• शुक्रबार-बैशाख-१४-२०८१

पत्रकार रुवाउने साहुजीलाई २ दिने अल्टिमेटम 

काठमाडौं । महामारीका बेला पत्रकार निकालेर धरधरी रुवाउने कारोबार दैनिकले त्यसलाई करेक्सन गर्न गरिएको आग्रह इन्कार गरेको छ ।  पुनर्वाहलीको माग सुनुवाइ नभएपछि त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीले व्यवस्थापनलाई २ दिने अल्टिमेटम दिएका छन् ।
  
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको पक्षमा गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कारोबार शाखाका सचिव विजय देवकोटाले विज्ञप्ति निकालेपछि व्यवस्थापनले उनलाई स्पष्टीकरण सोध्दै सेवाबाट बर्खास्त गरेको थियो । व्यवस्थापनको बद्नियतपूर्ण निर्णयपछि त्यहाँ क्रियाशील पत्रकार तथा कर्मचारी संघले आपत्ति जनाउँदै ०७७ साउन २० गते ५ दिनको समयसीमा दिएका थिए । 

 

अन्य पत्रकार तथा कर्मचारीलाई पनि धम्कीको भाषा प्रयोग गरिएको भन्दै पेसागत सुरक्षाको प्रत्याभूति गराउन पनि उनीहरूले माग गर्दै आएका छन् । ३ वर्षअघि भएको सम्झौता र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई पनि उनीहरूले प्याकेजमै उठाउँदै आएका छन् ।

 

यसअघि कारोबार व्यवस्थापनले श्रमजीवी पत्रकार ऐन कार्यान्व्यन गर्ने प्रतिवद्धता जनाइसकेकाले गत साउन २० गते मात्रै पनि त्यहाँ क्रियाशील पत्रकार तथा कर्मचारीले कारोबारका प्रबन्ध निर्देशक शिशिर भट्टलाई भेटेर नयाँ त्रुटि सच्याउन र पुराना सम्झौता कार्यान्वयन गर्न स्मरण गराएका थिए । 

 

तर पत्रकार तथा कर्मचारीले दिएको ५ दिने अल्टिमेटम कारोबार व्यवस्थापनले लत्याएको छ । व्यवस्थापनले माग सुनुवाइ नगरेपछि कारोबारका पत्रकार तथा कर्मचारीले २ दिनको अल्टिमेटम दिएका छन् । यसपछि पनि माग पूरा नभएका आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । 

 

‘तोकिएको समय सीमाभित्र व्यवस्थापनले हाम्रो आग्रहप्रति सकारात्मक पहल नलिएकोले कोभिड–१९ महामारीको आडमा आफूलाई सही साबित गर्ने घृणित प्रयास गर्न खोजेको प्रष्ट हुन्छ,’ त्यहाँ क्रियाशील कारोबार पत्रकार तथा कर्मचारी संघद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ यी सन्दर्भहरुलाई मध्यनजर गर्दै संघले नेपाल पत्रकार महासंघ कारोबार शाखाका सदस्य तथा कर्मचारीहरु समेतलाई शाखाका सचिव तथा सहकर्मी देवकोटाको निष्कासन फिर्ता लिने मागसमेतका लागि आन्दोलनका विभिन्न विधि र रूपहरुको प्रयोग गरी आन्दोलनमा सहभागी हुन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 



त्यस्तै, सम्पादकीय विभागको जुम बैठक बहिस्कार गर्न पनि उनीहरूले आग्रह गरेका छन् । आफ्ना जायज माग पूरा नभएपछि त्यहाँ क्रियाशील पत्रकारले सम्पादकीय विभागको बैठक बहिस्कार गर्दै आएका थिए । बन्दाबन्दीपछि त्यसलाई जुम बैठकको नाम दिएर ब्युँताउन खोजेको पत्रकारहरूको आरोप छ । 
 

प्रतिकृया दिनुहोस