• बिहीबार-चैत-१५-२०८०

पार्टी विवाद समाधान गर्न  नेकपा स्थायी कमिटीको बैठक 

 


काठमाडौँ, २६ भदौ   : गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समस्या समाधान कार्यदलको सुझावलाई थप गृहकार्य गरी ठोस कार्ययोजनाका रुपमा प्रस्ताव प्रस्तुत गरिनेछ । 


पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो । गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।

 

प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद् मा  आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् ।


नेकपामा गत २०७७ असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो ।(रासस)

प्रतिकृया दिनुहोस