• मंगलबार-बैशाख-४-२०८१

८३ वर्षीय राजा हेराल्ड विरामी विदामा बस्ने

 


म्याड्रिड, १३  असोज (रासस/एएफपी) : नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता विरामी विदामा बस्नुहुनेभएको यहाँको दरबारले जानकारी गराएको छ । 

 

गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि असाेज १२ गते   सोमबार घर फर्किएका उहाँलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ ।

 

अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्थाको अस्पतालले समीक्षा गरिरहेको छ । हेराल्ड आगामी अक्टोबर ४ गतेसम्म विदामा बस्नुहुनेछ ।”

 

उनान्तीस बर्षदेखि नर्वेको राजागद्दीमा रहेका राजा हेराल्डलाई शुक्रवार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।

 

उहाँलाई श्वासप्रश्वासको समस्या रहेको बताइएको तर उहाँलाई कोभिड–१९ सङ्क्रमण भने नभएको दरबारले उल्लेख गरेको छ । 

 

उहाँको अनुपस्थितिमा राजकुमार हाकनले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ । 

 

सन् १९६४ को टोकियो ओलम्पिकमा भाग लिनुभएका उहाँ युवाअवस्थामा जलक्रिडामा रमाउने गर्नुहुन्थ्यो । राजा हेराल्डलाई नर्वेजियालीहरूले एकताका प्रतीकका रूपमा हेर्छन् ।

 

उहाँले स्वास्थ्यमा देखिएको समस्याका कारण तत्काल गद्दी त्याग्ने विचार लिइनसकेको बताइएको छ । उहाँलाई जनवरीमा पनि चक्कर लागे पछि अस्पतालमा एक हप्ता राखिएको थियो । 

 

करिब २० वर्ष पहिले उहाँको मुत्राशयमा क्यान्सर देखिएपछि शल्यक्रिया गरिएको थियो । त्यसपछि सोही दशकमा मुटुको ‘भल्भ’ को पनि उपचार भएको थियो ।
 

प्रतिकृया दिनुहोस