काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तल्लो सदनमा प्रस्तुत महाभियोगको प्रस्तावमा मतदान गर्ने रिपब्लिकन सांसदले असुरक्षित महसुस गरेको गुनासो गरेका छन् ।
ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथि भएको मतदानमा १० रिपब्लिकनसहित २३२ सांसद्ले पक्षमा मतदान गरेका थिए । त्यसरी ट्रम्पविरुद्ध लगाइएको महाभियोगको पक्षमा मतदान गर्ने रिपब्लिकन पार्टीका सांसद्ले सुरक्षा चुनौती महसुस गरेका हुन् । साथै रिपब्लिकन पार्टीमा समेत गहिरो विभाजन देखापरेको छ ।
बीबीसीका अनुसार, असुरक्षित महसुस गरेका रिपब्लिकन सांसदले शरीरको सुरक्षा गर्ने रक्षाकवच खरीद गरेको जनाएका छन् ।
कतिपय सांसदले सम्भावित हिंसालाई लिएर आफ्ना नियमित तालिका नै परिवर्तन गरेका छन् ।
मिसिगनका रिपब्लिकन पिटर मेइजरले भनेका छन्, ‘हाम्रो हत्या गर्न प्रयास हुन्छ भन्ने हामीलाई लागिरहेको छ ।’
हिंसाको त्रासपछि रिपब्लिकन सांसदले किने रक्षाकवच यसैबीच, आफ्नै दलका राष्ट्रपतिविरुद्धको महाभियोगको पक्षमा मतदान गर्ने सांसदको राजीनामा माग गरिएको छ । तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको पक्षमा मतदान गर्ने उनको भूमिकालाई लिएर पार्टी नेतृत्व तहबाट राजीनामाको माग भएको जनाएकी छन् ।
गत नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याभटिक पार्टीको जो बाइडनसँग पराजित ट्रम्प त्यहाँबाट बाहिरिने क्रममा अवस्था असमान्य बनेको छ । डेमोक्र्याटहरूले ह्वाइट हाउस छाड्न केही दिनमात्र बाँकी रहेका ट्रम्पलाई महाभियोगको हतियार प्रयोग गरेर हटाउने प्रयास गरिरहेका छन् ।




