• बिहीबार-बैशाख-१३-२०८१

मिटरब्याजी र म्यानपावर डनको सम्पत्ति खोजिंदै : अकुत सम्पत्ति कमाउने पुराना डन पनि निगरानीमा

 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिटरब्याजी, म्यानपावर संचालक र गुण्डानाइकेहरूको अकूत सम्पत्तिको बारेमा अनुसन्धान गरिरहेका छन् । सीआइबी र विभागले संयुक्तरुपमा मिटरब्याजमा पैसा लगानी गरी केही बर्षमै करोडपति भएकाहरूको सम्पत्ति छानबिन गर्दैछन् । मिटर ब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रक्रिया हो । यस प्रक्रिया अन्तर्गत कर्जा लिनेले कर्जा दिनेलाई लाख रुपैयाँको पन्ध्र दिनको ७ देखि १० हजार रुपैयाँ ब्याज बुझाउने प्रचलन देखिन्छ । यसो हुँदा लाख रुपैयाँको मासिक ब्याज १४ देखि २० हजार हुन आउँछ ।  जब कि धितो राखेर मासिक अधिकतम २ देखि ३ हजार रुपैयाँमात्रै ब्याज पाइन्छ ।


समाजमा डर, धम्की र त्रास फैलाएर सम्पत्ति आर्जन गर्ने गुण्डानाइकेहरूको लगानीका क्षेत्रमा प्रहरीले अनुसन्धान तीव्र पारेको खबर छ । सीआइबीले ठेक्कापट्टा लिने वा दिलाउने, बालुवाखानीदेखि, अपहरण, हत्या र फिरौतीसम्मका काममा लागेर अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेका गुण्डानाइके र गुण्डाका सम्पत्ति स्रोत र लगानीका क्षेत्रमाथि अनुसन्धान अघि बढाएको हो ।


 ४० लाख रुपैयाँ ब्याजमा दिएको १ बर्षमा २ करोडको घर हडप्ने वीरेन्द्रलाल श्रेष्ठ, कविन शाक्य, अरुण सेढाई, बलराम सापकोटा ‘बले’ राजन भुजेलजस्ता मिटरब्याजका नाइकेहरूको अकूत सम्पत्ति र लगानीका बारेमा पनि सीआइबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवरण संकलन गरिरहेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा बलराम सापकोटाहरूको जग्गा जग्गाजमिनका बारेमा विवरण माग गरी पत्र पठाएको जानकारी हुन आएको छ ।  


त्यसैगरी केही म्यानपावरका बारेमा पनि सीआइबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेका छन् । त्यसमा द रिभर लगायतका म्यानपावर छन् । म्यानपावरको बोर्डमा हुन्डी कारोबार गर्नेहरू पनि छानबिनमा पर्दैछन् । 


गुण्डा नाइके भनेर चिनिएका र त्यस्ता कार्यमा संलग्न भएका व्यक्ति पहिचान गरी उनीहरूको सम्पत्ति आर्जनको स्रोत र व्यावसायिक कारोबारबारे छानबिन अघि बढेको सिआइबीका प्रमुख सहकुल थापाले प्रतिक्रिया दिए । उनले भने–‘मिटरब्याजी र केही म्यानपावरहरूको बारेमा छानबिन भइरहेको छ ।’ जटिल खालका केसमा सिआइबीले खोजबिन सुरु गरेको र कम जटिल खालका केसमा नेपाल प्रहरीको अन्य निकायले छानबिन गरिरहेको हो । 


प्रहरीका अनुसार छिटो आम्दानी हुने ठाउँहरूमा उनीहरूको पहुँच बढ्दै गएको छ । होटलमा लगानी गर्दा त्यहाँबाट अन्य गलत काम गर्न सहज हुने भएकाले पनि उनीहरूको आकर्षण त्यता बढेको हुनसक्ने प्रहरी अनुमान छ । अधिकांश गुण्डा नाइकेको लगानी होटल, क्यासिनो र छिटो नाफा हुने व्यापारमा रहेको निष्कर्षमा छानबिन टोली पुगेको छ । 


 मिटरब्याजको कारोबारबाट 
अरबपति, पाँचतारे होटलमा लगानी

६० को दशकमा क्यासिनोमा मिटरब्याजमा लगानी गरी नवधनाढ्य भएका बलराम सापकोटा ‘बले’, वीरेन्द्रलाल श्रेष्ठ, राजन भुजेल, कविन शाक्य, अरुण सेढाईहरू अहिले पनि यो कारोबारमा सक्रिय नै छन् । लकाडाउनका कारण उनीहरूको मिटरब्याजको धन्दामा सुस्तता आएको छ । मिटरब्याजमा लगानी गर्ने महेशबहादुर सिंह अग्रपंक्तिमा आउँथे । सिंहले मिटरब्याजमा पैसा दिने र पेस्तोलमा कन्चट तेस्र्याएर चेक काट्न लगाउँदै बाउन्स चेकमा थुनेर धेरैको घरबास नै हडपेका थिए ।

 

