काठमाडौं । देशको राजस्व छल्न व्यापारीले विभिन्न चोरबाटो प्रयोग गर्ने समाचार अब नयाँ रहेन । यस्तैमा एक नटवरलालले आफ्ना दुई दर्जन बढी मजदुरको नाममा फर्म सञ्चालन गरेर करोडौं राजस्व मारेको पाइएको छ ।
सर्लाही स्थायी ठेगाना भई काठमाडौंको सीतापाइला बसोबास गर्दै आइरहेका रामकिशोर प्रसादले आफू र आर्थिक अवस्था कमजोर भएका मजदुरलगायत व्यक्तिको नाममा फर्म दर्ता गरी १ अर्ब ३० करोड ३७ लाख ८२ हजार १ सय ६३ रूपैयाँ राजस्व छली गरेका हुन् । राजस्व अनुसन्धान विभागले रामकिशोरले राजस्व मार्न २६ मजदुर तथा व्यक्तिको नाममा फर्म दर्ता गरेको जनाएको छ । तर तिनको नाम भने विभागले सार्वजनिक गरेको छैन ।
५ वर्षसम्म ब्रह्मलुट
रामकिशोरले १ वर्ष होइन, निरन्तर ४ वर्षसम्म राजस्व छलेर देशलाई ठगी गरेको पाइएको छ । मुलुकमा बढ्दो दण्डहीनता र कर्मचारीको भ्रष्ट मनोवृत्तिको फाइदा उठाउँदै उनले आर्थिक वर्ष ०७१÷७२ देखि ०७४÷७५ सम्म निरन्तर मूल्य अभिवृद्धि कर तथा आयकर राजस्व चुहावट गरेका हुन् ।
२ दर्जन बढी मजदुरको नाममा फार्म खोलेका उनले ४ वर्षमा १ अर्ब ३० करोड ३७ लाख ८२ हजार १ सय ६३ रूपैयाँ राजस्व छली गर्न भ्याए । करोडौं राजस्व छली गरेका उनी कारबाहीको दायरामा भने निक्कै पछि आएका छन् ।
फार्म अलग–अलग, बैंक खाता एउटै
कमजोर आर्थिक अवस्था भएका मजदुरलाई बलीको बोका बनाएका राजकिशोरले चलाखीपूर्वक आफ्नो धन्दा अघि बढाएको देखिन्छ । अलग अलग २६ व्यक्तिका नाममा फार्म खोलेका उनको बैंक खाता भने एउटै रहेको विभागले जनाएको छ ।
‘रामकिशोरले मोहन ट्रेड इन्टरनेशनललगायत विभिन्न २६ फर्महरूको कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा दर्ता गरी उक्त सबै फर्मको बैंक खाता आफूले सञ्चालन गरेका थिए,’ विभागले उनको अपराधकर्मबारे प्रष्ट पार्दै विज्ञप्तिमा लेखेको छ ।
धान काट्ने मुसो, चोट पाउने भ्यागुतो !
राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट रामकिशोरले कम आय भएका २६ मजदुर तथा व्यक्तिको नाममा फर्म सञ्चालन गरेर राजस्व मारेको पुष्टि भइसकेको छ । विभाग स्वयंले पनि रामकिशोरले नियतवश मजदुरलाई फसाएको स्वीकारेको छ । तर नियतवश रामकिशोरबाट फसाइएका अवला मजदुरविरुद्ध पनि विभागले विवेक प्रयोग नगरी मुद्दा दायर गरेको छ ।
विभागले ०७७ पुस १७ गते रामकिशोरसहित उनैले सञ्चालनमा ल्याएका विभिन्न फर्मका २८ सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । जसमा १ अर्ब ३२ करोड ८६ लाख १२ हजार ५ सय ६५ बिगो असुल गरी जरिवाना र कैद दुवै सजाय माग गरिएको छ ।
रामकिशोरसहित २८ जनाले मूल्य अभिवृद्धि कर तथा आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरेकाले उक्त ऐनको दफा ४ अनुसार जरिवाना र कैद सजाय माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर भएो विभागले जनाएको छ ।




