स्थापना गर्ने ।’’ कारागार व्यवस्थापन विभागले अघि सारेको दीर्घकालीन दृष्टिकोण हो, माथिका हरफ । 


झट्ट पढ्दा र सुन्दा निकै अग्रगामी र आकर्षक लाग्छ, कारागार व्यवस्थापन विभागको दीर्घकालीन दृष्टिकोण । दृष्टिकोण निकै अब्बल भए पनि राज्यको कारागार व्यवस्थापनसँग भने ठ्याम्मै मेल खाएको देखिँदैन । त्यसका लागि टाढा जानु पर्दैन, झण्डै १५०० कैदीबन्दी राखिएको राजधानीको नख्खु कारागार हेरे पुग्छ । जुन लामो समयदेखि कुलत र बेथितिको अखडा बन्दै गएको छ । 


जेलभित्रै जुवातास र बाजी 
जेल अपराधको सजाय दिने थलो मात्र नभएर सुधारगृह पनि हो । विश्वका धेरै मुलुक यो अवधारणामा अघि बढेका छन् । तर देशकै ठूलोमध्येको एक नख्खु कारागार भने सुधारगृहजस्तो नभएर क्यासिनोजस्तो छ । जहाँ कारागारभित्रै नाइके र चौकीदारको अगुवाइमा जुवातास र बाजी खेलाइने गरेको छ । 


राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको एक अध्ययनका क्रममा नख्खु कारागारभित्र जुवातास र बाजी हुने गरेको भेटिएको हो । 


हालै उक्त जेलबाट छुटेका कैदीलाई उद्धृत गर्दै सतर्कताले आफ्नो प्रतिवेदनमा उल्लेख गरेअनुसार, नख्खु कारागारभित्र बाजी थापेर खेलिने खेल खेलाउने गरिएको छ । जसलाई कोड भाषामा हड्डी भन्ने गरिएको त्यहाँबाट कैद भुक्तान गरी बाहिरिएका एक कैदीले बताएका छन् । 


बाजीमा जित्नेले नाइकेलाई जितौरीसमेत दिनुपर्छ । त्यस्तो जितौरी २० प्रतिशत दिनुपर्ने नियम नख्खु कारागारभित्र छ । 


सतर्कताको प्रतिवेदनअनुसार, बाहिरको निगरानीले नदेख्ने र सीसीटीभी क्यामेराले समेत नदेख्ने ठाउँमा खेल खेलाइने गरेको छ ।


 यति मात्रै होइन, कतिपय कैदीहरूले लागूऔषधको समेत कारोबार गर्ने गरेको स्रोत बताउँछ । नाइके, चौकीदारसँगको मिलेमतोमा कतिपय कैदीबन्दीले लागूऔषधको कारोबार गर्ने गरेका हुन् । यसबारे सतर्कतामा समेत उजुरी परेको छ । तर सतर्कताले गहिरो अध्ययनबिनै कर्मचारीको सतही प्रतिक्रियाका भरमा विषयलाई बिट मारेको छ । ‘कतिपय कैदीबन्दीले लागूऔषधको समेत कारोबार गर्ने गरेका छन्,’ कारागार स्रोत भन्छ, ‘तर यसबारे राज्यका निकायमा गुनासो गर्दा गहिरो अनुसन्धान नगरी कर्मचारीको वयानकै भरमा यसलाई टुंग्याइएको छ ।’ 


तर नख्खु कारागार व्यवस्थापन भने यो कुरा मान्न तयार छैन । २४ घण्टा निगरानी हुने भएकाले यस्तो गतिविधि कारागारभित्र हुन नसक्ने उसको तर्क छ । 


गुणस्तरहीन खाना 
नख्खु कारागाराले नियमानुसार प्रति दिन प्रतिबन्दीलाई रु. ६०। नगद र ७०० ग्राम चामल दैनिक सिदाका रूपमा उपलब्ध गराउँदै आएको छ । कैदीबन्दी संख्याको आधारमा निकासा भएको बजेटबाट जाडो र गर्मीयामको कपडाका लागि नगदै उपलब्ध गराउने गरिएको छ । 


तर चामल गुणस्तरहीन उपलब्ध गराउने गरेको गुनासो कैदीबन्दीले गरेका छन् । कैदीबन्दीका अनुसार, कुहिएको, ढुंगा, माटो मिसिएको गुणस्तरहीन चामल सिदाका रुपमा दिने गरिएको छ । 


तर कारागार व्यवस्थापन भने दैनिक रूपमा खाने चामल सरकारी खाद्य तथा व्यापार कम्पनी लिमिटेडबाट सरकारी दररेटअनुसार गुणस्तर प्रमाणित गरेर ल्याउने गरेको बताउँछ । 


कारागारभित्रका पसलमा समेत खाद्य वस्तुको मूल्य बाहिरभन्दा निकै महँगो हुने गरेको गुनासो पनि कैदीबन्दीले गरेका छन् । मूल्यसूची राखिए पनि त्यसभन्दा बढी मूल्य लिएर खाद्य वस्तुहरू कैदीले बिक्री गर्ने गरिएको हो । 