लाख ऋण दिएर करोडको सम्पत्ति हडप्ने गरेका उनी प्रहरी प्रशासनको पहुँच देखाएर मिटरब्याजको धन्दा गर्ने गर्दथे । तर अति भएपछि उनका विरुद्ध प्रहरीमा उजुरी प¥यो । उनी पक्राउ परे । सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलायो । पक्राउ परिसकेपछि उनी डिप्रेसनमा गए र मिटरब्याजको कारोबारबाट अलग भएका थिए । 


 पछिल्लो समयमा कविन शाक्य, कलराम सापकोटा बले, अरुण सेढाई र वीरेन्द्रलाल श्रेष्ठ मिटरब्याजको धन्दामा सक्रिय रहेका छन् । बलराम सापकोटा बलेले झापामा पाँचतारे होटल मेची क्राउन संचालन गरेका छन् । उनले त्यो होटलमा क्यासिनो पनि संचालन गर्न अनुमति लिने क्रममा कोरोना भाइरस संक्रमण फैलिएर लकडाउन घोषणा भएको छ । सापकोटा र नेपाली कांग्रेसका पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काको संयुक्त लगानीमा काठमाडौंको बुढानीलकन्ठमा पनि पाँचतारे होटल खुलिरहेको छ । 


 एयर डाइनेष्टीका संचालक तथा बलराम सापकोटासँगै २०७६ कात्तिक १० मा भीआइपी जुवाखालबाट पक्राउ परेका पवित्रकुमार कार्कीले पनि मेची क्राउन होटलमा लगानी गरेका छन् । 
सामान्य रेष्टुरेन्ट मजदुर सापकोटा क्यासिनोमा मिटरब्याजमा लगानी गर्दागर्दै अरबौंपति बने । र, झापा र काठमाडौंमा पाँचतारे होटल संचालन गर्ने तहमा पुगिसकेका छन् । उनी प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग समेत बाक्लो उठबस रहेको भन्न पछि नपर्ने सापकोटा ६० को दशकमा क्यासिनोमा मिटरब्याजबाट अकूत कमाउन सफल भएका हुन् ।

 
 क्यासिनोमा हारेर निस्किएका नेपालीलाई गाडी वा घरजग्गा धितो राखी १ लाखको दिनको १ हजारका दरले ब्याजमा लगानी गर्ने गर्दथे । उनीहरूले १० लाख रुपैयाँ दिएर करोडको गाडी वा घर हडप्ने गरेका थिए । उच्चपदस्थ प्रहरीको भ्रष्टाचारको पैसासमेत लगानी गर्ने बलराम सापकोटा, वीरेन्द्रलाल श्रेष्ठ, कविन शाक्यहरूले क्यासिनोमा जाने नेपालीलाई नै दोहन गरी अथाह सम्पत्ति आर्जन गर्न सफल भएको स्रोतको दावी छ । पूर्वएआइजी किरण गौतम, कल्याण तिम्सिना, हेमन्त पालहरूको रकम पनि उनले मिटरब्याजमा लगानी गर्ने गरेको स्रोत बताउँछ । प्रहरी अधिकृतको रकम मिटरब्याजमा लगानी गर्ने र नदिए तिनै प्रहरी अधिकृतमार्फत् तर्साएर असुुल्ने उनीहरूले गर्दैआएको जानकारी हुन आएको छ ।   


त्यस्तै मिटरब्याजको धन्दाबाट करोडौंपति हुनेहरूमा राजन भुजेल पनि हुन् । उनी कालिमाटी क्षेत्रमा गुण्डागर्दी गर्ने गर्दछन् । भुजेल निर्माण ब्यवसायी शरद गौचनको हत्यामा जेल संजाय भुक्तान गरिरहेका गुण्डानाइके समीरमान बस्नेतको समूहमा काम गर्ने गरेको प्रहरी स्रोत बताउछ । समीरमान पक्राउपछि पनि उनी गुण्डागर्दी र मिटरब्याजको कारोबारमा संलग्न रहँदै आएको बताइन्छ । उनले पनि केही भ्रष्ट प्रहरी अधिकृतको पैसा लिएर मिटरब्याजमा लगाउने गरेका छन् । भुजेल २०७६ असारमा पक्राउ परी छुटेका थिए । 


स्रोतका अनुसार, कविन शाक्य पनि मिटरब्याजको धन्दाबाटै रातारात अरबपति हुनेमा पर्दछन् । शाक्यले २०७५ चैतमा तीन भारतीय नागरिक लाक्पा शेर्पा, सुमन भण्डारी र युवराज गुरुङलाई क्यासिनो बेलिज, रोयल र सांग्रिलामा मेसिन जडान गरी पठाएर १० मिनेटमा १ करोड रुपैयाँ जितेर भागेका थिए । ती भारतीयले राखेको मेसिनले जोकर बाहिर निकाल्ने र नचाहिने तास भित्र पठाउने गरेर उक्त रकम जितेको आरोप प्रहरीले लगाएको थियो । ५४ लाखको चेक र ४४ लाख २१ हजार नगदसहित क्यासिनोबाट जुवा जितेका ती भारतीयलाई कविन शाक्यले आफ्नै गाडीमा आफैले चलाएर ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा लगेका थिए । होटलमा खाइपिई गरेपछि विवाद र होहल्ला भएपछि प्रहरीलाई खबर गरी उनीहरू पक्राउ परेका थिए । 


