काठमाडौं, २४ जेठ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लगाएको लकडाउनको ७५ दिन भइसकेको छ । जनजीवन अस्तव्यस्त भएको छ । दैनिकी गुजारा गरेर खानुपर्नेहरुलाई अहिले खानकै समस्या भएको छ ।
दैनिक गाडी चलाएर त्यही भत्ताले जिविका गुजार्ने ड्राइभर (सडक पाइलट) रञ्जित अर्थात् रामकुमार खड्कालाई अहिले खानकै समस्या भएको छ । इलामका ५१ वर्षे बा ४ ख ७०५७ नम्बरको गाडीका चालक रञ्जित परिवारमा एक्ला हैनन् । परिवार धान्नु पर्छ ।
त्यतिमात्र हैन उनका छोरा पनि यही लाइनमा छन् । गाडीका कन्डक्टर छन् । बस चलाउन नपाएपछि सबै बर्बाद भएको उनको भनाई छ ।
उनी काठमाडौंको काँडाघारीमा बस्छन् । उनलाई अहिले खानाको समस्या भएको छ । काम नभएपछि आम्दानी नभएपछि उनको दैनिकी खायो बस्यो मात्र भएको छ ।
उनलाई अब के खाने भन्ने टेन्सन छ ।
उनले भने, ‘लकडाउन भएको शुरुमै गाडी समितिले राहत दिएको थियो । त्यतिबेला भर्खर गाडी चलाउन छोडेकाले आफूसंग पनि अलिकति रहेको थियो । अहिले सबै सकियो । अरु कसैले केही पनि दिएन ।’
स्थानीय सरकारले राहत बाँडेको थियो नि हैन र ? भन्ने प्रश्नमा उनले भने, ‘कसैले पनि केही दिएन । खोइ कहाँ आयो र सरकार हाम्रा लागि ।’
उनी आफ्नो गाउँ जान पनि सकेनन् । भन्छन्, ‘अब गाउँ गएर के नै हुन्छ र । अहिलेको अहिले लगाएर केही खान पाइने होइन । धेरै जग्गा जमीन पनि छैन के गर्ने खोइ ?’
गाडी कहिलेसम्म चलाउन पाइएला ? भन्ने प्रश्नमा उनले भने, ‘मेरो २६ सिटको गाडी छ । त्यसमा दूरी बनाउँदा १३ जना भन्दा बढी राख्न पाइँदैन । त्यसमाथि कार्ड देखाएर छुट लिन खोजे मैले के खाने ?’
उनले लकडाउन खुले पनि तत्काल कसैले गाडी चलाउन नसक्ने बताए । त्यतिमात्रै हैन उनले भने, ‘कसैले पनि गाडी चलाउला जस्तो लाग्दैन । लकडाउन खुले पनि गाडीलाइन कमजोर छ । गाउँबाट आउन नपाएपछि त यहाँका मान्छे गाडी चढ्लान् भन्ने लाग्दैन । पहिलेजस्तो हुँदैन ।’
उनले आफ्नै दैनिकी बर्बाद भएको भन्दै सुनाउँछन्, ‘खुट्टा पनि कमजोर छ । ज्यामी गरौं भने पनि ठेकदारले ड्राइभर हो के काम गर्ला र भनेर विश्वास गर्दैन ।’
उनले खानका लागि केही पनि नभएको भन्दै सुनाए – काठमाडौंमा तरकारी किन्न सकिन्छ बाँकी सबै विजोग । काठमाडौंबाट धेरैको संख्यामा गाउँमा गएकाले अहिले तरकारी सस्तिएको छ । तर बाँकी भने निकै महंगो भएको छ ।
समस्या लाइसेन्स रिन्युको
चैत ११ देखि गाडी चलेकै छैनन् । त्यसयता कति जना ड्राइभरका लाइसेन्सको रिन्यु सकियो पत्तो छैन ।