कैदीहरूका अनुसार, कुखुराको मासु प्रतिकेजी ६५०। रूपैयाँ लिने गरिएको छ । जबकि, बाहिर बजारमा कुखुराको मासु प्रतिकेजी ३५०। रुपैयाँ मात्र छ । बाहिर ४० रुपैयाँ पर्ने १ जार पानी कारागारभित्र ७० रुपैयाँ पर्छ । १ कल फोनको १५ रुपैयाँ असुल्ने गरिएको छ ।  


पूर्वनाइकेको हालीमुहाली 
कारागारभित्रको व्यवस्थापनका लागि मुख्य नाइके, हस्पिटल नाइके, शिक्षक नाइके, रमन नाइके, मूलगेट नाइके र ठूलो बैदार गरी जिम्मेवारी बाँडफाँट गर्ने गरिएको छ । 
नख्खु कारागारको आधिकारिक नाइके शिव चौधरी हुन् । तर यसअघि नाइके भइसकेका ओमराज मगरले नै सबै काम गर्ने गरेका छन् । सतर्कताको प्रतिवेदनअनुसार, प्रशासनिक कामका लागि समेत उनी नै कार्यालय प्रशासन आउजाउ गर्ने गरेका छन् । 


आफन्तले दिएको पैसासमेत चौकीदार र नाइकेले खाइदिने गरेको गुनासो कैदीबन्दीले गर्ने छन् । थोरै थोरै खटाएर दिने र छुट्न लागेका बन्दीहरूको त्यसरी राखेको पैसा नै नदिने गरेको गुनासो त्यहाँबाट कैद भुक्तान गरेका एक कैदीले गरे । 


सतर्कताले पनि कारागार नियमावली, २०२० को नियम २४(१) बमोजिम प्रक्रियाबाट चौकीदार, नाइके र सहनाइकेको नियुक्ति गर्न सुझाएको छ । 


बोल्दैनन् राजनीतिक पृष्ठभूमिका बन्दी 
जेलभित्र कतिपय राजनीतिक पृष्ठभूमिका बन्दीहरू पनि छन् । अहिले नै हेमन्तप्रकाश ओलीलगायतका नेता पनि नख्खु कारागारमा छन् । देशको व्यवस्था नै परिवर्तन गर्ने लक्ष्य लिएका यिनै नेताहरू कारागारभित्रका यस्ता अनियमित काममा भने मौन रहने गरेका छन् ।  ‘नाइके र चौकीदारले उनीहरूसँग राम्रो सम्बन्ध बनाउने गरेकाले चौकीदारले गरेको अनियमितताबारे राजनीतिक पृष्ठभूमिका बन्दीले कुनै चासो राख्दैनन् । त्यसैले चौकीदार र नाइकेले सर्वसाधारण बन्दीलाई शोषण गर्ने गरेका छन्,’ सतर्कताको प्रतिवेदनमा एक कैदीले भनेका छन् । 


कारागार ऐन, २०१९मा फौजदारी मुद्दामा सजाय पाएका कैदीलाई आवश्यकताअनुसार एक्लै  अलग कोठामा राख्न सकिने व्यवस्था छ । त्यस्तै फौजदारी सजाय पाएका र श्रृंखलाबद्ध अपराधमा संलग्नलाई छुट्टै ब्लकमा राखी व्यवस्थापन गर्न भनिएको छ । तर नख्खु नख्खु कारागारले यो व्यवस्थालाई पनि कडाइका साथ पालना नगरेको पाइएको छ ।  


नख्खु कारागारबारे अध्ययन गरेको सतर्कताले चौकीदार, नाइके र सहनाइके कैद भुक्तान गरी छुटीसके पनि कारागार व्यवस्थापन सूचना प्रणालीमा कायम राखी २ वर्षसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था गर्न सुझाव दिएको छ । कारागारभित्र जमघट हुने स्थानमा सीसीटीभी जोडन, पारदर्शी ढंगले क्यान्टिन र पसल सञ्चालन गर्न, गम्भीर अपराधमा संलग्नलाई छुट्टै जेलको व्यवस्था गर्न पनि सतर्कताले भनेको छ । किनेर खान पाउने व्यवस्थाले धनी र गरीब कैदीबीच खाडल देखिएकाले यसमा पनि गम्भीर बन्न सतर्कताले भनेको छ ।


किन हुँदैन अध्ययन प्रतिवेदन कार्यान्वन ?
कारागारलाई व्यवस्थित गर्न पटक पटक अध्ययन भएका छन् । लोकतन्त्र स्थापनापछि मात्रै पटक पटक यस्ता अध्ययन भए । 


अधिकांश अध्ययन समितिले कारागारको अहिलेको अवस्था सुधार गर्न सुझाव दिएका छन् । तर कारागारको अवस्था भने अझै सुधार हुन सकेको छैन । कारागारलाई सजाय दिने थलोभन्दा माथि उठाएर सुधारगृह बनाउन अब बियालो गर्न हुँदैन । 

प्रतिकृया दिनुहोस