• बिहीबार-बैशाख-१३-२०८१

खै कसरी धान्ने जिन्दगी ? : आशिष तामाङ

 

(कोरोना भाइरसको महामारी अझै रोकिएको छैन । अझ यस्तो बेलामा कोचाकोच गाडी चलाउँदा के होला हालत । यतातर्फ सरकारले त सोच्ने कुरै भएन । सर्वसाधारण पनि सचेत भएजस्तो लाग्दैन । लामो समयको लकडाउनले थलिएको गाडीलाइनका लगानीकर्तालाई त झन् यतातिर सोच्ने फुर्सद नै छैन । लगानी डुबेकाले त्यसलाई उठाउन उनीहरू लागिपरेका छन् जस्तोसुकै चुनौतीको सामना गर्न किन नपरोस् भनी । यही सेरोफेरोमा आफ्नो कर्ममा डटिरहेका २६ वर्षे सडक पाइलट आशिष तामाड्डसँग कुराकानी गरेका छौं । काभ्रेका बा ३ ख ३७५१ नम्बरको गाडीका चालक आशिषले यसरी खोलेका छन् अहिलेसम्मको ड्राइभरको जिन्दगी सडक पाइलटसँगको अन्तरड्डमा साँघु प्रतिनिधिसँग–सम्पादक)

 

० कति भयो गाडीलाइनमा आएको ?
–भयो नौ वर्ष । 


० शुरुमै गाडी लगाउनु भयो कि ?
–पहिले त खलासी नै गरेँ । चार वर्ष गरेँ । 


० कहाँ गर्नुभयो नि ?
–गाउँकै गाडीमा खलासी गरेको हुँ । 


० त्यसपछि गाडी चलाउनु भयो ?
–ठूलै गाडी चलाएँ । त्यसपछि निरन्तर चलाइरहेको छु । 


० गाडी आफ्नै कि साहुको ?
–साहुको हो । आफ्नो त कहाँबाट हुनु नि । 


० कसरी आउनु भयो त गाडीलाइनमा ?
–पढाइ सकेर आएको हुँ ।

 
० कति पढेर सकियो पढाइ र ?
–१० को पढाइ सकेर । फेल भइयो । त्यसपछि प्रयास पनि गरिएन । गुल्टिएर छाडियो । अनि यो लाइनमा ड्याडी हुनुहुन्थ्यो । तिमी नपढ्ने भए लौ आउ भन्नुभयो । अनि शुरु गरियो । 


० कस्तो छ गाडीलाइन ?
–कस्तो हुनु दिक्दारी । यो लाइनमा नलागुञ्जेल रमाइलो लाग्ने हो । लागेपछि दिक्क । योजस्तो पेशा कुनै छैन जस्तो नराम्रो लाग्ने । काठमाडौं रुटमा दिक्दार बढी छ । 


० गाडी चलाउन गाउँतिर ठीक कि उपत्यकामा ?
–चलाउन गाउँमै ठीक । जोखिम गाउँमा पनि छ यता पनि छ । यता ट्राफिक प्रहरीको किचकिच बढी । भाडामा पनि किचकिच हुन्छ । गाडी बढी छ । कम्पिटिशन बढी छ । सिन्डिकेट तोडियो नि । त्यसैले बढ्यो कम्पिटिशन ।


० कमाई कस्तो छ ?
–कमाई लकडाउनपछि छैन । ज्यामी गर्दा कमाइ होला बरु । दिनमा ३ सयदेखि ५ सयमात्रै कमाई हुन्छ खै कसरी धान्ने जिन्दगी । 


० लकडाउनमा के गरियो ?
–गाउँमै गइयो । त्यतै बसियो । 


० रिजर्भ चलाइएन ?
–चलाइएन । घरमै राखेर समय समयमा गाडी स्टार्ट गरियो । चौरमा घुमाउने राख्नेमात्रै भयो ।


० कोरोनाले कसैलाई दुःख दियो कि ?
–परिवारलाई कोरोना भएन । मलाई पनि भएन । जोखिम सबैलाई छ । 


० अनि गाडीमा पनि मास्क लगाउनु भएको छैन त ?
–मास्क लगाएर कोरोनाबाट जोगिन्छ भन्ने नै छैन । गाडीमा अरु पनि बिना मास्क हिंड्छन् । सेनिटाइजर लगाएका छैनन् । 


० कसले सिकायो मास्क लगाएर जोगिंदैन भन्ने ?
–आफ्नै अनुभवले भन्यो । आफूले मात्र स्यानिटाइजर लगाएर भएन । पैसाबाट पनि सर्छ । मास्क लगाउने धुलो छेक्ने मात्रै हो । 


० सरकारले त अनिवार्य गरेको छ नि मास्क ?
–सरकारले भनेर के हुन्छ ? भौतिक दूरीमा बसेर साध्य छ र । गाडीमा अरुले पनि मास्क नलगाइ हिंडेका छन् । केही भएजस्तो नै लाग्दैन । सरकारले हामीलाई सुविधा दिएको पनि छैन । जसरी पनि पैसा कमाउनै प¥यो । मान्छे नहाली पैसा कमाइन्न । अब के गर्ने । साहुले पनि गाडी यति लामो समय यत्तिकै राखेको छ । हाम्रा पनि दुःख धेरै छन् ।

 
० भोलिको सोच के छ ?
–यस्तै छ चलिरहेको छ । भोलि के हुन्छ कसलाई के थाहा छ । 


० कतै जाने सोच छ कि ?
–बसे यहीँ नेपालमै हो गए खाडी न हो । 


० खाडी जाने सोंच छ र ?
–खाडी जान घरबाट सपोर्ट छैन । आफूलाई जाने मन चाहिं छ ।पहिले पनि बिरामी भएको थिएँ त्यसैले घरबाट जान दिन्नन् । धेरै गर्मी सहन सकिन्न । नाकबाट रगत बग्छ । त्यसैले परिवारले जान दिन्न । 


० बिहे भयो कि ?
–भयो । ३ वर्षको छोरो छ । 


० स्कुल जाने बेला पनि भएछ नि ?
–स्कुल त गइरहेको छ  । मूलपानीमा स्कुल चलिरहेको छ । 


० डर छैन कोरोनाको ?
–डरले के गर्नु र । गइरहेको छ । बच्चा बिग्रेर हैरान भए घरमा । मोबाइल मात्र हेर्छन् । हैरान पारे । त्यसैले स्कुल पठायौं । मोबाइलबाट टाढा राख्ने । टिभीमा कार्टुन हेर्न लगाउने । स्कुलमा धेरै समय बिताउन लगाउने । समय भएको बेलामा घुमाउने गरेको छु । 


० समस्या छ है ?
–समस्या त छन् समाधान पनि हुँदै जान्छन् ।आफूले नपढेको भएर दुःख लाग्छ । अफिसमा जागिर खाएको थिएँ । हाकिमको तलव देखेर पढ्नु पर्छ भन्ने लागेको थियो । भक्तपुरमा मार्केटिङको गाडी चलाएको थिएँ । म्यानेजरले योग्यता अनुसार पैसा पाएको देखेर पढ्नु पर्ने रहेछ भन्ने लागेको थियो । अब छोरालाई पढाएर आफू सन्तुष्ट हुने हो । 
 

प्रतिकृया दिनुहोस