• शुक्रबार-बैशाख-७-२०८१

महिला हिंसाका दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमै सीमित


लमजुङ। महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । बेंसीशहर नगरपालिका– ८ फूलबारीमा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमा मात्र सीमित हुने गरेको पाइएको छ । 

 

 महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार चार आर्थिक वर्षको २०७४÷२०७५ देखि चालु आव २०७७÷०७८ को साउदेखि पुस महिनासम्ममा १८४  घरेलु हिंसा सम्बन्धी प्रहरी कार्यालयमा दर्ता भएको छ । यीमध्ये ११६ वटा घरेलु महिला हिंसाका उजुरी मिलापत्र भएको छ भने २४ मात्र अदालती प्रक्रियामा गएको अर्थात् अदालतमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । 

 

 त्यस्तै ४४  उजुरीको भने काम भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुटपिट गरी घर निकाला गरिएको, शारीरिक यातना, शारीरिक तथा मानसिक, शारीरिकसँगै मानसिक यातना, आवश्यक खर्चसमेत नदिइ आर्थिक अभावमा पारेर यातना, आर्थिक यातना दिएकोलगायतका महिला हिंसाको उजुरी आउने गरेको छ । यी प्रहरी कार्यालयमा दर्ता भएका उजुरीमध्ये यस चालू आवको साउनदेखि पुस महिनासम्म ३२ वटा उजुरी दर्ता भएका थिए । सोमध्ये १७ वटा मिलापत्र भएको छ ।” 

 

 त्यस्तै छ  मात्र अदालती प्रक्रियामा गएको छ भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । गत आव २०७६÷०७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६१ घरेलु महिला हिंसासम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । यी मध्ये ४५  उजुरी मिलापत्र भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । छ उजुरी अदालती प्रक्रियामा रहेको छ भने १० उजुरीको काम भइरहेको प्रहरीले जनाएको छ । 

 

आव २०७५÷०७६ मा १२  सो सम्बन्धी उजुरी परेको थियो । यीमध्ये नौ  मिलापत्र गरी टुङ्ग्याइएको छ । बाँकी तीन उजुरीका उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७४÷२०७५ मा ७९  उजुरी प्रहरीमा दर्ता भएको थियो । यी उजुरीमध्ये ४५  मिलापत्र गरी टुङ्ग्याइएको छ । बाह्र वटा अदालती प्रक्रियामा लगिएको थियो । बाइस वटा भने उजुरीपछि उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । 

 

 केन्द्रका अनुसार शारीरिक, मानसिक, आर्थिक यातना दिएकालाई मिलापत्र गराएपछि त्यही पीडितको त्यस्तो समस्या नदेखिएको, खान, लाउन दिएको पाइएको छ । यस प्रहरी कार्यालयमा घरेलु महिला हिंसाका ठाडो उजुरीसमेत आउने गरेको छ । आव २०७४÷०७५ देखि चालु आव को साउदेखि पुस महिनासम्ममा १९७  ठाडो उजुरी अर्थात् मौखिक उजुरी आएको प्रहरीले जनाएको छ । 

 

यी मध्ये पनि १४२ ठाडो उजुरी मिलापत्रमै सीमित बन्न पुगेको छ । पच्चीस उजुरी अदालती प्रक्रियामा अर्थात् मुद्दा दर्ता भएको छ भने ३० को काम भइरहेको केन्द्रले जनाएको छ । यी ठाडो उजुरी परेकामध्ये यस चालू आव को साउनदेखि पुस महिनासम्ममा १५ ठाडो उजुरी परेको छ । यीमध्ये ११ को मिलापत्र तथा एक  अदालती प्रक्रियामा र तीनको काम भइरहेको जनाइएको छ ।  


आव २०७६÷०७७ मा १८ ठाडो उजुरी परेकामध्ये ११ को मिलापत्र एकको अदालती प्रक्रिया तथा छको काम भइरहेको केन्द्र प्रमुख अधिकारीको भनाइ छ । त्यस्तै आव २०७५÷०७६ मा १२६ ठाडो उजुरी परेको थियो । प्रहरी कार्यालयको तथ्याङ्कअनुसार उक्त ठाडो उजुरीमध्ये ९१ को मिलापत्र भएको थियो भने २३ अदालती प्रक्रिया अर्थात् अदालतमा मुद्दा दर्ता भएको थियो । बाह्रठाडो उजुरीको काम भइरहेको केन्द्रले जनाएको छ । 

 

आव २०७४÷०७५ मा ३८ ठाडो उजुरी परेको थियो । यीमध्ये २९ को मिलापत्र भएको थियो भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । प्रहरी कार्यालयमा आएका उजुरीबाहेक जिल्लाको आठवटै स्थानीय तहको न्यायिक समितिमा परेका सोसम्बन्धी उजुरीसमेत मिलापत्र नै हुने गरेको पाइन्छ । सक्दो छलफल गर्दै विवाद मिलापत्र गराउने र कुरा मिल्दै नमिलेमा मात्र अदालत पठाउने गरेको न्यायिक समितिले जनाएको छ । 


 पछिल्लो समयमा स्थानीय तहका न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसा आउने गरेको उक्त समितिले जनाएको छ । कुटपिट गरेको, महिला हिंसाका बारेमा खान लाउन नदिएको लगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक होमबहादुर विकले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस