• शुक्रबार-बैशाख-७-२०८१

 नेपाली शान्ति सैनिक सिरियाको हिमवर्ती क्षेत्रमा खटियाे 

 


काठमाडाैं। संयुक्त राष्ट्र संघको The United Nations Disengagement Observer Force (UNDOF)  अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरुले मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मनको २० फिटको हिउँ र माईनस २० डिग्री सेन्टिग्रेडको चिसो कठ्याङ्ग्रिदो सिरेटोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गर्दै आईरहेकाे नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालय,जंगी अड्डालेजनाएकाे छ ।


 यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ बर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले यहाँ शान्ति सैनिकहरु तैनाथ गरिएका छन । विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो संख्यामा बिद्युतीय धरापहरु रहेका छन् भने द्वन्द्वरत सशस्त्र समूहहरुको चलखेल पनि बढी नै हुने गरेकाे  नेपाली शान्ति सैनिकले खबर दिएकाे छ। 

 

 करिव ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौजहरु मुस्ताङ्ग जिल्लाको कैसाङ्गस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला (Mountain Warfare) सम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन् । सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको उक्त ईलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारवाहीहरु संचालन गरिन्छ । 

 

  नेपाली शान्ति सैनिकहरुले विश्वका द्धन्द्धग्रस्त राष्ट्रहरुमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणाम स्वरुप सिरिया स्थित UNDOF मिशनको फोर्स कमाण्डर जस्तो उच्च ओहोदाको नियुक्तिमा नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी बालानन्द शर्मा र अवकाश प्राप्त उपरथी शिवराम खरेल नियुक्ति  भई आफ्नो कार्यभार पूरा गरिसकेकाे छ भने हाल रथी ईश्वर हमाल सोही हैसियतमा कार्यरत रहेका छन् । 

 

 नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको उक्त मिशनमा नेपाली सेनाको डाक्टर अधिकृत सहितको मेडिकल टिम र आन्तरिक द्वन्द्व कारण विद्रोहीहरुबाट क्षति पुर्‍याईएका शान्ति सैनिकहरुको व्यारेक संरचनाहरु पुन:निर्माण र व्यारेक स्थानहरुको सुरक्षा मजवुत बनाउन नेपाली सेनाको ईन्जिनियर टिम पनि कार्यरत छ । नेपाली सेनाको कार्यक्षमता, पेशागत दक्षता र विश्वसनियताको कारण मिशनमा नेपाली शान्ति सैनिकहरुको संयुक्त राष्ट्र संघ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुँदै आईरहेको छ ।

प्रतिकृया दिनुहोस