• बिहीबार-बैशाख-१३-२०८१

‘हामीले देखेको सपना धुलो भयो’ 

 

(जनवादी गायनमा सुपरिचित नाम हो, रायन । जनता ब्युँझाउने अभियानमा उनी ६० वर्षदेखि निरन्तर छन् । पञ्चायतको कालरात्रिदेखि गणतन्त्र पुनस्र्थापनासम्ममा रायन अग्रमोर्चामा खटिए । तर रायनजस्ताको बलमा स्थापित गणतन्त्र जनताको हितमा उपयोग हुन सकेको छैन । विभाजन र विग्रह यथावत् छ । रायन र उनीजस्ता हजारौंले लडेर ल्याएको गणतन्त्रमा किन विगतमा जस्तै फोहोरी खेल भइरहेका छन् ? रायनहरूले देखेको सपना र अहिलेको राजनीतिक अवस्थामा केन्द्रित रहेर हामीले जनवादी गायनका सशक्त हस्ताक्षर रायनसँग यसपटक संवाद गरेका छौं–सम्पादक) 


० जनताको अधिकारका लागि वर्षौं गीत गाउनु भयो । पञ्चायत गयो, राजतन्त्र अन्त्य भएर गणतन्त्र आयो । अब केही होला भन्ने अवस्थामा पुगेपछि तर टुटफुट, विभाजन र विग्रहले दल ग्रस्त छन् । अहिलेको राजनीतिक परिदृश्य देखेर कस्तो लागिरहेको छ ? 
–हामी ठूलो सपना देखेर जनता व्युझाउने अभियानमा लागेका थियौं । जनताको हित रक्षा गर्न नसक्ने व्यवस्था अन्त्य गरेर हामीले लोकतन्त्र र गणतन्त्र ल्यायौं पनि । यसले साच्चै जनतालाई अधिकार दिनेछ भन्ने हाम्रो विश्वास थियो । हामीले जे जति सपना विगतमा देखेका थियौं, ती सबै धुलो भएको छ । 


० भनेपछि दलबाट धोका नै भएको हो ? 
–जनताको संघर्षबाट स्थापित गणतन्त्रमा जनतामाथि धोका नहुनु पर्दथ्यो । उनीहरूको हक अधिकारको रक्षा गर्दै देश विकास गर्नुपर्दथ्यो । तर जनतालाई फेरि पनि धोका भएको छ । 


० जनताले पञ्चायत फालेर प्रजातन्त्र ल्याए । त्यसमा धोका भएपछि गणतन्त्र आयो । तर फेरि पनि जनताले उस्तै धोका पाए । किन यस्तो भयो ? 
–जनताको संघर्षले गणतन्त्र आयो । यो जनताको सपना पूरा गर्ने अवसर थियो, दलहरूका लागि । तर उनीहरू एकले अर्कोलाई खुइल्याउने उपक्रममा लागेका छन् । अहिलेकै अवस्थाका कुरा गरौं । देश कोरोनाले पीडित छ । आर्थिक अवस्था दयनीय बनेको छ । सामाजिक अवस्था पनि उत्तिकै कमजोर छ । उनीहरूको ध्यान कमजोर बनेको आर्थिक अवस्था सुधार्नेतिर हुनुपर्ने हो । जनतालाई अधिकार सम्पन्न बनाउनेतिर हुनुपर्ने हो । सामाजिक न्याय स्थापित गर्नतिर लाग्नुपर्ने हो । तर जे गर्नुपर्ने हो, त्यतातिर उनीहरूको ध्यान फिटिक्कै छैन । जे गर्न नहुने हो, त्यो गरिरहेका छन् । अझ भनौं दल र तिनका नेतामा दम्भ बढेको छ । अहम् चढेको छ । उनीहरूमा किन यस्तो अहम् चलेको हो मैले बुझ्न सकेको छैन । 


