• मंगलबार-बैशाख-४-२०८१

मिलन बने केयूकेएल सीईओ, मन्त्री बीना हिस्स 

 

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मिलनकुमार शाक्यले बाजी मारेका छन् । सर्ट लिस्टिङमा परेका अन्य ४ प्रतिस्पर्धीलाई पाखा लगाउँदै शाक्य सीईओ बन्न सफल भएका हुन् । 



प्रमुख कार्यकारी अधिकृत छनोट सिफारिस समितिको सिफारिसका आधारमा बुधबार बसेको केयूकेएल सञ्चालक समितिको बैठकले शाक्यलाई सीईओ बनाउन सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले उनलाई सीईओ नियुक्त गरेकी हुन् ।


 
यसअघि पनि केयूकेएलको सीईओ शाक्य नै थिए । महेश भट्टराईको कार्यकाल सकिएपछि उक्त जिम्मेवारी पाएका शाक्य खुला प्रतिस्पर्धाबाट पुनः सोही जिम्मेवारी लिन सफल भएका छन् । शाक्यको कार्यकाल आगामी ४ वर्षसम्म रहनेछ । उनी केयूकेएलका अनुभवीका साथै स्वच्छ छविका मानिन्छन् ।


 
केयूकेएलले गत चैत २८ गते पहिलो पटक खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न विज्ञापन आह्वान गरेको थियो । सिफारिस समितिले आवेदकमध्येबाट ५ जनाको नाम सर्ट लिस्टिङ गरेको थियो । जसमा शाक्यसँगै ई. अर्जुनबाबु ढकाल, डा. डोलप्रसाद चापागाईं, भूपेन्द्रप्रसाद अर्याल र ई विद्यानाथ भट्टराई समेटिएका थिए । 



सर्ट लिस्टिङपछि सीईओका केही आकांक्षीहरू आफ्नो पल्लाभारी पार्न राजनीतिक लबिङमा लागेका थिए । खासगरी सर्ट लिस्टको पहिलो नम्बरमा परेका गोरखाका अर्जुनबाबु ढकालले सीईओ बन्न ठूलै मिहिनत गरेको चर्चा चलेको थियो । शेरबहादुर देउवाको आशीर्वादमा खानेपानी संस्थानको महाप्रबन्धक बनिसकेका र असक्षमको टीका लगाएर बाहिरिएका धुर्त ढकालले विभागीय मन्त्री बीनाका भाइमार्फत मन्त्रीसँग सम्बन्ध विस्तार गर्न सफल भएको चर्चा चलेको थियो । 

 

त्यसकै प्रभाव हो या के हो बीनाले वामपन्थी विचारधारा राख्ने अनुभवी र इमान्दार शाक्यलाई पन्छाउँदै खाँटी कांग्रेसी अर्जुनको पक्ष लिएकी थिइन् । माओवादी पृष्ठभूमिबाट उदाएकी बीनाले दागी र राजनीतिक आस्थासमेत नमिल्ने ढकालको पक्ष लिएपछि उनको नियतमाथि नै प्रश्न उठाउन थालिएको थियो । 

 

 यद्यपि, उनको कुनै जोर चलेन । जानकारहरू प्रधानमन्त्रीको हस्तक्षेप, छनोट समितिको सिफारिस र केयूकेएलभित्रको चाहनाका कारण बीनाको सपना तुहिएको बताउँछन् । केयूकेएलका एक कर्मचारीले गलत व्यक्तिको हातमा जान लागेको नेतृत्व अन्ततः सही र योग्य व्यक्तिको हातमा पुगेको टिप्पणी गरे । 

प्रतिकृया दिनुहोस