• शुक्रबार-बैशाख-७-२०८१

नेकपा फुट्यो भने परिवर्तनका सम्पूर्ण उपलब्धि गुम्छन्

 

(सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक रस्साकस्सीले अब के हुने हो भन्ने चासो र कौतुहल सबैलाई छ । नेताहरूले आन्तरिक विवाद आन्तरिक रुपले नै मिलाउनु पर्नेमा आरोप प्रत्यारोपमा उत्रिएपछि त्यसले परिस्थिति असहज बनाएको छ । कोही यही हो मौका पार्टी फुटाउने भनेर लागेका छन् भने कोही एकताको विकल्प नभएको बताउँछन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाएर ल्याएको राजनीतिक प्रतिवदेनपछि बढेको सरगर्मी ओलीले पनि प्रतिवेदन ल्याएपछि झन् उग्र बन्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएपछि विवाद मत्थर हुने अनुमान पनि गरिएको छ । यसै सन्दर्भमा रहेर नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीसँग कुराकानी गरेका छौं–सम्पादक) 


० नेकपाभित्रको विवाद चर्किएकै हो ?
–नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद भन्ने, अन्तरविरोध भन्ने, द्वन्द्व भन्ने विषय निरन्तर चलिरहन्छ । यो अब निष्कर्षतिर जान्छ । हामी २०७७मंसिरको १३ गते सचिवालयको बैठक छ । त्यसपछि मंसिर १८ गते स्थायी कमिटीको बैठक छ । मंसिर २५ गते केन्द्रीय कमिटीको बैठकको आयोजना गरिएको छ । जति पनि आएका विवादहरू, विचारहरूलाई हामीले विधिसंगत ढङ्गले छलफल गर्छौं । र, स्वभाविक रुपले हामीले उच्चस्तरमा निष्कर्षमा पु¥याउँछौं । 


० अध्यक्ष प्रचण्डले जारी गरेको राजनीतिक प्रतिवदेनलाई काउन्टर दिन अर्का अध्यक्ष ओलीले पनि प्रतिवेदन ल्याउने भएपछि  विवादको बिउ बल्ल पो रोपियो कि?
–विवादको बिउ भन्दा पनि हाम्रो पार्टीसँग सम्बन्धित, सरकारसँग सम्बन्धित र जनतासँग सम्बन्धित विषय जति पनि हाम्रा योजना कार्यक्रम विधि, प्रक्रिया, मापदण्ड जति पनि सम्बन्धित छन् ती विषयहरूमा त निरन्तर विचारहरू आइरहन्छन् । प्रतिवेदनहरू आइरहन्छन् । कार्यक्रमहरू आइरहन्छन् । कार्यक्रम आइरहँदा पार्टी विभाजन हुन्छ भन्ने कुरा हैन । जतिखेर अन्तरविरोध आउँछन् त्यो सतहमा आएपछि त त्यो हल गर्ने हो । 


० टसमस नहुने संकेत गर्दै स्पष्टै दुई पक्ष देखिएपछि समस्याको समाधान होला र ?
–यो त दुई पक्षीय, तीन पक्षीयमात्र हैन व्यक्तिगत रुपमा पनि आफ्ना विचार राख्न पाइन्छ । केन्द्रदेखि स्थानीयसम्म कयौं विषयहरू जनस्तरसम्म पनि हामीले छलफल चलाउनु पर्ने हुन्छ । छलफल चलाउन बित्तिकै विभाजन हुन्छ भन्ने हैन । विचार, योजना र कार्यक्रमको बहसमा सबैको योगदान हुन प¥यो नि । समस्याको पहिचान गरेर सम्भावनाहरूको खोजी गरेर अगाडि बढ्न र विवादहरूलाई समाधान गर्न जनस्तरको पनि चिन्ता र चासोलाई समेत सम्बोधन गर्न मद्दत गर्छ । 


० प्रचण्डको राजनीतिक प्रस्तावलाई झुठको पुलिन्दा भन्दै प्रधानमन्त्रीले गलत आरोप सहन्न भन्नुभएको छ नि । कसरी निस्केला त समाधान ?
–त्यो झुठ हो कि सही हो कि भन्ने कुरा त छलफलमा गएपछि थाहा हुन्छ नि । उहाँलाई त्यस्तो लाग्न सक्छ । कसैलाई ठीक लाग्न सक्छ । कसैलाई बेठीक लाग्न सक्छ । विवाद त भइरहन्छ नि । त्यसको समाधान छलफल गर्दै जाँदा निष्कर्षमा पुग्नु पर्ने हुन्छ । भन्ने त उहाँको अधिकार हो । हामी महाधिवेशनको नजिक नजिक छौं । २०७७चैतमा महाधिवेशन भनिरहेका छौं । यी विवादहरूलाई, यी प्रतिवेदनहरूलाई र आफ्ना आफ्ना विचारहरूलाई महाधिवेशनमा लगेर पनि हल गर्न सक्छौं । अहिले सके अहिल्यै सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिको मिटिङमा हल गर्छौं । कयौं विषयहरू महाधिवेशनमा हल गर्ने खालका पनि छन् । त्यसकारण महाधिवेशनसम्म गएर भए पनि हामी नेकपाको विवाद हल गर्छौं । 


