‘सहनशीलता’ यदि रिजिलेन्सको भावानुवाद मान्ने हो भने
आजको दिनमा यसलाई
चुरे र भित्री मधेशका दुरदराजका बस्तीहरूमा औधि भेट्न सकिन्छ ।
यसलाई टुकुचाको किनारमा रजगज गर्ने
सरकार र सरकारका तावेदारहरूको कार्य क्षमताको अनुवादमा हेरिनु हुन्न ।
त्यति मात्रै हो ।
कमला किनारको माथिल्ला तटवर्ती बस्तीहरू
र, बरियारपट्टिसित सीमा जोडिएका गाउँहरूमा
हुलका हुल मानिसहरू जीवन निर्वाहसित भिड्न
महान तर जीवनदायी शिल्पहरू खोजि हिंडिरहँदा रिजिलेन्स तिनमा भेट्न सकिन्छ ।
सरकार राजनैतिक, आर्थिक र सामाजिक सबै कोणमा न्युल एण्ड भ्वायड छ ।
सरकार हुनु न बेचन सित हिसाब छ, न त बेचनी सित ।
अघिल्लो पुरुष र पछिल्लो महिलाहरूका लागि बेसी प्रयोग हुने, नाउँ हुन ।
र, दुबै अकाल मृत्यु अघि समर्पणमा त्यागेको अर्थमा बाउ र आमाले जुराएका हुन्छन् ।
आजको दिनमा मुलुकमा रहेको शर्तमा
ती सबै,जीवन बाँचेको प्रति कृतज्ञ छन, र मृत्युसित बेचेको भावमा बाँचेका छन् ।
लकडाउन खुले पछि सबैको बहिखाता खुल्ला छ ।
म यै खुल्ला बहिखाता हेर्दै हिंड्या छु ।
को कतिमा बिक्दा र कतिमा बेचिंदा नेपाली भएर बस्दा हुन भनेर ।
परीक्षणका लागि भित्री मधेश र चुरे खोंचका बहिखाता निकाले भो ।
कम्तीमा महालेखाको लेखापरीक्षणमा ती कैफियमा देखिदैनन् ।
लकडाउन र लकडाउन अबधिको सही हिसाबको योभन्दा स्वतन्त्र महालेखा हुनै सक्तैन ।
कतै न देखिने अदृश्य नागरिकको अदृश्य परीक्षण ।
यतिखेर, कसले विद्रोह सल्काउँछ, त्यसको प्रतिक्षा मात्रै छ ।
मुलुकमा हुनु र नहुनु सित तिनको नातो पनि छैन, न त गुनासो नैे ।
सरकारले तिनलाई न दुखाउँदा बेस ।
तिनीहरूसित चोट मात्रै यति विघ्न छन् कि
तिनले भोक पनि बिस्र्या छन, र भविष्य पनि ।
एउटा उदास तस्बिर मात्रै ठिड्ड उभिन्छ ।
तपाई लहानको पडरिया चोकमा उभ्भिएर दक्षिणतिर हेर्नुस् मात्रै ।
तपाईलाई यो देश पनि दुख्ने छैन, न त यो देशको सरकार ।
सबका सब निरपेक्ष र सबका सब निस्सार ।
सरकारको ढुुकुटीमा रत्यौली खेलि बस्नेहरूले
रत्यौलीमा नक्कली भेषको महिला हुनु र पुरुष हुनुको भेद पनि बुझ्ने छैनन् ।
कुनै एउटा अपरिचित गाउँले बटुवालाई कोट्याउनुस् मात्रै
ऊ स्वेटरको धागो उध्रिए झै उध्रिदिन्छ ।
तिनको लागि देउता पनि देब्रिएर उभ्भिन्छन् ।
एउटा गज्जबको कोलाज तस्बिर बन्छ ।
आफ्नो हात जगन्नाथ शैलीको ….. ठट्यौलीमा ।
सरकारलाई केन्द्रमा राखेर तपाई कतै यायावर हुनुस्
धरोधर्म तपाईलाई देश दुख्दैन ।
धरोधर्म तपाईलाई देशमा हुने कुरा दुख्दैन ।
तपाईसित आकस्मिक स्वास्थ्यसेवा निशुल्क पाउने संविधान छ ।
तपाई सित बिना कुनै कारण भोको बस्न नपर्ने सुरक्षित हक प्राप्त छ ।
तपाई सित भाग ३ मा १६ देखिन ४६ सम्मनका मौलिक हक छन ।
र, अमुक अमुक धाराहरूले संविधानको सुरक्षा गर्ने सरकार छ ।
त्यति भएनि पुगेन भने
तपाई सित दश गजामा सुसु गर्ने गरि
देशबाट बाहिरिने अधिकार पनि सुरक्षित छ ।
योभन्दा अधिकार सम्पन्न सार्वभौम नागरिक
अरु कतै छन् ?
जुन देशमा म सित भन्ने क्यै पनि छैन भन्ने अख्तियार प्रमुखसित जवावदेहिता छ ।
जुन देशमा सरकारको विरोध गर्दा मात्रै भाटे कार्यवाही हुन्छ भने
त्यो देशमा तपाई हुनुको अर्थ खोज्नु हुन्छ ?
मिलेन ।
यो दुःख तपाईको निजी हो ।
र, निजी दुखाईका लागि देश र सरकारको जवावदेहिता रहन पर्छ भन्ने छैन ।



