विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देशभित्र देखिएसँगै नेपाली सेनाले उच्च सतर्कता अपनाएको थियो । तर सेना यसबाट अछुतो रहेन । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौड्यालका अनुसार, २०७७ भदाै १२ गते शुक्रबारसम्ममा ४ सय ३ सैनिक संक्रमित भइसकेका छन् ।
अनुशासन र उच्च सावधानीबीच सेनाभित्र देखिएको कोरोना संक्रमण, संक्रमितको उपचार र यसविरुद्ध लड्न नेपाली सेनाले तय गरेका रणनीतिलगायत विषयमा हामीले सैनिक प्रवक्ता पौड्यालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः सम्पादक
० विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट नेपाली सेना पनि अछुतो रहेन हगि ?
–स्वभाविक रूपमा नेपाली सेना पनि यो विश्वव्यापी प्रकोपबाट प्रभावित बनेको छ ।
० नेपाली सेनाभित्रको कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे बताइदिनुहोस् न ?
–२०७७ जेठ ३ मा पहिलो पटक सेनाभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको थियो । ०७७ भदौ १२ गतेसम्म आइपुग्दा विभिन्न तहका ४ सय ३ जना सैनिक संक्रमित हुनु भएको छ । यीमध्ये १ सय १६ जनाले स्वास्थ्यलाभ गरिसक्नु भएको अवस्था छ भने २ सय ८७ जना उपचारकै क्रममा हुनुहुन्छ । सुखद् पक्षचाहिँ अहिलेसम्म कसैको जीवन गुमेको छैन, नेपाली सेनाको सकल दर्जा आजको मितिसम्म सुरक्षित रहेको छ ।
० नेपाली सेनाले सुरुदेखि नै सावधानी अपनाउँदै आएको थियो, अनुशासित संस्थामा कोरोनाचाहिँ कसरी पस्यो ?
–सैनिकहरू कोरोना संक्रमित बनेपछि हामीले यसबारे अनुसन्धान गरेका थियौं । अनुसन्धानले सैनिकहरू कोरोना संक्रमित हुनुका तीन कारण औंल्याएको छ । पहिलो, शव व्यवस्थापन । यो हाम्रो सेनाको लागि नितान्त नौलो विषय थियो । त्यसैले हामीले तालिम दिएका थियौं । यद्यपि, शव व्यवस्थापन गर्ने साथीहरू संक्रमित हुनुभयो ।
० शव व्यवस्थापन पनि खतरा रहेछ नि त ?
–शव व्यवस्थापनमा दुई कुरा महत्त्वपूर्ण हुन्छन्– पीपीई लगाउने र फुकालेर डिस्पोज गर्ने । पीपीई फुकालेर डिस्पोज गर्दा संक्रमण फैलिने खतरा हुने रहेछ । त्यसैले यसबारे हाम्रो सेनालाई तालिम पुगेन कि भनेर फेरि दियौं । अहिले चाहिं सचेतना फैलाएका छौं ।
० संक्रमण हुनुमा खासमा कमी चाहिं केमा भएजस्तो लाग्छ ?
–शव व्यवस्थापनपछि क्वारेन्टाइन, आइसोलेसन र सीमामा ड्युटीमा खटिएकाहरूमा संक्रमण भएको छ । तेस्रो देशबाट आएकाहरूसँग डिल गर्ने क्रममा पनि केहीलाई संक्रमण भयो । सेनामा सामाजिक दूरी र सतर्कतामा कमी भयो कि भनेर सचेत हुन सर्कुलर गरेका छौं ।
हाम्रा भूपू सैनिकका परिवार र बहालवाला सैनिकमा कोरोना देखिएपछि सैनिक अस्पतालमा उहाँहरूको उपचार भइरहेको छ । यो क्रममा हाम्रा स्वास्थ्यकर्मीमा पनि संक्रमण भएको छ । २०७७ भदौ १२ गते शुक्रबार साँझसम्ममा २३ स्वास्थ्यकर्मी संक्रमित भइसकेको तथ्यांक मलाई प्राप्त भएको छ । यद्यपि, यीमध्ये केहीले भने स्वास्थ्यलाभ गरिसक्नु भएको अवस्था छ ।
० सबैभन्दा बढी प्रभावचाहिँ कुन क्षेत्रमा देखिएको छ ?
–भारतसँग सीमा जोडिएका क्षेत्रमा हामीले साथीहरूलाई परिचालन गरेका थियौं । त्यसैले अन्यको तुलनामा प्रदेश २ मा धेरै संक्रमित हुनुहुन्छ । प्रदेश २ पछिको संक्रमित संख्या भने कर्णालीमा छ । अन्यत्र भने खासै धेरे संक्रमण छैन ।
० संक्रमितहरूको उपचारको प्रबन्ध कसरी मिलाइरहनु भएको छ ?