० सहमति त हुने सम्भावना देखिँदैन । बहुमतमा निर्णय गर्नुप¥यो भने के हुन्छ ?
–पार्टीभित्र बहुमत हुन्छ । अल्पमत हुन्छ । कहिले एउटा र कहिले अर्को बहुमतमा पर्छ । यी कुरा त भइरहन्छन् । पहिलो कुरा त हामीले पार्टी एकतालाई अझै पूर्णता दिइसकेका छैनौं । र,पार्टी एकताका अधुरा कामहरूलाई पूरा गर्नुपर्ने छ । हामीले पार्टी एकता गर्दा जे किसिमको मान्यता स्थापित गरेका छौं त्यसलाई पनि हामीले गम्भीरतापूर्वक बुझ्न जरुरी छ । दोस्रो कुरा हामीले हाम्रो विधान र प्रतिवेदनलाई पालनासँगै लागू गर्नुपर्नेछ । यी सबै कुराहरूलाई सँगै राखेर अहिलेका विवादहरूलाई, आएका र आउने प्रतिवेदनहरूलाई सँगै राखेर नेता, कार्यकर्ता तथा विभिन्न स्तरका कमिटीहरूले गम्भीरतापूर्वक छलफल गरेर सकेर समग्रमा निचोड निकाल्छौं सकेनौं भने सापेक्ष रुपले जति आवश्यक छ वा निर्णय गर्दा फाइदा गर्छ त्यति गर्छौं । सके सबै निर्णय गर्छौं नभए आंशिक गर्छौं । बाँकी रहेको आंशिक महाधिवेशनमा जान्छ । यो निरन्तर चलिरहन्छ । 


० दुवै अध्यक्षका प्रतिवेदन नै छुट्टाछुट्टै पेश हुने भएपछि सहमति नै भन्ने त कहाँ होला र ?
–पार्टी एकताको विशिष्ट परिस्थितिमा पार्टी एकताका हाम्रा मान्यता छन् । हामी जे निर्णय गर्नेछौं सहमतिमा गर्नेछौं भन्ने पनि छ । महाधिवेशनसम्म हामी सहमतिमै निर्णय गर्नेछौं भन्ने खालको पनि हाम्रो पार्टी एकताको म्यान्डेट छ । अर्को फेरि विधानमा के छ भने बहुमत र अल्पमतबाट विषय टुङ्ग्याइने छ भन्ने छ । यी सबै हाम्रा कमिटीहरूमा छलफल हुन्छन् । छलफलपछि हामी एउटा निष्कर्षमा पुग्छौं । 


० यसले पार्टी फुटको संकेत दिइरहेको पनि भनिन्छ नि ?
–जो कोही नेताले चाहँदैमा पार्टी फुट्ने होइन ।कसैले पनि पार्टी फुटाउन खोजेको मलाई लाग्दैन । हामीले एकतालाई केन्द्र बिन्दूमा राखेर बहस गर्छौं । यदि यतिबेला नेपाल कम्युनिष्ट पार्टी मात्र हैन नेपाली कांग्रेस लगायतका अन्य दलहरूमा पनि विभाजन भयो भने परिवर्तनका मुद्दाहरू ध्वस्त हुने खतरा बढ्दै छ । त्यसकारणले हामीले त्यसलाई पनि केन्द्रबिन्दूमा राखेर राष्ट्र, जनता, विकास र समृद्धिप्रति बढी गम्भीर भएर पार्टी एकतालाई केन्द्रबिन्दूमा राखेर अगाडि बढ्नु पर्छ ।


