• शुक्रबार-बैशाख-७-२०८१

उदयपुर समेन्टमा काम गर्ने १०३ मजदुर सेवा सुविधाबाट वञ्चित

न्यायका लागि उद्योगसँग गुहार

 

कामठाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत मजदुरमाथि शोषण भएको पाइएको छ । सिमेन्ट उद्योगमा मजदुर सप्लाई गरेको कस्तुरी सेक्युरिटी प्रालिले उद्योगले तोकेको सेवा सुविधा नदिएर मजदुरमाथि शोषण गरेको हो । 


उद्योग र कस्तुरी सेक्युरिटी प्रालिबीच ०७५ चैत १३ गते १०३ जना श्रमिक लिने/दिनेे सम्झौता भएको थियो । जुन सम्झौताको २२ नम्बरमा श्रम ऐनमा रहेको सम्पूर्ण सेवा सुविधाहरू जनशक्ति आपूर्तिकर्ताले श्रमिकहरूलाई प्रदान गर्नुपर्ने उल्लेख छ । 

 

सम्झौतामा सेवा सुविधासहित बीमा, सामाजिक सुरक्षा कोष, सञ्चय कोष र बिदाको रकम दिन कस्तुरी सहमत भएकाे छ । ताेकिएकाे सुविधा उपलब्ध नगराएको गुनासो आएमा सोको जिम्मेवारी आपूर्तिकर्ताले नै लिने प्रष्ट व्यवस्था पनि सम्झौतामा छ । तर कस्तुरीले सम्झौता भएदेखि नै १०३ जना श्रमिकलाई तोकेको सुविधा उपलब्ध गराएको छैन  । 


कस्तुरी शौरभ कार्कीले सञ्चालन गरेको मजदुर सप्लायर्स कम्पनी हो । यसले निर्माण कार्यका लागि मजदुरसँगै सुरक्षाकर्मीसमेत उपलब्ध गराउँछ । 



उद्योगमा कार्यरत १०३ श्रमिकमध्ये ४५ जना मजदुरले उद्योगले तोकेको सेवा सुविधासहित बीमा, सामाजिक सुरक्षा कोष, सञ्चय कोष र बिदाको रकमसँगै ५ हजार रूपैयाँ धरौटी रकम नपाएको गुनासो गर्दै निवेदन दिएको उद्योगका निमित्त महाप्रबन्धक नवल किशोर साहले साँघुसँग बताए ।  


‘०७५ चैत १३ गते २ वर्षका लागि १०३ जना मजदुर आवश्यक परेका समयमा लिने गरी कस्तुरीसँग सम्झौता गरेका थियौं,’ नायब महाप्रबन्धक साहले साँघुसँग भने, ‘तर उसले हामीसँग मजदुरको सबै रकम लिए पनि सुरुदेख नै सेवासुविधासहित बीमा, सामाजिक सुरक्षा कोष र बिदाको रकम दिएको रहेनछ ।’

 

 त्यसबारे मजदुरले निवेदन दिएपछि आवश्यक कागजात मगाइएको नायब महाप्रबन्धक साहले जानकारी दिए । तोकिएको समयमा कागजात उपलब्ध नगराएमा भने कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने साहले बताए । 

 

यसबारे जानकारी लिन कस्तुरीका सञ्चालक कार्कीसँग सम्पर्ककाे प्रयास गरे पनि सफल हुन सकेन । 

सेवा सुविधाको माग गर्दै मजदुरले उद्योगलाई दिएको निवेदन 

प्रतिकृया दिनुहोस