• शुक्रबार-चैत-१६-२०८०

छठले राष्ट्रिय एकतालाई  सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत  विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य  र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन   प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् । छठ पर्व, ०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि  शुभकामना व्यक्त गर्दै उनले विश्वव्यापी रूपमा फैलिएको  कोभिड–१९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गरेकी छन् । 


छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् । 


नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि पञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजार्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न  गर्नाले मनोवाञ्छित फल पाइने,समाज र परिवारको  कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट  हटेर जाने जनविश्वास छ । 

प्रतिकृया दिनुहोस