• बुधबार-बैशाख-१२-२०८१

तमु समाज युकेद्वारा सय परिवारलाई राहत

 


चिप्लेढुङ्गा, १४ जेठ (रासस)। तमु समाज बेलायतको आर्थिक सहयोगमा पोखरा–९ का करीब एक सय परिवारलाई राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेको उपस्थितिमा पोखरा प्रदर्शनी केन्द्रमा सामाजिक दूरी कायम गर्दै चामल, दाल र तेल राहतस्वरुप वितरण गरिएको तमु समाज युके आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “भौतिक शरीर जहाँ भए पनि भावानात्मक माया देशसँग जोडिएको छ । थोरैथोरै रकम सङ्कलन गरेर नेपालका विपन्न परिवारको हातमुख जोड्ने सेवामा जुटेका छौँ ।”  


उहाँका अनुसार ज्याला मजदूरी गर्ने पयर्टन मजदूर, सार्वजनिक सवारी साधनका चालक र  नेपालमै बसेर काम गरिरहेका भारतीय मजदूरको पहिचान गरी राहत वितरण गरिएको हो । 


     राहतका लागि तमु समाजबाट रु ५० हजार, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान उपाध्यक्ष विजु गुरुङलगायतको परिवारबाट रु ४० हजार र  आफ्ना व्यक्तिगततर्फबाट  रु १० हजार गरेर एक लाखको राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।  


सो अवसरमा वडाध्यक्ष लामिछानेले असहज अवस्थामा परोपकारी मनहरुको सहयोगले वडामा कसैको घरमा पनि आगो निभ्न नपाएको बताउनुभयो  । “महानगरले ६८८ परिवारका लागि रु १० लाख ८० हजार उपलब्ध गराएको थियो  ।

 

वडामा १९ सय ४५ जनाको निवेदन परेको थियो । यहाँ धेरै ज्याला मजदूरी गर्नेहरु हुनुहुन्छ, बन्दाबन्दीले उहाँहरुलाई प्रत्यक्ष असर पारेको छ । विभिन्न संघसंस्थाको सहयोगले राहतको माग गर्ने सबैलाई वितरण गर्न सफल भयौँ ”, लामिछानेले भन्नुभयो । उहाँका अनुसार अवस्था हेरेर अहिलेसम्म वडामा दुई हजार ६४९ परिवारलाई करीब रु ३५ लाखको राहत वितरण गरिसकिएको छ । 
---

प्रतिकृया दिनुहोस