• शनिबार-बैशाख-८-२०८१

मन्त्री भट्टराई फेरि विवादमा : नेपाल एयरलाइन्सको बोर्डमा बतासका कर्मचारी !

 


काठमाडौं । गलत सल्लाह र सिफारिसले राजनीतिक नियुक्तिमा गर्दा विवादमा पर्दै आएका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराई फेरि विवादमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयले नेपाल एयरलाइन्सको सञ्चालक समितिको रिक्त सदस्यमा प्रकाश पौडेल र फुर्बा ग्याल्जेन शेर्पालाई नियुक्त गरेको छ । २०७७  असार १४ मा नियुक्त पौडेल नेपाली कांग्रेसनिकट पोखराका ब्यापारी आनन्दराज बतासको गाडी बिक्रेता कम्पनी इस्टर्न मोटर्स प्रालिका सीईओ हुन् ।

 

भारतीय अटोमोबाइल कम्पनी आइसरको नेपालस्थित अधिकृत बिक्रेता हो इस्टर्न मोटर्स प्रालि । बतास नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजुका समेत विश्वासपात्र हुन् । तिनै बतासको कम्पनीमा कार्यरत पौडेललाई पर्यटन मन्त्रालयले निगमको बोर्ड सदस्यमा नियुक्त गरेको छ । पौडेल निगमको कार्यकारी अध्यक्ष नै हुने दाउमा थिए । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । 

 


निगमको बोर्डसदस्यमा नियुक्त भएका पौडेलको कनेक्सनबाट बतासले गतबर्ष  भारतले बनाइदिएको धर्मशाला होटल संचालनका लागि लिजमा लिएका छन् । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले बतासलाई ठेक्कामा दिएपछि यो बाँदरको हातमा नरिवल भएको छ  ।

 

पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको छ ।  जुन ठेक्कामा लिने क्रममा ठूलै आर्थिक चलखेल भएको र त्यसको चाँजोपाँजो सबै प्रकाश पौडेलले नै मिलाएको स्रोतको दाबी छ । पशुपति क्षेत्र तीलगंगामा रहेको सो धर्मशाला अब तीनतारे होटेलका रूपमा सञ्चालन हुँदैछ  । 


  होटेलका लागि भारतले धर्मशाला बनाइदिएको थिएन । तर पर्यटन मन्त्रालयका उच्च अधिकारी र कोषका सदस्यसचिव प्रदीप ढकालसहितको समूहले सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर बनाइदिएको धर्मशाला पनि ठेक्कामा दिएर दुरुपयोग गर्दै ब्यक्तिगत लाभ लिएको आरोप छ । ब्यापारी बताससँग घुस लिएर धर्मशाला समेत होटल संचालनार्थ ठेक्कामा दिइएकोमा चर्को बिरोध हुँदैआएको छ । 


निगममा नियुक्त भएका फुर्बा ग्याल्जेन शेर्पा अल्टिच्युट एयरका अध्यक्ष हुन् । उनलाई यति समूहले बोर्डसदस्य बनाएको भन्ने गरिन्छ । अल्टिच्यूट एयरका संचालक सीताराम सापकोटालाई यति समूहकै योजनामा नेपाल ट्रष्टको संचालक समितिमा राखी सरकारले धेरै जग्गाहरु कौडीको मूल्यमा लिजमा दिएको आरोप छ । 


यसैगरी, २०७७ असार १७ मै पर्यटन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्यमा प्रशासनिक क्षेत्रमा निकै अनुभवी र स्वतन्त्र व्यक्तित्व देवी बराललाई नियुक्ति गरेको थियो । धार्मिक, सांस्कृतिक ज्ञाता र निष्ठावान बरालको नियुक्तिपछि  हिन्दूहरुको पावन भूमि पशुपतिनाथ क्षेत्रमा व्यापक सुधार हुने अपेक्षा गरिएको थियो । तर, उनको नियुक्तिपत्र च्यातेर ३ दिनपछि पुनः अर्कै एक युवतीलाई नियुक्ति दिने तयारीमा पर्यटन मन्त्रालय रहेको समाचार छ ।

 

बरालले यसअघि नेपाल आयल निगमको बोर्डसदस्यका रुपमा काम निगमको वेथितिमा व्यापक सुधार गर्न सफल भएका व्यक्ति हुन् । उनी निगमकै बोर्ड सदस्य हुनका लागि लागेका थिए । तर, कोषमा नियुक्ति गरी पुनः उनको नियुक्ति रद्द गर्न दवाव परेको छ । सरकारले गरेको नियुक्ति दुई दिनभित्रै बदर गरिएमा उनी अदालत जाने तयारीमा रहेको थाहा भएको छ ।  
 

प्रतिकृया दिनुहोस