• बिहीबार-चैत-१५-२०८०

लोकसेवा आयोगको परीक्षामा पनि सेटिङ ! : अध्यक्षले दोषीलाई प्रहरीको जिम्मा किन लगाएनन् ?

 

काठमाडौं । लोकसेवा आयोगले परीक्षामा सेटिङ गर्ने विज्ञ र कर्मचारीलाई कारबाही नगरी चोख्याउँदैआएको छ । आयोगले गरेको छानबिनमा आयोगकै विज्ञ र कर्मचारीले सेटिङ गरी योग्यता, स्वच्छता र निष्पक्षता नअपनाई चाहेको ब्यक्ति पास गराउन खोजेको पुष्टि हुँदा पनि आयोगका अध्यक्ष उमेश मैनालीले कारबाही नगरी दोषीलाई विभागीय कारबाही गर्ने भनेर उन्मुक्ति दिएको जानकारी हुन आएको छ । लोकसेवा आयोगमा ६ महिनाको बीचमा ३ पटकसम्म परीक्षामा सेटिङ भएको घटना सार्वजनिक भएको छ । 
प्रमाणसहित उजुरी परेका कारण आयोगले परीक्षा स्थगित गरे पनि सेटिङमा संलग्नमाथि कारबाही नगरी उनीहरूलाई उन्मुक्ति दिइएको छ । 


 आयोगले आन्तरिक कारबाही भइरहेको बताउँदै ढाकछोप गर्दैआएको छ । आयोगले परीक्षामा सेटिङ गर्नेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को जिम्मा लगाउनुपर्नेमा आन्तरिक कारबाही गरेको भन्दै उन्मुक्ति दिएपछि यसमा लोकसेवाका पदाधिकारीसम्मै सेटिङ भएको आशंका गर्ने पर्याप्त ठाउँ दिएको छ । कसैले भ्रष्टाचार वा संगठित अपराधमा सघाउँदछ भने त्यसमा प्रहरीले अनुसन्धान गर्न पाउँछ । तर लोकसेवा आयोगले परीक्षामा सेटिङ गर्ने विज्ञ र कर्मचारीलाई आन्तरिक कारबाही गरेको भन्दै प्रहरी प्रहरीलाई अनुसन्धान गर्न नदिएको स्रोत बताउछ । 


 लोकसेवा आयोग जस्तो संवैधानिक निकाय जसको स्वच्छता र निष्पक्षतामाथि जनतामा अगाध विश्वास छ, त्यस संस्थाले लिने परीक्षामा सेटिङ गर्नेलाई प्रहरीले अनुसन्धान गर्न पाउनुपर्छ, ती दोषीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही गर्नुपर्ने माग गर्दै प्रहरी महानिरीक्षकको सचिवालयमा २०७७ भदौ २६ मा उजुरी परेको छ । पत्रकार माधव पौडेलले दिएको उजुरी कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको जानकारी आइजीपी सचिवालयले दिएको छ । तर महानगरीय प्रहरी कार्यालयले उक्त उजुरीउपर कुनै पनि कारबाही अगाडि बढाएको जानकारी दिएको छैन ।


परीक्षामा भएको पहिलो सेटिङ
नेपाल वायुसेवा निगमको विज्ञापन नम्बर १९–२०–०७५–७६ को प्रशासन सहायक चौथो (खरिदारस्तर)को लिखित परीक्षा २०७६ जेठ ११ मा सञ्चालन भएको थियो । अधिकृत शाहीले वस्तुगत परीक्षामा आउने ५० प्रश्नहरूको सबै उत्तर ‘सी’ मात्रै लेखेर बाहिरिन भनेका थिए । उत्तर पुस्तिका जाँच्ने क्रममा ‘सी’ लाई ‘ए’ ‘बी’ र ‘डी’ बनाएर सच्याउनका लागि उनले त्यसो गरेका थिए । वस्तुगत परीक्षामा ५० वटै उत्तर मिलेको देखिएपछि आयोगले शंका लागेर छानबिन गर्दा पछि उत्तर सच्याएको प्रमाणित भएको थियो । विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछि सच्याएको प्रमाणित भएसँगै उक्त घटना बाहिर आएको थियो ।