 प्रहरीले शाक्यको गाडीबाट ५४ लाखको चेक र ४४ लाख २१ हजार बरामद गरेको थियो । तर, शाक्यले प्रहरी सेटिङ गरी मुचुल्का फेरेर होटलबाट बरामद गरेको भनी उन्मुक्ति पाएका थिए । उनले ठूलै रकम प्रहरीलाई दिएर होटलबाट बरामद भएको भनी मुचुल्का फेराउन सफल भएको स्रोत बताउछ । यदि गाडीबाट रकम बरामद भएको मुचुल्का भएको भए लुटपाटको रकम सहित उनको गाडी जफत हुने थियो । प्रहरी स्रोतका अनुसार, उनलाई नायिका सुष्मा कार्कीले छुटाएर लगेकी थिइन् । 


प्रहरी स्रोतका अनुसार, अरुण सेढाई गाडी चोरी तथा मिटरब्याजी गिरोहका नाइके हुन् । उनी गाडी चोरी गरी कीर्ते ब्लुबुक समेत बनाएको अभियोगमा अदालतबाट संजाय भोगिसकेका हुन् । २०६३ कात्तिक २० मा उनलाई कीर्ते ब्लुबुक बनाएर चोरीको गाडी बिक्री गर्ने गरेको आरोपमा कसुरदार ठहर गरेको थियो । पछि तत्कालीन पुनरावेदन अदालत पाटनले पनि जिल्लाकै फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले पनि भन्सार नतिरी ल्याएको गाडीको नक्कली कागजात तयार गरेको अभियोगमा सेढाईलाई दोषी ठहर गरेको थियो । मिटरब्याजी अरुण सेढाई सिक्किमको नक्कली परिचयपत्र बनाउँदै क्यासिनोमा नेपाली प्रवेश गराउने र उनीहरू जुवा हारेपछि मिटरब्याजमा लगानी गर्दैआएका थिए ।


नेपालीलाई क्यासिनो प्रवेशमा कडाइ गरेपछि उनले नक्कली परिचयपत्र बनाउँदै छिराउने गरेका थिए । उनी सुरुमा विनाअनुमति बालुवाको कारोबारबाट कुस्त धन आर्जन गरेपछि यातायातमा कीर्ते ब्लूबुक बनाउँदै चोरीका गाडी बिक्रीको कारोबारमा लागेपछि कारवाहीमा परेका थिए । जेलबाट छुटेपछि उनी मिटरब्याजमा लगानी गर्दैआएको स्रोत बताउछ । 


पुराना फाइल खोतल्दै सीआइबी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सीआइबीले गुण्डानाइकेहरूको पुरानो फाइल पनि खोतलेर अनुसन्धान गर्ने भएका छन् । विभाग र सीआइबीले ५ जना गुण्डानाइकेविरुद्ध अवैधानिक क्रियाकलापबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको भन्दै २०७० जेठ ५ मा विशेष अदालतमा करोडौं रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । तर मुद्दा दर्ता भएको ४ वर्षपछि सबैलाई सफाइ दिइयो ।

 

विशेष अदातलले मनाङबाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे), चक्रे मिलन, पर्शुराम बस्नेत, अभिषेक गिरीका विरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरू सबैले सफाइ पाए र  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा मनाङ्गेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको देखिएको दाबी गरिएको थियो । एकैदिन मुद्दा खेपेका अन्य चार जना गुण्डा नाइकेको अन्तिम सुनुवाइ चलिरहेको समयमा मनाङेले पहिलो सफाइ पाए । मनाङ्गेले २०७४ भदौ ५ मा सफाइ पाएका थिए । 


मनाङेपछि चक्रे मिलनले सफाइ पाएका थिए । चक्रेले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी विभागको  थियो । 
चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको उल्लेख गरी मुद्दा दायर गरिएको थियो । उनलाई पनि विशेषले २०७४ माघमा सफाइ दिएको थियो ।


त्यस्तै अकुत सम्पत्ति कमाएको आरोपमा पर्शुराम बस्नेतका बिरुद्ध दायर मुद्दामा उनले पनि सफाइ पाएका थिए । बस्नेतसँग विभागले ११ करोड बराबरको सम्पत्ति रहेको दाबी गरेको थियो । विशेषले बस्नेतलाई २०७४ चैत २५ गते सफाई दिने फैसला गरेको थियो ।  


अभिषेक गिरीले २०७५ असारमा सफाइ पाएका थिए । गिरीको नाममा २ करोड ९४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरिएको सम्पत्ति रहेको विभागले दाबी गरेको थियो । विभागले मुद्दा दायर गरेका ५ जनामध्ये गणेश लामामात्र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । २०७५ साउनमा विशेष अदालतले उनलाई १ वर्ष कैद र १ करोड ४० लाख ५० हजार बराबरको  विगो बापतको सम्पत्ति जफत हुने आदेश दिएको थियो । 


उनले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै सम्पत्ति विभागले मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस