काठमाडौं । विद्यार्थी र क्याम्पस प्रशासनको मिलेमतोमा परीक्षाको आन्तरिक अंक बाँडफाँड गर्ने गरेको भेटिएको छ । जनप्रशासन क्याम्पस बल्खुका विद्यार्थी र क्याम्पस प्रशासनको मिलेमतोमा आफू अनुकूलको अंक लेनदेन हुने गरेको तथ्य असोज दोस्रो फेला परेको हो ।

२०७७ असोज ९ गते क्याम्पस प्रमुख हरिभक्त शाहीले आन्तरिक परीक्षाको नतिजा प्रकाशनमा चित्त नबुझेमा परीक्षा शाखामा निवेदन दिन आग्रह गर्दै सूचना प्रकाशन गरेका छन् । क्याम्पस प्रमुख शाहीले २०७७ असोज १५ गतेभित्र निवेदन दिन विद्यार्थीलाई भनेका हुन् ।

सूचना अनुसार क्याम्पसमा अध्ययनरत बिपिए प्रथम, तेस्रो, पाँचौ र सातौ समेष्टेर र एमपिए दोस्रो र चौथो सेमेष्टरको आन्तरिक परीक्षाको नतिजा प्रकाशनमा चित्त नबुझेको छ भने असोज १५ भित्र परीक्षामा निवेदन दिन भनेका सूचना सार्वजनिक गरेका छन् ।
त्यसको प्रतिउत्तरमा असोज ११ मा ती सबै तहका विद्यार्थीले अंक चित्त नबुझेको भन्दै निवेदन दिएका थिए । विषय शिक्षकले गैरजिम्मेवार ढंगले आन्तरिक परीक्षाको अंक दिएको भन्ने उनीहरुको विरोध छ ।
अंक चित्त नबुझाउने कुरा विद्यार्थीको स्वभाविक प्रतिक्रिया हो, त्यसमा विरोध हुन सक्छ । तर क्याम्पस प्रशासनमाथि उठेको गम्भीर प्रश्न भने आन्तरिक परीक्षाको अंक विद्यार्थीले कसरी थाहा पाए ? डीन कार्यालयले लिखितको समेत परीक्षाको नतिजा सार्वजनिक गरेपछि आन्तरिक परीक्षाको अंक कसरी फेरबदल गर्न सकिन्छ ?
यो गम्भीर प्रश्न उठाएर क्याम्पस प्रशासनले विद्यार्थीसँगको गैरजिम्मेवारीपूर्ण साँठगाँठमा अनैतिक रुपमा अंक तलमाथि गर्न लागेको स्पष्ट भएको छ । विगतमा पनि जनप्रशासन क्याम्पसले यसरी अंक तलमाथि मात्र होइन, प्रश्न पत्र आउट गर्नेदेखि थेसिसमा अनेकन जालझेल हुने गरेको विषय छताछुल्ल हुँदै आएको छ ।