 

छोरी विमला शाहीलाई लोकसेवाबाट सञ्चालन हुने लिखित परीक्षामा आगामी दुई वर्षसम्म सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ । यो घटना मिति २०७६ जेठ ११ को हो । मिमबहादुर शाहीले गरेको कसुर सरकारी सहीछाप कीर्ते वा भ्रष्टाचार निवारण ऐनको दफा १३ अनुसार भए पनि लोकसेवा आयोगले विभागीय कारबाही अन्तर्गत ५ बर्ष बढुवा रोक्का गरी ढाकछोप ग¥यो । यो कसुरमा प्रहरीले अनुसन्धान गरी भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा दायर हुनुपर्नेमा विभागीय कारबाहीका नाममा अध्यक्ष उमेश मैनालीले शाहीलाई चोख्याउने काम गरेको आरोप लागेको छ ।


दोस्रो घटना


लोकसेवा आयोगको विज्ञापन नं. १७१६७÷०७६–०७७ बाट बिबिध सेवा, राजपत्रांकित प्रथम श्रेणी(सहसचिव), सूचना प्रविधि विज्ञको पदपूर्तिको लागि संचालित लिखित परीक्षामा १० जना सहभागी थिए । तीमध्ये एक परीक्षार्थी थिए राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभाग, सिंहदरबारमा उपसचिव पदमा कार्यरत सुवास ढकाल । २०७६ पुसमा लिखित परीक्षा हुँदा प्रश्न चयनकर्ताको जानकारी लोकसेवाका कर्मचारीमार्फत् सुवास ढकालले पाएका थिए । 


स्रोतका अनुसार, परीक्षाको कपी जाँच्ने विशेषज्ञमा सुवास ढकालले सिफारिस गरेका विज्ञहरू संजीव पाण्डे, लक्ष्मी यादव, अनुप बाँस्कोटा र वीरेन्द्र मिश्रलाई लोकसेवा आयोगबाट आमन्त्रण गरियो । परिणामस्वरुप ३ जना परीक्षार्थीमा सुवास ढकाल सर्टलिष्टमा परे । लिखित परीक्षामा सेटिङ भएको जानकारी लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई दिए पनि उनले बेवास्ता गरे । उनकै छत्रछाायाँमा भएको सेटिङ भएकाले उनले उजुरी पर्दा पनि वास्ता गरेनन् भन्ने गंभीर आरोप अध्यक्षमाथि लागेको छ ।  


२०७७ असार ३१ गते मौखिक अन्तर्वार्तामा पनि सुवास ढकालले सेटिङ गरेका छन् भनी लोकसेवा आयोगका अध्यक्ष मैनालीलाई नेपालका मिडियाका विभिन्न स्रोतबाट जानकारी दिइए पनि उनले खासै महत्व दिएनन् । अन्तर्वार्ताको दिन बिहान एक अनलाइनका सम्पादकले आयोगका अध्यक्ष मैनालीलाई सो दिनको अन्तर्वार्ताका विज्ञहरूको नामावली बताइदिए । आफूबीच भएको वार्तालाप रेकर्ड भइरहेको जानकारी पनि उनले मैनालीलाई दिए ।

 

ती सम्पादकले लोकसेवा आयोगले तोकेका विज्ञको नाम सार्वजनिक गरिदिने जानकारी गराएपछि आयोगको परीक्षामा भएको सेटिङको पोल खुल्ने डरले अध्यक्ष मैनालीले आफूलाई चोखो देखाउन हतार हतार परीक्षा रद्द गर्ने निर्णय गरेका थिए । सुवास ढकालसहितका परीक्षार्थीले लिखित परीक्षामै सेटिङ गरेको जानकारी दिंदा पनि बेवास्ता गरेका मैनालीले अन्तर्वार्तामा गोप्य रहने विज्ञको नाम पहिले नै सार्वजनिक गरिदिने भनेपछि उनी परीक्षा रद्द गर्न बाध्य भएका थिए । 


नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य संगठित संस्थाले संचालन गर्ने परीक्षामा अनियमितता हुन्छ भनेर लोकसेवा आयोगले परीक्षाको कपी जाँच गर्दछ, अन्तर्वार्तामा आयोगका पदाधिकारी वा प्रतिनिधि बस्ने गर्दछन् । तर लोकसेवा आयोगले लिने परीक्षामा राखिएका विज्ञहरू नै बिकाउ भएको तथ्य माथिका घटनाबाट पुष्टि भएको छ । 


लोकसेवा आयोगका आयुक्तहरूको सेटिङमा विज्ञ झिकाउने र चाहेअनुसार नतिजा निकाल्ने हो भने यस्तो कार्यलाई असल नियतको कार्य कदापि भन्न मिल्दैन । र, यो संगठित अपराधको श्रेणीमा पर्दछ । अतः यस्ता अपराधको विस्तृत छानबिन गरी दोषीलाई संजाय दिलाउनका लागि प्रहरी प्रधान कार्यालयले सीआइबीमार्फत् लोकसेवा आयोगको परीक्षामा सेटिङ गर्ने दोषीहरूलाई तत्काल नियन्त्रणमा लिई छानबिन गर्न उजुरीकर्ता पत्रकार पौडेलले माग गरेका छन् । 


उजुरीमा उल्लेख छ–प्रहरी महानिरीक्षक मातहत केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) रहेको छ  । ब्यूरोको गठन आदेशको दफा ६(क)मा सरकारी मुद्दा सम्बन्धी ऐन लगायत संगठित वा सार्वजनिक चासोको मुद्दा वा राष्ट्रिय हित वा सरोकारको दृष्टिले अति संवेदनशील महसुस गरी उजुरी दिइएको उल्लेख छ । यस्ता गम्भीर अपराधमा अनुसन्धान गर्ने जिम्मा सीआइबीले पाएको छ । 


लोकसेवा आयोग राष्ट्रिय हित वा सरोकारका दृष्टिले अति संवेदनशील संस्थामा पर्दछ । लोकसेवाको पारदर्शीता सार्वजनिक चासोको बिषय हो । यस्तो पवित्र संस्थामा अध्यक्षलगायत पदाधिकारी र कर्मचारीले संगठित रुपमा परीक्षाको परिणाम निकाल्ने कार्य बारम्बार भइरहेको छ । तर उनीहरूका षडयन्त्र पर्दाफास हुँदा पनि विभागीय कारबाहीको नाममा ढाकछोप भइरहेको छ । आयोगले लिएका तीन वटा परीक्षामा भएका सेटिङ छताछुल्ल भएका छन् । तर उमेश मैनाली अध्यक्ष भएदेखि नै आयोगमा आफ्नो चाहना अनुसारका कर्मचारीमात्र सरुवा गर्ने गर्दैआएको आरोप छ । अध्यक्षले आयोगमा विगतदेखि नै सेटिङकर्ताहरूलाई साथ दिंदै आएको र अहिले आएर मात्र पर्दाफास भएको आयोग सम्बद्ध कर्मचारी स्रोत बताउँछ । 


 आयोगका पदाधिकारीबाटै संरक्षित यस्ता अपराधपूर्ण काममा संलग्नलाई हदैसम्मको संजाय गराउने उद्देश्यले उजुरी गरेको पत्रकार पौडेलले उल्लेख गरेका छन्–लोकसेवा आयोग नै संगठित अपराधीको कब्जामा पर्नु दुर्भाग्यपूर्ण हो । सुवास ढकाल जस्ता उपसचिव तहका कर्मचारी लोकसेवा आयोगका निर्णायक हुनसक्दछन् भने उच्च प्रशासकहरूको नियुक्ति र निर्णय सम्बन्धमा के आशा राख्न सकिन्छ ? आयोगको साखमाथि नै गम्भीर प्रश्न खडा हुन पुगेको छ । 


