काठमाडौं । नेपाल रिपब्लिक मिडिया प्रालिले नयाँ पुस्ताका पत्रकारहरूलाई धमाधम नेतृत्व हस्तान्तरण गर्न थालेको थाहा भएको छ । नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक, , नागरिक न्यूजडटकम, शुक्रबार, परिवारलगायतका प्रिन्ट तथा विद्युत्तीय माध्यममा लगानी गरेको उसले पुराना, परिपक्व पत्रकारलाई बाइबाइ गर्दै नयाँ पुस्ताका पत्रकाहरूलाई धमाधम महत्त्वपूर्ण जिम्मेवारी दिन थालेको हो ।
नेपाल रिपब्लिक मिडियाले हालै शुक्रबार साप्ताहिकको कार्यकारी सम्पादकमा नागरिक दैनिकको क्राइम बिट हेर्दै आइरहेको पत्रकार केपी ढुंगानालाई नियुक्त गरेको छ । किशोर नेपाल, राजन नेपाल र हाल विश्वमणि पोखरेलको सम्पादनमा निस्केको इतिहास बोकेको शुक्रबारमा ढुंगानाले अवसर पाएपछि नयाँ पुस्ताका पत्रकार उत्साहित भएका छन् । कतिपयले यसलाई नेपाल रिपब्लिक मिडियाले आफ्ना प्रकाशन तथा प्रसारण माध्यमहरूलाई आक्रामक बनाउने रणनीति अनुरुप नयाँ पुस्ताका पत्रकारलाई नेतृत्व हस्तान्तरणको रुपमा विश्लेषण गरेका छन् ।
शुक्रबारमा जस्तै नागरिकन्यूज डटकमको जिम्मेवारी पनि नयाँ पुस्ताका ऊर्जाशील पत्रकारले पाएका छन् । रिपब्लिक मिडियाले नागरिकन्यूज डटकमको रिक्त समाचार संयोजकमा प्रशान्त लामिछानेलाई पदोन्नति गरेर त्यहाँ पनि नयाँ पुस्तालाई अवसर दिएको छ । लामिछाने ४ वर्षदेखि नागरिकन्यूज डटकममै कार्यरत रहेका थिए । यसअघि यसको समाचार संयोजकको भूमिकामा कृष्ण ढुंगाना थिए । लामो समयदेखि नागरिकन्यूज डटकममा रहेको ढुंगानाको चाहना सम्पादक बन्ने थियो । तर यसविपरीत श्रीराम पौडेल सम्पादक बनेर आएपछि उनी यहाँबाट बाहिरिएर नेपालखबरको कार्यकारी सम्पादक बनेका थिए । ढुंगाना हिंडेसंगै रिक्त बनेको समाचार संयोजकको स्थानमा लामिछाने आएका हुन् ।
पोखरेललाई बाईबाई
नयाँ पुस्ताका पत्रकारले धमाधम अवसर पाइरहेका बेला नागरिकमा स्थापनाकालदेखि नै पसिना बगाएका पुराना पत्रकारहरू भने धमाधम विस्थापित हुँदैछन् । विश्वमणि पोखरेललगायतका पुराना पत्रकार नेपाल रिपब्लिक मिडियाबाट विस्थापित हुन लागेका हुन् । नागरिकका पत्रकारहरूबीच हिजोआज आउँदो वार्षिकोत्सवबाट ज्ञवालीका आमा–छोरीबाट हेपिएका चर्चित पत्रकारहरू विश्वमणि पोखरेललगायत बिदा हुन लागेको चर्चा चल्ने गरेको छ । मालिक विनोद ज्ञवालीका श्रीमती शोभा र छोरी संमृद्धि हावी भएर पुराना, अनुभवी, योग्य पत्रकार र संचारकर्मीहरूलाई नेतृत्वको अवसर नदिएपछि राम्रा पत्रकारसमेत नेपाल रिपब्लिक मिडियाबाट बाटो तताउने सोचमा पुगेको बताइन्छ ।



