सिन्धुली, माघ १३ \\ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा हावाबाट विद्युत उत्पादन सफल भएको छ।
यसलाई, ‘चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना’ नाम दिइएको छ । यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिए ।
जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्ध्दन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्य मिश्रित प्रणालीबाट विद्युत उत्पादन गर्ने परियोजना सम्पन्न भइसकेको छ ।
एसियाली विकास बैंकको रु एक करोड ७२ लाख ५८ हजार ७५६ सहयोग तथा स्थानीयको रु १७ लाख ४० हजार ७ रुपैंया गरी कूल रु एक करोड ८९ लाख ९८ हजार ७७३ मा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले जानकारी दिए ।
परियोजनाको कूल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ । बिहान १० बजेपछि वायुको कम चाँप हुँदा विद्युत उत्पादनमा केही कमी हुने हुँदा बिहान १० बजेपछि सौर्य प्रणालीबाट ब्याट्री चार्ज हुने र रातको समयमा सौर्य प्रणाली निष्क्रिय भई हावाबाट मात्र ब्याट्री चार्ज हुने भएकाले यी दुवै मिश्रित प्रणालीबाट त्यस क्षेत्रका उपभोक्तालाई निरन्तर विद्युत् वितरण हुने छ ।
वायु र सौर्य प्रणालीबाट एकै स्थानमा विद्युत् उत्पादन गरिएको नेपालमा यो पहिलो हो।