 फौजदारी अपराधलाई विभागीय संजायले ढाक्न सक्दैन । परीक्षामा भएको मिलेमतोमा लोकसेवा आयोगका पदाधिकारीहरू सामेल भएका छैनन् भने परीक्षामा सेटिङ गर्नेहरूलाई प्रहरीको जिम्मा लगाउन किन सक्दैनन् ? दोषीलाई किन विभागीय कारबाहीका नाममा उन्मुक्ति दिने कार्य भइरहेको छ ? परीक्षा रद्द गर्नेलाई विभागीय कारबाहीका नाममा यसैगरी उन्मुक्ति दिने हो भने उनीहरूले भोलि अर्को अपराध गर्नेछन् । अतः विगतका अपराध कोट्याउँदै भविष्यमा अपराध रोक्नका लागि अनुसन्धानमा विश्वमै अग्रपंक्तिमा रहेको नेपाल प्रहरीले आवश्यक कदम चाल्नुपर्छ ।

 

लोकसेवा जस्तो लोकले मान्दै आएको पवित्र संस्थाले लिने परीक्षामा समेत सेटिङ हुन थालेपछि राष्ट्रका लागि दुर्भाग्यपूर्ण घटना हो ।  यस्तो अपराधको आरोप लागेकाहरूलाई नियन्त्रणमा लिई छानविन गरेर कारबाही गर्नुपर्छ । लोकसेवा आयोगको साख जोगाउनुपर्छ । नेपाल कानुनले पनि आयोगको परीक्षामा सेटिङ गर्ने दोषीलाई छानबिन गर्न प्रहरीलाई रोक लगाएको छैन । सीआइबीसँग भएको विशेष तथा गोप्य अनुसन्धान प्रणालीबाट यो सेटिङको पर्दाफास गरी लोकसेवा आयोगको साख र विश्वसनीयतालाई कायम राख्नु पर्ने माग कर्मचारी र नागरिकबाट उठेको छ । 


कर्मचारी सरुवामा मैनालीको चासो


सामान्य प्रशासन मन्त्रालयले हरेक २ बर्षमा निजामती कर्मचारीको सरुवा गर्दछ । तर लोकसेवा आयोगका अध्यक्ष मैनालीले आयोगमा कर्मचारी सरुवामा विशेष चासो दिंदैआएका छन् । उनले आयोगमा कर्मचारी भरिसक्य आस्थाका आधारमा नेपाली कांग्रेस निकटलाई मात्र छान्ने गरेको बिषयमा  समाचार यसअघि पनि साँघुले प्रकाशित गरेको थियो । 


अध्यक्ष मैनालीमाथि कार्यकालमा आयोगमा अन्य दलमा आस्था राख्ने र निकट कर्मचारीलाई प्रवेश नै बर्जित गरिएको आरोप पनि लागेको छ । अध्यक्ष मैनालीले आयोगमा भएका निजामती कर्मचारी संगठन समर्थक कर्मचारीलाई आएको एक बर्षमै बाहिर खेदेर कांग्रेस निकट त्यसमा पनि आफ्ना चिनेकाहरूलाई मात्र प्राथमिकता दिएर ल्याउने गरेको आरोप छ । 


तल्लो तहदेखि माथिल्लो तहसम्मै उनले कर्मचारी आफ्नो चाहना अनुसारका मात्र ल्याएको आरोप छ । परीक्षामा सेटिङ गर्नकै लागि उनले कर्मचारी सरुवामा समेत चासो राख्ने गरेको खुलेको छ । कर्मचारी स्रोतका अनुसार, छोरी बिमला शाहीको उत्तरपुस्तिका सच्याएर लेख्ने मिमबहादुर शाही पनि नेपाली कांग्रेस समर्थक र अध्यक्ष मैनालीे नै रुचाएर ल्याएका कर्मचारी हुन् ।  (साँघु साप्ताहिक, २०७७ असोज १२)

प्रतिकृया दिनुहोस