–हामीले तीन किसिमले कोरोना संक्रमितहरूको उपचार गराइरहेका छौं । पहिलो, जिल्ला–जिल्लामा भएका नेपाल सरकारका अस्पतालमार्फत । अहिले जुम्लालगायतका विभिन्न जिल्लामा संक्रमित सैनिकको उपचार भइरहेको छ । संघीय राजधानी काठमाडौंमा हाम्रो वीरेन्द्र सैनिक अस्पताल छ । यहाँ अहिले ७१ जना उपचाररत हुनुहुन्छ । संक्रमण भएका र लक्षण नदेखिएकालाई चाहिँ सम्बन्धित ब्यारेकभित्र आइसोलेट गरेर उपचार गरिरहेका छौं ।
जिल्लामा चाप बढिरहेकाले ब्यारेकभित्रै पनि आइसोलेसनको व्यवस्था गरेका छौं । जहाँ संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएकालाई राखेका छौं । उहाँहरू आफ्नै स्वास्थ्यकर्मीमार्फत हेरचाह भइरहेको छ ।
० संक्रमितहरू बढ्दो क्रममा देखा पर्दैछन् । सेनामा पनि यसको जोखिम टरेको छैन । स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार के छ ?
–नेपाली सेनासँग पूर्वाधारहरू छन् । बाहिर बढी लोड परेकाले यसलाई थप गर्नेतर्फ सोचिरहेका छौं ।
० संक्रमणमुक्त भएकालाई ड्युटीमा फर्काउनेबारे पनि केही निर्णय भएको छ कि ?
– कोरोना संक्रमित भएकालाई हामीले प्रोटोकल अनुसार परीक्षण गर्छौं । परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको १४ दिनपछि उहाँहरूलाई ड्युटीमा लिन्छौं ।
०अत्यावश्यक कामका लागि बिदा बसेर फर्केकाबाट पनि संक्रमणको जोखिम छ भनिन्छ । उहाँहरूको व्यवस्थापनचाहिँ कसरी भइरहेको छ ?
-अत्यावश्यक काममा बिदामा बसेर फर्केकालाई राख्न हामीले हरेक व्यारेकमा क्वारेन्टाइन बनाएका छौं । बिदामा बसेर फर्केका सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्छौं । लक्षण नदेखिएकालाई काममा फर्काउँछौं भने देखिएकाको उपचार गर्छौं ।
शान्ति मिसनमा जाने र फर्कनेको हकमा पनि उच्च सतर्कता अपनाएका छौं । जाने र फर्कने दुवैलाई १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षणको रिपोर्टका आधारमा व्यवस्थापन गरिरहेका छौं ।
० सेनाका व्यारेकभित्र सामूहिक रूपमा खाना र अभ्यास गर्ने प्रचलन छ । कोरोना नियन्त्रणका लागि अपनाउनु पर्ने भौतिक दूरी र सामूहिक ढंगले हुने यस्ता गतिविधिबीचको तालमेल कसरी मिलाउनु भएको छ ?
– सिफ्टमा भौतिक दूरी कायम गरेर खाना खाने नियम बसाएका छौं । खाना खान प्रयोग भएका टेबललगायतबाट संक्रमण हुने जोखिम उत्तिकै हुन्छ । त्यसैले यसप्रति सचेत हुँदै निःसंक्रमणमा गर्ने गरेका छौं । भान्छे पनि छुट्टै बस्नुहुन्छ । सुत्ने बेला पनि दूरी मेन्टेन गर्न भनेका छौं ।
रह्यो कुरा तालिमको । नेपाली सेनामा तीन किसिमका तालिम हुन्छन्– सुड, कुड र मस्ट । अर्थात् गर्न सक्ने, गरे हुने र गर्नै पर्ने । यीमध्ये हामीले अहिले गर्नै पर्ने तालिम मात्र सञ्चालन गरेका छौं । बाँकी दुई किसिमका तालिम अहिले सञ्चालन गरेका छैनौं ।
० संक्रमण उकालो लाग्ने क्रम यथावत् छ । सेनाले केही रणनीति पनि बनाएको छ कि ?
– सबैभन्दा पहिले त हामीले कोरोना हुनै नदिन उपायहरू अवलम्बन गरेका छौं । सबै ब्यारेक र कार्यालयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेका छौं ।
स्वास्थ्य मापदण्डको पालना गर्दागर्दै पनि संक्रमण रोकिएको छैन । त्यसैले सम्भावित जोखिमलाई क मगर्न हामीले दुईवटा समूह गठन गरेका छौं । पहिलो– कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र अर्को संक्रमण फैलिनुको कारणबारे अनुसन्धान गर्ने ।
० सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना महामारी नियन्त्रणमा कस्तो भूमिका खेलिखरहेको छ त ?
– कन्ट्रयाक्ट ट्रेसिङको काम अहिले सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वयम्भूले गरिरहेको छ । हुन त यो काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ । यद्यपि, यसलाई सहयोग पुग्ने गरी सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठानले चौबीसै घण्टा काम गरिरहेको छ ।
संक्रमणबारे विश्लेषण गर्ने टिम पनि चुस्त अवस्थामा छ । यसले कुनै पनि व्यक्तिमा संक्रमण भेटिएपछि त्यसको कारण पत्ता लगाउने काम गर्छ ।
नेपाल सरकारले दिएको दायित्व पूरा गर्ने हो हामीले । सीसीएमसीमा केही साथी सदस्य भएर विभिन्न काम गरिरहनु भएको छ । कोरोना परीक्षणको दायरा बढाउन सेनाले धेरै योगदान गर्यो । दुर्गम जिल्ला बाजुरा, डोटी, अछामसम्म पुगेर स्वाब संकलनमा सघायौं ।



