• मंगलबार-बैशाख-४-२०८१

प्रचण्डले बनाए वामदेवलाई निराश 

काठमाडौं । ०७७ पुस ५ पछि दुई फ्याक बनेको नेकपा मिलाउन सो पार्टीका उपाध्यक्ष वामदेव गौतम सक्रिय  छन् । 


कुनै पनि समूहमा नखुलेर पार्टी एकीकृत गराउने अभियानमा  जुटेका गौतम सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएसँगै पुनः यसका लागि कस्सिएका छन्। 


प्रतिनिधिसभा विघटनको निर्णय स्वागत गरेका गौतमले एकता प्रयोजनका लागि भेटघाट तीव्र पारेका छन् । 



यही क्रममा बिहीबार बिहान खुमलटार पुगेर नेकपाका अध्यक्ष प्रचण्डलाई गौतमले भेटेका छन् । 


स्रोतका अनुसार, प्रचण्डसमक्ष प्रधानमन्त्री ओलीलाई सम्मानजनक ढंगले बिदाई गरेर पार्टीभित्रैबाट प्रधानमन्त्री खोज्न गौतमले प्रस्ताव गरेका छन् ।


‘पार्टीलाई एकीकृत बनाउन सक्दा सरकारको नेतृत्व बाहिर नजाने भएकाले  पार्टी एकता कायम गर्ने सुनौलो मौका तपाईंसँग छ, सदुपयोग गर्नुहोला,’ गौतमले प्रचण्डसँग गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो ।

 
जवाफमा प्रचण्डले गौतमलाई निराश बनाएका छन् । स्रोतका अनुसार, अहिलेकै अवस्थामा केपी ओलीसँग कुनै सहकार्य हुननसक्ने धारणा प्रचण्डले राखेका छन् । 


प्रचण्डले निराश पारे पनि गौतमले हार मानेका छैनन् । उनले दुवै समूहसँग यसबारे छलफल जारी नै राखेको बताइएको छ । 
 

भेटघाटकै शिलशिलामा गौतमले लगानी बोर्डका कार्यकारी अधिकृत दीपक भट्टलाई समेत उनकै निवास सानेपा पुगेर भेटघाट गरेका छन् । विचौलियाको आरोप खेप्दै आइरहेका भट्टलाई गौतमले भेट गर्नुको प्रयोजन के थियो भन्नेचाहिँ खुलेको छैन । 


 

प्रतिकृया दिनुहोस