त्यस्तै भएको छ रञ्जितलाई पनि । उनको रिन्यु गर्ने समय बैशाख २५ गते सकियो ।
माघमा उनकी आमाको बर्खी थियो । इलाम गए । आए । त्यसमै समय गयो । पुराण लगाएकाले फेरि घरमा गए । यसो गर्दा रिन्यु गर्न पाएनन् ।
बैशाखको २५ गतेसम्म गर्न सक्थे । चैत ११ देखि त लकडाउन नै भयो । अब के हुन्छ पत्तो छैन ।
उनी लाइसेन्स रिन्युमा पनि चिन्तित छन् । भन्छन्, ‘लकडाउन खुलेपछि पनि के हुन्छ भन्ने नै पत्तो छैन । मजस्ता कयौं गुरुजी होलान् जसको लाइसेन्सको रिन्यु सकिएको छ । सरकारले नयाँ नियम लगाउँछ कि भन्ने आशा छ ।’
रञ्जितसंग सडक पाइलटसंगको अन्तरङ्गमा लिइएको अन्तर्वार्ता–
सडक पाइलटसंग अन्तरङ्ग
ट्राफिकलाई भन्दा बढी सम्मान यात्रुलाई दिनुपर्छ
रामकुमार खड्का (रञ्जित)
(जीवन काँडा कि फूल ? जे सम्झियो त्यही । काँडा सम्झिए काँडैकाँडा । फूल सम्झिए फूलैफूल । यो सोच हो केवल । जीवनमा दुःख सुख त भैहाल्छ । सडक पाइलट रामकुमार खड्का (रञ्जित) का लागि जीवन यस्तै नै हो । इलामका ५१ वर्षका बा ४ ख ७०५७ नम्बरको गाडीका चालक रञ्जित (उनलाई धेरैले रञ्जित भनेरै चिन्छन् । नागरिकता र लाइसेन्समा मात्रै हो रामकुमार खड्का) ले गाडीलाइन सम्हालेको धेरै भयो । आरोह अवरोह उनले पनि खेपे । भलै आफ्नो जीवनदेखि उनी सन्तुष्ट छैनन् तर निराश पनि छैनन् । कस्तो छ त यिनको जीवन । यसरी खेलेका छन् साँघु प्रतिनिधिसंग सडक पाइलटसंगको अन्तरङ्गमा – सम्पादक)
० कति वर्ष भयो यो लाइनमा लाग्नुभएको ?
२०४३ सालदेखि लागिरहेको छु । ५१ वर्षको भएँ । यस्तै छ । चलिरहेको छ ।
० ढोकामा बस्नु पर्यो कि परेन ?
ढोकामा बसियो नि । पहिले झापामा ३ वर्ष ढोकामा बसेर काम गरें । बसमै बसियो । ४६ सालमा काठमाडौं छिरें । चार वर्ष फेरि पनि ढोकामै बसेर काम गरियो ।
० चलाउन कहिले थाल्नुभयो ?
चलाउन त मैले ५० सालदेखि नै हो थालेको । ५५ सालमा मात्र बल्ल लाइसेन्स बनाइयो । त्यतिबेला गाडी पातला थिए । अनि चेकिङ भन्ने हुँदैनथ्यो । पाँच वर्ष जति त बिना लाइसेन्स चलाइयो । ५४÷५५ सालतिर नक्कली लाइसेन्सको बिगबिगी भयो । ट्राफिकले चेक गर्न थाल्यो । अनि अब लाइसेन्स नबनाइ हुन्न भनेर बनाएँ । त्यतिबेलासम्म न दुर्घटनामा परियो न चेकिङमा ।
० निकै लामो समय भएछ यो लाइनमा लागेको । के रैछ त ड्राइभरको जिन्दगी ?
जिन्दगी त त्यस्तै हो । जति कमाए पनि साहुलाई बुझाउनु पर्छ । हजार पन्ध्र सयले जिन्दगी कसरी चल्छ र ।
० गाडी आफै किने त हुन्थ्यो होला नि ?