० त्यसो हो भने नेकपा फुट्दैन भनेर विश्वास गर्न सकिन्छ हो ?
–हामी नेकपाका नेता, कार्यकर्ताहरू हाम्रा उपलब्धिहरूलाई नगुम्ने गरी लाग्नुपर्छ । यदि हामी कुनै मूर्खतावश लागेर नेकपामा विभाजन भयो भने नेकपामात्र फुट्दैन जनआन्दोलन, जनक्रान्तिले ल्याएका सम्पूर्ण उपलब्धिहरू गुम्ने खतरा हुन्छ । राष्ट्रियता र अखण्डतासमेत खतरामा पर्ने स्थिति छ । त्यसकारण एकतालाई केन्द्रबिन्दूमा राखेर बैठकहरूमा बहस गर्छौं । परिवर्तन नगुमुन् भन्ने चिन्ता नेकपाका नेताहरूलाई मात्र हैन विपक्षी दलहरू र जनतालाई पनि छ । स्थायीत्वबाट देश अलिकति तलमाथि पर्ने हो कि भन्ने शंका पनि  देखा परिरहेको छ । त्यसलाई पनि मध्यनजर गरेर बहस केन्द्रीत गर्नेछौं । 


० दुई अध्यक्षले आपसमा पोलापोल गर्दा गुट त झन् दरिलो भयो नि ?
–खुला रुपमा आफूलाई लागेका कुराहरू सतहमा आउँदा समाधान गर्न सजिलो हुन्छ । यी विषयहरू प्रचण्ड वा केपी शर्मा ओलीबाट आएका छन् ती उहाँहरूबाट मात्र हैन हामीहरूबाट पनि आउन सक्छन् । उहाँहरूले ल्याएका विचारमा सहमति गरेर जानुपर्छ भन्ने जरुरी छैन । यसलाई त हामीले स्वागत र सम्मान गर्न पर्दछ । छलफल गर्दै जाँदा समर्थन र विरोध पनि गर्न सकिन्छ र हुँदै जाँदा निष्कर्षमा पुग्न सकिन्छ । यी विचार आउँदासाथ दुस्मनी हुन्छ र यसलाई पार्टीलाई विभाजनतिर लान्छ र अब रोक्न सकिन्न भन्ने हुँदैन । सही के हो र गलत के हो भन्ने पार्टीले जजमेन्ट गर्छ । यसबाट आत्तिनु, मात्तिनु र तर्सित हुनुपर्ने जरुरी छैन । 


० अहिलेको विवाद त दुई अध्यक्षको व्यक्तिगत टकराव पनि हो नि ?
–केपी शर्मा ओली र प्रचण्ड कमरेड व्यक्तिमात्र हैन संस्था पनि हो । उहाँहरूले त त्यत्रो पार्टीको अध्यक्ष सम्हालेर आइरहनु भएको छ । उहाँहरूले व्यक्तिगत विचार राखे पनि पार्टीले सरोकार राख्छ । पार्टीमा बहस हुन्छ । 


० प्रधानमन्त्री ओली संसदमा बहुमतमा रहिरहने सम्भावना छ कि छैन ?
–अहिले बनावटी रुपमा अगाडि बढ्नु भन्दा पनि अहिले प्रस्तावहरू आइराखेका छन् । केपी कमरेडले पनि ल्याउनु होला । अरुहरूले पनि ल्याउनु होला । नेताहरूलाई स्वतन्त्रता छ । पहिले नै रेडिमेड बहुमत छ वा अल्पमत छ भन्नुभन्दा पनि त्यो त पार्टीको कमिटीमा गएर छलफल गरेपछि समर्थन वा विरोध भन्ने हुन्छ । अहिले नै निक्र्योलमा नपुगौं । 


० सचिवालयको औचित्यबारे पनि प्रश्न उठ्यो नि ?
–अहिले हामीले सचिवालयको औचित्य छ कि छैन भन्नु भन्दा पनि सचिवालयले कयौं चिजहरूको निष्कर्ष निकाल्न सकिरहेको थिएन । सचिवालय के हो र कस्तो बडी हो भन्ने विषयमा पनि छलफल हुन्छ । यसको कति अधिकार हो, दैनिक काम गर्ने कमिटी हो कि साँच्चै निष्कर्ष निकाल्ने कमिटी हो भन्ने कुरामा पनि हाम्रो छलफल हुन्छ । त्यसपछि निर्णयमा पुग्छौं । कामको दौरानमा देखापर्ने कुरा हो । 


० अन्तिममा, मंसिर १३ को सचिवालयदेखि सुरु भएको रक्साकस्सी केन्द्रीय समितिसम्म पुग्दा पार्टी सग्लो रहला ?
–हामी अन्तिमसम्म एकतावद्ध भएर निस्कन्छौं । त्यसको अर्को विकल्पै छैन । 
 

प्रतिकृया दिनुहोस