० जनताले ठूलो विश्वासका साथ मत दिएको नेकपामा जुन विभाजन आयो, यसमा कसको दोष बढी देख्नुहुन्छ ? 
–हो, नेकपासँग जनताले ठूलो भरोसा राखेका थिए । उसँग जनताको पक्षमा काम गर्नेे ठूलो अवसर पनि थियो । तर त्यो अवसर स्वार्थका कारण समाप्त भएको छ । भित्री धेरै कुरा त मलाई थाहा हुँदैन । तर बाहिर जे जति कुरा आएका छन् त्यसका आधारमा भन्दा यसमा यसको दोष बढी, उसको कम भन्दा पनि म त सबै उत्तिकै दोषी देख्छु । जिम्मेवार नेताहरू एकले अर्कोलाई हिलो छ्यापाछ्यापमा लाग्नु शोभनीय कुरा हुँदै होइन । यसले देश र जनताका लागि त नोक्सान छ नै आरोप प्रत्यारोपमा उत्रनेलाई पनि यसले फाइदा पुग्दैन । 


० एकथरी फेरि पनि आन्दोलन र संघर्षको कुरा गरिरहेका छन् । यसको आवश्यकता बढेको हो ? 
–हिजो र आज आनको तान फरक छ । हिजो जनता गुमराहमा हुन्थे । तर २१ औं शताब्दीका जनता हिजोको जस्तो अन्धकारमा छैनन् । हिजो सूचना पाउन कठिन थियो । अहिले सूचनाको व्यापकताले जनता सुसूचित छन् । सचेत छन् । कसैले भनेकै भरमा खुरुखुरु पछि लाग्ने अवस्थामा जनता छैनन् । आवश्यकताअनुसार अघि बढ्न अहिलेका जनतालाई कसैले सिकाइराख्नु पर्छजस्तो मलाई लाग्दैन । 


० हिजो आन्दोलन र संघर्षमा होमिएका तपाईंहरूलाई सत्ता र शक्तिमा रहेका नेताले कत्तिको सम्झन्छन् ? 
–मन मनै सम्झिन त सम्झिन्छन् होलान् ।


० आन्दोलनको विकल्प भएन । तपाईंले पनि सहयोग गर्नुप¥यो भनेर त आएका छैनन् नि ? 
–अहिले त कुराहरू आएको छैन । उनीहरूको विचारमा समय लाग्ने होला । 


० अहिले जुन संकट देशमा आइलागेको छ । यो संकट निम्त्याउनेहरूलाई तपाईं के भन्न चाहनुहुन्छ ? 
–कमी–कमजोरीहरू हुन्छन्, नहुने होइन । तर यसबाट सच्चिनु पर्छ । अहिले पनि मिल्नै नसक्ने अवस्था छैन । मिल्नुपर्छ । जनताले सुम्पिएको कार्यभार दल र तिनका नेताले पूरा गर्नुपर्छ । म अहिलेका सबै जिम्मेवार दल र तिनका नेतालाई सम्हालिएर फेरि देश, जनताका निम्ति जिम्मेवारी लिएर उत्रिन आग्रह गर्न चाहन्छु ।


० जति लडे पनि केही नभएको देखेर दिक्क लाग्दैन ? 
–हामीले गाएका जनमुखी गीत हिजोआज कसैले पनि बजाउँदैनन् । हाम्रा रेडियो, टिभी जनमुखी नै छैनन् । सरकार हामीले गाएका गीतहरूको संरक्षण गर्ने पक्षमा छैन किनकि हाम्रा गीतहरूले अहिलको नेताहरूलाई नै पोल्ने भएको छ । जनता उठाउने हाम्रा गीतले उनीहरूलाई पोल्छ ।यस्ता गीतलाई अंकित गरेर भावी पीडिलाई दिन लागिरहेका छौं । आन्दोलन विद्रोह निरन्तर चलिरहन्छ ।  जनता सुहाउँदो गीत संरक्षण गर्नुपर्छ भनेर लागिरहेका छौं ।


