• शुक्रबार-चैत-१६-२०८०

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन


वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पु¥याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ । 

 

अमेरिकी सिनेटका एक वरिष्ट अधिकारीले कोभिड–१९ को प्याकेजमा न्यूनतम ज्यालाको विषय समेट्न उपयुक्त नभएको प्रतिक्रिया दिनु भएको छ जसलाई डेमोक्रेटिक पार्टीले आफ्नो प्रगतिशील अजेन्डाका रुपमा अघि सार्दै आएको थियो । 

 

राष्ट्रपति बाइडेनले कोभिडका कारण संकटमा परेको अमेरिकी अर्थतन्त्रलाई उकास्न करिब १९ खर्ब डलरको राहत प्याकेज अघि सार्नु भएको थियो । सिनेटमा रिपब्लीकन पार्टीका सदस्यहरुले राहत प्याकेजमा पूर्ण सहमति जनाएका थिएनन् । डेमोक्रेट पार्टीले विगतदेखि नै हालको राष्ट्रिय न्यूनतम ज्याला ७.२५ डलरलाई वृद्धि गरी १५ डलर बनाउन चाहेका छन् तर यस विषयलाई कोभिड राहतमा राख्ने वा नराख्ने भन्नेमा विवाद छ । 

 

अमेरिकी सिनेटमा देशमा दूरगामी असर पार्ने प्रस्तावहरु पारित गर्न ६० प्रतिशत मत आवश्यक पर्ने व्यवस्था गरिएकाले डेमोक्रेट पार्टीले विपक्षी रिपब्लीकनको सहयोग खोजिरहेको छ । एक सय सदस्यीय सिनेटमा हाल डेमोक्रेटसँग उपराष्ट्रपति सहित ५१ स्थान मात्र छ । 

 

राष्ट्रपति बाइडेन सिनेटमा सहमति जुट्न नसकेकामा निकै दुःखित हुनुभएको छ, किनभने अमेरिकी आर्थिक पुनरुद्धार योजनाकै एक भागका रुपमा ज्यालावृद्धिलाई समेटिएको थियो, ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले भन्नुभयो ।

 

बाइडेनले कंग्रेस समक्ष कोभिड राहत प्याकेजलाई जतिसक्दो चाँडो पारित गर्न आग्रह गर्नु भएको छ । यस प्रस्तावमा अधिकांश अमेरिकीलाई १४०० अमेरिकी डलर राहत दिने भनिएको छ । साथै, उक्त प्रस्तावमा कोरोनाभाइरसको महामारी नियन्त्रण र समाप्त गर्नेतर्फ मद्दत पु¥याउन खर्च गरिने उल्लेख छ । राहत प्याकेजमा हस्ताक्षर गर्नुअघि सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स दुबैले पारित गर्नु पर्दछ । 

 

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ज्यालावृद्धिलाई समेत समेटेर हाउसले विधेयक पारित गर्ने बताउनु भएको छ । पेलोसीले एक वक्तव्य जारी गर्दै डेमोक्रेट सांसदहरु न्यूनतम ज्यालावृद्धि आवश्यक रहेकामा विश्वस्त रहेको बताउनुभयो ।  

 

तर तल्लो सदनले विधेयक पारित गरे पनि सिनेटले त्यसलाई अनुमोदन गर्ने छैन । सिनेटर बर्नी स्यान्डर्सले सिनेटको रुलिङप्रति रोश प्रकट गर्नुभयो । उहाँले अधिकांश अमेरिकीले ज्यालावृद्धिलाई समर्थन गर्ने पनि बताउनुभयो । 

 

उहाँले सिनेटमा न्यूनतम ज्यालामा सहमति नहुने अवस्थामा बाइडेन प्रशासनले न्यूनतम १५ डलर ज्याला नदिने प्रमुख कर्पोरेसनलाई करछुट नदिने गरी प्रस्ताव ल्याउन आग्रह गर्नुभयो । (रासस/एएफपी)

प्रतिकृया दिनुहोस