आफ्नो गाडी बनाउन पनि पुरानो गाडी काम छैन । नयाँ किन्न पैसा हुने कुरो भएन ।
० दुर्घटना भएको छ कि छैन ?
दुर्घटना भएको छैन । सानो तिनो त भैहाल्छ ।
० कसरी हुन्छ दुर्घटना ?
दुर्घटना हिँडिरहेको मान्छे र बाइकले बढी गराउँछ । केयरलेस पनि हो । गाडीले टाढासम्म ग्याप हेर्नुपर्छ । कम्पिटिशन हुन्छ । तर जोगाएर हिँड्न सकिन्छ नि । मान्छेले हो जोगाउने । गाडी गएर आफै ठोक्किने हैन क्यारे ।
० ट्राफिक प्रहरी कस्तो छ ?
आफ्नो काम गरेन भने उसलाई गाह्रो हुन्छ । गाडी टाइट गरेन भने उसलाई गाडीको जाम खुलाउन समस्या हुन्छ । कोही भने सन्कि पनि हुन्छन् । कोही ट्राफिक त चिटको प्याड सकाउने खालका पनि हुन्छन् । सबै त्यस्ता हुँदैनन् ।
० सम्मान कत्तिको पाइएको छ नि ?
आफू गुना हो । मैले राम्रो गरे अरुले पनि राम्रो गर्छन् । आफूले नराम्रो गरे कसले गरोस् । यत्रो वर्ष भयो कुनै प्यासेन्जरले गाली गरेको पनि छैन र मैले पनि गर्नुपरेको छैन ।
० यात्रु कस्ता छन् नि ?
यात्रु त हाम्रा लक्ष्मी हुन् । त्यसैले यात्रुले जहाँ भन्यो त्यहीं रोकिन्छ । ट्राफिकलाई भन्दा बढी सम्मान यात्रुलाई दिनुपर्छ । प्यासेन्जर खुशी भए ड्राइभर खुशी ।
० गाडी लाइन कस्तो छ ?
छोरा कन्डक्टर छ । सानो परिवारका लागि गाडीलाइन ठीक छ । पैसा बच्दैन । ५–६ जनाको परिवार भने बचाउन सकिन्छ ।
० कस्ता मान्छे आउँछन् नि यो लाइनमा ?
यो लाइनमा कम पढेका, १२ भन्दा बढी पढेका आउन मान्दैनन् । कतिलाई त आफ्नो नामसमेत लेख्न आउँदैन । पहिले २–३ कक्षा पढ्ने अनि भागेर गाडी लाइनमा आउनेहरु थिए ।
० तपाईले कति पढ्नु भयो ?
मेरो पनि चार मात्र हो ।
० पैसा कमाउन विदेश जाने सोच आएन ?
जान खोजेको तर एउटा खुट्टा सानो भएकाले गइएन । पहिले बाआमाले उपचार गराउँदा खुट्टा काट्न पर्छ भनेर मानेनन् । अब यसले मलाई असर पारेको पनि छैन ।
० भोलिका दिनमा के गर्ने सोच छ ?
अरु के गर्ने सकुन्जेल गाडी नै चलाउने । पैसा भएको भए अरु केही गरौं भन्ने हुन्थ्यो । जे छ ठीकै छ ।
० टेन्सन हुन्छ काममा ?
कामै यही भएपछि त के टेन्सन लिनु । कहिले पाँच सय कहिले १५ सय कमाइ हुन्छ दैनिक । जति कमाए पनि यही काम । त्यतिबेला २५०० कमाइन्थ्यो मैनाको । अहिले ५० हजार कमाए पनि उही हो बचाउने ।
० सरकारी जागिर खान खोज्नु भएन ?
नगरपालिकामा दामोदर अधिकारी भिनाजु हुनुहुन्थ्यो । जागिर खा भन्नुहुन्थ्यो ५१ सालतिर । जम्मा १५०० खान मनै लागेन । अहिले साथीहरुले खाएर घर ठडाएको देख्दा पछुतो लाग्छ ।



2020-06-06-01-06-19.jpg)