० ‘एक जुगमा एक दिन एकचोटि आउँछ...’ त्यो एक दिन कहिले आउला त ? 
–हामी आशावादी हुनुपर्छ । आशाले नै हामीलाई गन्तव्यमा अघि बढाउँछ । अहिलेका जनता हिजोका जस्ता छैनन्, निकै जागरुक छन् । हाम्रो कमाइ भनेको नै त्यही हो । त्यो सम्पत्ति मर्दैन र जनताले आफ्नो अधिकार लिएरै छाड्छन् भन्नेमा हामी विश्वस्त छौं । जनताले एकदिन अवश्य यी स्वार्थी नेताहरूलाई सत्ताबाट खसाल्छन् ।
 फरक प्रसंग । 


० जनवादी गायनमा कसको प्रेरणाले लाग्नु भयो ? 
–एउटा त ओखलढुंगाको वातावरण नै भन्नुपर्ला । अर्को पारिवारिक अवस्थितिले पनि हो । गाउँमा थिचोमिचो, अन्याय, अत्याचार, अभाव, गरीबी मैले धेरै देखेँ । सानैदेखि यस्तो दुःख देखेको हुनाले मलाई यस्तो परिवेशले छुन्थ्यो । सात सालको परिवर्तनपछि ओखलढुंगामा कांग्रेसहरूको उपस्थिति निकै बलियो हुन पुग्यो । मेरो मामाको छोरा मेघबहादुर श्रेष्ठ कांग्रेसको सुरुवात गर्ने नेता हुनुहुन्थ्यो । तैपनि ठूलो हुँदै गएपछि दुःख गरिबीका बारेमा बोल्ने कम्युनिष्ट रहेछ भनेर बुझियो ।

नेपाललाई भारतबाट आउने दबाबविरुद्ध कम्युनिष्टहरू बोलिराख्ने भएकाले कम्युनिष्ट विचारले तान्यो । बमप्रसाद कोइराला र नारायणबहादुर गुरुड शिक्षक हुनुहुन्थ्यो । उहाँहरूले कम्युनिष्टबारे भन्नुहुन्थ्यो । धनी गरीब भन्ने कम्युनिष्ट पार्टीमा हुँदैन भन्ने सुनिन्थ्यो । यसले मनमा राम्रो छाप प¥यो । ठूलो हुँदै जाँदा कोसी, गण्डकमाथि इन्डियाले गरेका अतिचारबारे बुझियो । यी कुरा कम्युनिष्टले उठाएकाले यसमा आउन विशेष प्रभाव पा¥यो होला भन्ने लाग्छ । 


० केही अविष्मरणीय क्षणहरू सम्झिदिनुहोस् न ? 
–म बालमन्दिरमा गणित विषय पढाउँथें । मेरो जागिरे नाम नारायणभक्त थियो । बाल मन्दिरको अध्यक्ष रानी रत्नराज्यलक्ष्मी थिइन् । त्यस्तो ठाउँमा म काम गर्थेँ । ४८ वर्ष शिक्षण पेशा गरेको थिएँ । नयाँ शिक्षा योजना लागू गर्नुभन्दा अगाडि मोडल स्कूल भनेर अधिराज्यमा पाँच स्कूल सरकारले खोल्ने भयो । बालमन्दिर ५ मध्ये एकमा परेको थियो । म अन्तरवार्तामा छानिएर पुगेको थिएँ । म परिचय लुकाएर त्यहाँ काम गर्थें । १०–४ काम गर्थें र त्यसपछि जनताको गीत गाउँदै हिँड्थेँ ।


 ० अनि गुप्तचर र प्रहरीबाट चाहिं  कसरी बच्नु भयो त ? 
–पुलिसहरू यही पसेको छ भन्दै बालमन्दिरमा मलाई खोज्न आउँथें तर हाम्रै साथीहरूलाई पनि मेरो अर्को परिचयबारे थाहै थिएन । 
बाहिर सशक्तरुपमा सामन्ती राजाविरुद्ध काम गर्ने तर त्यहाँ गएर उनीहरूसँगै मिलेर काम गर्नुपर्ने । मलाई सधैं थाहा पाएर केही गर्ने पो हुन् कि भन्ने आसन्न त्रासले सताइरहन्थ्यो ।
 

प्रतिकृया दिनुहोस